नेपाल बङ्गलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउन जनाएको छ ।
सनराइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ । सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
ज्योति र हाम्रोबीच एकिकृत कारोबार शुरु, सबैभन्दा ठूलो विकास बैंक बन्न सफल
काठमाडौं । राष्ट्रियस्तरकाे ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी ज्योति विकास बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको हो । उक्त एकिकृत कारोबारको शुभारम्भ शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरेका छन् । साथै, ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले अब थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अब अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको बताएका छन् । साथै, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउँदै लघुकर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उनले जानकारी दिए । एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि पुगेको ज्योति विकास बैंकले सो अवसरमा नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ । अब विकास बैंकको एटिएम संख्या २३, शाखा संख्या ९५ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको संस्थाले जानकारी दिएको छ ।