सेयर बजारमा ४५ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा बुधबार पनि उच्च अंकको गिरावट आएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको छ । मंगलबार पनि नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा खुम्चिएको थियो । बुधबार नेप्सेमा कुल ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने साढे ४ अर्ब माथिको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।   

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरले गर्‍यो स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो ।  अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो ।  अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरतार देखाए त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुर्नसंरचना सहित निजीकरण गर्नेलगायत दर्जनौं सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायलाई तत्काल कार्यान्वयनमा लैजान हाम्रो माग छ ।'  यसअघि कुनैपनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै हाल पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने ढकालको भनाई छ । ‘अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि जसरी अग्रसरता देखाउनुभयो उहाँलाई ब्रोकर एशोसिएशनको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘अब त्यसैगरी द्रुत गतिका कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविष्य एकदमै उज्वल हुनेछ ।’

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सबैभन्दा धेरै हिस्सा ओगट्दै आएको मोटर बीमाको व्यवसाय घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो को दुई महिना अर्थात भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको २७.८१ प्रतिशत हिस्सा हो । गत वर्षको यस अवधिसम्म निर्जीवन बीमकहरूले कुल ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा मोटर बीमाबाट मात्रै २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । गत वर्ष मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै मानिन्छ । तर पछिल्लो समय अर्थतन्त्रमा छाएको संकुचनको कारण भनेजस्तो सवारीसाधन बिक्री हुन नसकेको र यसले बीमा कम्पनीको व्यवसायसमेत खुम्चिने गरेको बीमा कम्पनीहरू बताउँछन् ।  त्यस्तै, पछिल्लो केही वर्षयता नेपालमा विद्युती सवारीसाधन (ईभी) बढी भित्रिन थालेको छ । ग्राहकको रोजाइ पनि ईभी बन्दै गएको छ । ईभीको लागि पनि छुट्टै बीमादर निर्धारण हुन सकेको छैन । विद्युतीय सवारीको लागि छुट्टै निर्देशिका पनि बनिसकेको छैन ।  नेपाल बीमा प्राधिकरणले मोटर बीमादर निर्देशिका, २०७३ मा एक नयाँ च्याप्टर बनाएर ईभीको पोलिसी बनाउने कुरा यसअघि गरेको भएपनि कार्यान्वयन हुन सकेको छैन । मोटर बीमा दरसम्बन्धी निर्देशिका,२०७३ अनुसार बीमा गरिएका विद्युतीय सवारीसाधनको डिप्रेसिएसन वा क्षतिपूर्ति कम आउने सवारीसाधनकर्ताहरूको तर्क छ ।  त्यस्तै, बीमा कम्पनीहरूले उक्त प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन परेमा उक्त प्रिमियम रकमले नधान्ने तर्क राख्दै आएका छन् । सम्पत्ति बीमाको हिस्सा बढ्दै निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै गएको भएपनि सम्पत्ति बीमाको भने हिस्सा बढ्दै गएको छ । चालु आवमा  दुई महिनामा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत ८५ हजार ६१५ बीमालेख जारी गरी २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेको थियो । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २९.६८ प्रतिशत थियो ।