जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ ।   ।

ग्लोबल आइएमईले गर्याे वित्तीय साक्षरताका लागि साइकल र्याली तथा गोष्ठी

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार माविसम्म साइकल र्यालीको आयोजना गरेको हो । सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका हुन् । उक्त र्यालीमा १ सय ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो । यसै गरी शुक्रबार बैंकको डुम्रे शाखामार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित श्री भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ्ग गरी दुई वटा साक्षरताकक्षा संचालन गरिएको थियो ।  बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु संचालन गरी स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।

एनएमबि लघुवित्तको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४६.६० रुपैंया

काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुदनाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गतआर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुदनाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गतवर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालननाफा बढ्नुका साथै खराबकर्जा उठाउन सफल भएका कारण खुदनाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँनिक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँपुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँपुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँलगानी रहेको लघुवित्तले यस अवधिमा खराबकर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झरेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १ सय ८३ रुपैयाँ ५२ पैसा र मूल्यआम्दानीअनुपात १७.१७ गुणा रहेको छ ।