सिडिएसको नाफा ८ करोड, २० % नगद लाभांश वितरण गर्ने

काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा आठ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले करयोग्य आय १२ करोड ५८ लाख ८५ हजारमा नियमानुसार लाग्ने कर तीन करोड १४ लाख ७१ हजार राजश्व भुक्तानी गरेको छ । लिमिटेडका अनुसार आव २०७४/७५ मा चार लाख २१ हजार ५२३ नयाँ हितग्राही खाता खोलिएको छ । सो सङ्ख्या गत आवमा चार लाख ८० हजार ८७६ रहेको थियो । आव २०७४/७५ मा एक अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता शेयर अभौतिकीकरण गरिएको छ । सो सङ्ख्या अघिल्लो आवमा एक अर्ब पाँच करोड ९४ लाख ६३ हजार २९९ रहेका छन् । समीक्षा अवधिसम्म अभौतिकीरकण भएको धितोपत्रको सङ्ख्या चार अर्ब दुई करोड ७२ लाख ८५ हजार ५७७ पुगेको छ । सि–आश्वा प्रणालीमा आवद्ध भएका ६४ वटा बैंक तथा वित्तीय संस्थामार्फत सिआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या सात लाख ६६ हजार ५४८ रहेको छ । सो सङ्ख्या समीक्षा अवधिसम्म सात लाख ७१ हजार ८८० रहेका थिए । यस्तै ‘मेरो शेयर’ प्रयोग गर्नेको सङ्ख्या तीन लाख ९८ हजार ३८८ पुगेको छ । सि–आश्वा प्रणाली लागू भएपछि नेपालको पूँजीबजारको इतिहासमा पहिलो पटक सार्वजनिक निष्काशन बन्द भएको ३७ घण्टाभित्र शेयर बाँडफाँट गर्न सफल भएको लिमिटेडले जनाएको छ । लिमिटेडको हालै वार्षिक साधारणसभा सम्पन्न भएको छ । रासस

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच मोबाइल वालेट सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि-पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे । समारोहमा टाइम्स रेटिका महाप्रबन्धक सुदनसिंह सिलवालको पनि उपस्थिति रहेको थियो । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवम् सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधापनि उपभोग गर्न पाउने छन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप,आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।

नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी तीन अर्ब नाघ्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पुस ३० गते अपरान्ह सम्पन्न इन्स्योरेन्स संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्ताव अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको सो मात्राको सेयर सेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । साथै, उक्त लाभांशमा लाग्ने आय करको लागि समेत व्यवस्था प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । साढे १३ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।