जेनजी प्रदर्शनमा भएको क्षतिमा सुदूरपश्चिममा १६ करोडको बीमा दाबी
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट सुदूरपश्चिम प्रदेशमा १६ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदारनाथ भट्टका अनुसार क्षतिको विवरण अझै पूर्ण रूपमा आइनसकेको हुँदा यो रकम अझै बढ्न सक्ने छ । प्रमुख भट्टले भने, ‘बीमा कम्पनीहरूसँगको छलफलको क्रममा हालसम्म १५ देखि १६ करोडको दाबी परिसकेको भन्ने कुरा छ, अझै धेरै दाबी पर्न बाँकी भएको हुँदा यो रकम अझै बढ्ने अनुमान छ ।’ प्रमुख भट्टका अनुसार बीमा प्राधिकरणको केन्द्रीय कार्यालयबाटै बीमा कम्पनीहरूबाट परेको दाबी रकम संकलन भइरहेको छ । प्राधिकरणले यसअघि नै असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएका थियो । प्राधिकरणले बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन दिइसकेको छ । त्यस्तै, प्राधिकरणले बीमा लेखमा उल्लेख भएको सर्तअनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्नसमेत आग्रह गरेको छ ।
दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा एक खर्ब ८० अर्ब १७ करोड चार लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा छ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ । यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको हो । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने वार्षिक लक्ष्य रहेकोमा ११ दशमलव ३५ प्रतिशतअर्थात् एक खर्ब ५० अर्ब ४० करोड १३ लाख रुपैयाँ कर असुली भएको छ । त्यस्तै, गैरकरतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा चार दशमलव ६२ प्रतिशतअर्थात् सात अर्ब १३ करोड २१ लाख रुपैयाँ उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशतअर्थात् एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ अनुदान उठेको छ ।
सन नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ । कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने छ । कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री हुने विश्वास व्यक्त गरेको छ ।