सिभिल बैंक र एनबीआई बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

काठमाडौँ । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि विहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्को बारेमा जानकारी गराई ग्राहकवर्ग माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि प्रेरित गर्नेछ । साथै बैंकले उक्तएप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समाआश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।

अजोड इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई आधारभूत तालिम

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडका बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ । गुल्मी शाखाको आयोजनामा तम्घासमा चैत्र १० र ११ गते सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताकोको सहभागिता रहेको थियो । तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । इन्स्योरेन्सका प्रवन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।

सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लि. बीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।