९७ रुपैंया मूल्य भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६० हजार कित्ता संस्थापक र ६ लाख २६ हजार कित्ता साधारण शेयरका लागि बोलपत्रमार्फत् बिक्री आह्वान गर्न प्रस्ताव गरिएको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य नै १०० रुपैंया तोकिएको छ जुन बोलपत्र आह्वान गरिएको दिन (बिहीबार)सम्म रहेको अन्तिम मूल्यभन्दा ३ रुपैंया कम हो । सामान्यतयाः बोलकबोल लिलामीबाट शेयर उठाउनेले बजारमूल्यभन्दा कम्तीमा पनि १० प्रतिशत सस्तो मूल्यमा शेयरको अपेक्षा राखेका हुन्छन् । यसो गर्दा मल्टिप्रोपोज फाइनान्सको शेयरका लागि ९० रुपैंयासम्म हाल्न आवेदकहरु तयार हुन्छन्, अझ बजारमा सीधै बिक्री नहुने संस्थापक शेयरको मूल्य त झन् सर्वसाधारण शेयरभन्दा पनि कम हुनुपर्ने हो तर यहाँ न्यूनतम मूल्य नै १०० रुपैंया तोकिएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१ औँ वार्षिकोत्सव

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा केक काटेर वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औ वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउदै लैजाने बताए । संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । २० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो । यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ । यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा लालीगुँरास अस्पतालले निःशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।

एनआईसी एशियाको चाडपर्व लक्षित योजना, देशभर पैसा पठाउन शुल्क नलाग्ने

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना ‘निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा’ सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको हो । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ । असोज १४ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।