अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ ।  केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।  

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणको प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । कम्पनीका अनुसार सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहीबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीले गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले करिब २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ । आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी तथा अन्य आवश्यक विवरण प्रविष्ट गरेपछि नतिजा सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ। आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।