प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीको सामुहिक दुर्घटना बीमा गरियो

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकको सामूहिक दूर्घटना बीमा भएको छ । सो कार्यक्रममा आवद्ध श्रमिकको दुर्घटनाको कारण मृत्यू भएमा आश्रित परिवारलाई ७ लाख रुपैयाँ र विरामी परेमा ७० हजार रुपैयाँ पाउने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कोषले सबै श्रमिकको दुर्घटना बीमा गरिदिएको हो । यस्तो बीमा राष्ट्रिय बीमा कम्पनीसँग गरिएको छ । मन्त्रालय र कम्पनीबीच १ माघदेखि लागू हुनेगरी २९ पुसमा सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयको तर्फबाट उपसचिव युवराज खतिवडा र कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बीमा कम्पनीले बीमा शुल्क प्राप्त गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएका श्रमिकको दुर्घटनामा परी मृत्यू भएमा उसको आश्रित परिवारलाई प्रतिव्यक्ति ७ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै, कार्यस्थलमा चोटपटक लागेर घाइते भएमा ७० हजार रुपैयाँसम्मको औषधी उपचार खर्च पाइने छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई प्रतिवर्ष १ सय दिन बराबरको रोजगारी दिने कार्यक्रम संचालन गरिरहेको छ । यसरी कार्यक्रम संचालन भएको बेलामा काम गर्दागर्दे दुर्घटनामा मृत्यू भएमा वा घाइते भएमा बीमा रकम पाइने सम्झौतमा उल्लेख छ । सरकारले आमनागरिकलाई रोजगारी प्रदान गर्न संचालन गरेको प्रभावकारी कार्यक्रम भएकोले सो कार्यक्रमको बीमा गरिएको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बताए । सम्झौताअनुसार १ लाख ५० हजार जनाको बीमा गरिएको छ । मन्त्रालयले बीमा शुल्कको रुपमा प्रतिव्यक्ति १ सय ३१ रुपैयाँ बीमा शुल्क तिर्नेछ ।

आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाको संख्या २५ वटामा झार्नुपर्छ- डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरुको संख्या २५ देखि ३० वटाको संख्यामा झार्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सवको एक समारोहमा उक्त कुरा बताएका हुन् । उनले लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रभाहका लागि संस्थाहरुले मर्जर नीति अवलम्बन गर्न सल्लाह दिएका छन् । साथै, उनले गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता समेत रहेको बताएका छन् । वार्षिकोत्सवको शुभकामना दिँदै यस संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको उनले बताए । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ । समारोहमा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त कार्यक्रममा आवद्ध भई कर्जाको सदुपयोग गर्न सके आर्थिक अवसर श्रृजना हुने बताएका छन् । लघुवित्त नाफामूखी व्यवसाय नभई सेवा मूलक व्यवसाय रहेको उनको भनाई थियो । लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्न नियामक निकायले विशेष भूमिका खेल्नुपर्ने उनले जानकारी दिएका छन् । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा वृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताए । समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७५ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो । संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयबाट २ लाख ४५ हजार घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।

गरिमा विकास बैंकको लेकसाईड शाखा पोखरामा

काठमाडौं । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाईडस्थित लेकसाईड शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंकले पोखरा क्षेत्रको औद्योगिक, व्यवसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आईरहको र लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए । यसैगरी, कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार सँगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको, संस्थागत शुसासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापह?मा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको बताए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकलाई सेवा दिंदै आईरहेको छ ।