काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सबैभन्दा धेरै हिस्सा ओगट्दै आएको मोटर बीमाको व्यवसाय घट्न थालेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो को दुई महिना अर्थात भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको २७.८१ प्रतिशत हिस्सा हो ।
गत वर्षको यस अवधिसम्म निर्जीवन बीमकहरूले कुल ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा मोटर बीमाबाट मात्रै २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । गत वर्ष मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो ।
निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै मानिन्छ । तर पछिल्लो समय अर्थतन्त्रमा छाएको संकुचनको कारण भनेजस्तो सवारीसाधन बिक्री हुन नसकेको र यसले बीमा कम्पनीको व्यवसायसमेत खुम्चिने गरेको बीमा कम्पनीहरू बताउँछन् ।
त्यस्तै, पछिल्लो केही वर्षयता नेपालमा विद्युती सवारीसाधन (ईभी) बढी भित्रिन थालेको छ । ग्राहकको रोजाइ पनि ईभी बन्दै गएको छ । ईभीको लागि पनि छुट्टै बीमादर निर्धारण हुन सकेको छैन । विद्युतीय सवारीको लागि छुट्टै निर्देशिका पनि बनिसकेको छैन ।
नेपाल बीमा प्राधिकरणले मोटर बीमादर निर्देशिका, २०७३ मा एक नयाँ च्याप्टर बनाएर ईभीको पोलिसी बनाउने कुरा यसअघि गरेको भएपनि कार्यान्वयन हुन सकेको छैन ।
मोटर बीमा दरसम्बन्धी निर्देशिका,२०७३ अनुसार बीमा गरिएका विद्युतीय सवारीसाधनको डिप्रेसिएसन वा क्षतिपूर्ति कम आउने सवारीसाधनकर्ताहरूको तर्क छ । त्यस्तै, बीमा कम्पनीहरूले उक्त प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन परेमा उक्त प्रिमियम रकमले नधान्ने तर्क राख्दै आएका छन् ।
सम्पत्ति बीमाको हिस्सा बढ्दै
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै गएको भएपनि सम्पत्ति बीमाको भने हिस्सा बढ्दै गएको छ । चालु आवमा दुई महिनामा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ ।
गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत ८५ हजार ६१५ बीमालेख जारी गरी २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेको थियो । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २९.६८ प्रतिशत थियो ।