पूर्णिमा र भार्गवलाई प्राप्ति पश्चात शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु, संचालकमा ६ जना नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गरी सोमबार(असोज २७ गते)देखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । यस सँगै सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् । यसरी, १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।

ललितपुर फाइनान्सको कामु सीईओमा चन्द्र शेखर खड्का

काठमाडौं । ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चन्द्र शेखर खड्का नियुक्त भएका छन् । गत असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले असोज ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि संस्थाको कामु सीईओमा नियुक्त गरेको हो । असोज ५ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकको निर्णयअनुसार संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी उक्त पदमा नियुक्त गरिएको हो ।

राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमा र क्रेडिट ग्यारेण्टी बीमा पोलीसी जारी गर्ने

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले बजारमा २ वटा नयाँ बीमा पोलिसी जारी गर्न अन्तिम तयारी गरिरहेको छ । उक्त बीमा कम्पनीले विद्यार्थी बीमा लेख तथा क्रेडिट ग्यारेण्टीसँग सम्बन्धित बीमा लेख जारी गर्ने भएको हो । दुबै पोलिसी तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी भएको बताईएको छ । अहिले बजारमा अन्य कम्पनीले पनि विद्यार्थी बीमा लेख जारी गरेको भएपनि आफूहरुले बजारमा ल्याउन लागेको बीमा लेख) केही फरक रहेको कम्पनीले जानाएको छ । कम्पनीले विद्यार्थी बीमा लेखमा आफूहरुले नर्सरी कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई समेटने जनाएको छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोईरालाले नेपाली बजारमा अहिले विभिन्न किसिमका बीमा लेखहरु जारी हुँदै आएको भएपनि विद्यार्थी लक्षित बीमा लेखहरु कम रहेको बताए । साथै, बीमितहरुबाट माग भएकाले आफूहरुले क्रेडिट ग्यारेण्टी बीमा लेख समेत बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ । उक्त बीमा कम्पनीले बैकले दिने ऋण सम्बन्धी बीमितलाई सहज होस भनेर सो बीमा लेख जारी गर्न आवश्य ठानेको हो ।