लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएकाे छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेकाे छ । परिसंघले आन्दोलनलाई 'सुशासनयुक्त नवनेपाल निर्माणको प्रस्थान विन्दु'का रूपमा व्याख्या गर्दै नवगठित सरकारसँग सहकार्य गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह थप्ने गरी लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ। सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रमा क्षति पुर्‍याउने तत्वहरूप्रति सचेत रहँदै बैंकिङ सेवाहरूलाई सहज सञ्चालन गर्न सबै पक्षसँग सहयोग मागेको विज्ञप्तिमा उल्लेख छ ।

सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।' केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ । आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्‍याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, 'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।' कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा

काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।