लघुवित्त संघको अध्यक्षमा वसन्तराज लम्साल, उपाध्यक्षमा भेषराज पन्थी

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित भएका हुन् । अध्यक्षका आकांक्षी समेत रहेका प्रकाशराज शर्माले अन्तिम समयमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । उनले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै अध्यक्षको मैदान छाडेको बताइएको छ । शर्माले छाडेपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । लम्सालसहित उपाध्यक्षमा भेषराज पन्थी समेत निर्विरोध निर्वाचित भएका छन्, उनी फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । महासचिवसहित अन्य ९ पदाधिकारीका लागि भने छलफल भइरहेको नवनिर्वाचित अध्यक्ष लम्सालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष लम्सालले लघुवित्त संघको नेतृत्वमा रहँदा आफूले लघुवित्त संघको पहिचान र यसको स्वायत्तता बढाउने र लघुवित्त संघको प्रभावकारिता वृद्धि गर्दै जाने कुरामा जोड दिने बताए । उनले लघुवित्त आफ्ना संस्थालाई थप सशक्त बनाउने र कुनै न कुनै रुपमा प्रदेशगत रुपमा उपस्थिति जनाउने प्रतिवद्धता व्यक्त गरे ।

सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीद्वारा सपथ ग्रहण, आइतबारबाटै सम्हाले पदभार

काठमाडौँ । सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले आइतबार सपथ ग्रहण गरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच असोज १० गते बसेको बैंकको संचालक समितिको ३१४ औं बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका भण्डारीलाई गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । बैंकको स्थापनाकालदेखि २०७५ पुससम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल पूरा गरेका भण्डारीले सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ बर्षको कार्यकालका लागि आइतबारबाटै पदभार ग्रहण गरेका हुन् ।

ठमेलमा महालक्ष्मी विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले सेवा विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. २९, डमेलमा शाखा कार्यालय उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ शुक्रबार उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक शेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।