धौलागिरी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम  वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले आ.व २०७५।०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव तथा का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए । सभामा संस्थाले आ.व २०७६।०७७ को प्रथम त्रैमासिक लक्ष्य पूरा गर्ने र शाखा कार्यालयहरु प्रथम शाखा ठाडा अर्घाखाची,दोश्रो शाखा बुर्तिबाड.र तेश्रो नौडाँडा शाखालाई सम्मान स्वरुप अध्यक्षबाट प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको बताइएको छ । यस धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतामा २०७६।०९।०२ गते दुवै संस्थाबाट समझदारी सम्झौता पत्रमा हस्ताक्षर भई कार्य अघि बढेको अध्यक्ष ईश्वर लाल राजभण्डारीले बताए । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा ईश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरि प्रसाद शर्मा र प्रभु बैकबाट उत्तम कुमार राजभण्डारी सर्वसहमतिले निर्वाचित भएको बताइएको छ । संस्थाको हाल केन्द्रिय कार्यालय बागलुङ अन्र्तगत ३६ वटा शाखा कार्यालय संचालन , कूल सदस्य २८,४५६ ऋण लगानीमा ७६ करोड रुपैयाँ, बचत ४८ करोड ९१ लाख र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए ।

गण्डकी विकास बैंकको सभाले पारित गर्यो १७.३२ प्रतिशत लाभांश

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १२ औं वार्षिक साभारण सभाले प्रस्तावित १७.३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई चुक्ता पुँजीको १७.३२ प्रतिशत अर्थात ४७ करोड ६३ लाख रुपैयाँ कर समेतको नगद लाभांश वितरण गर्ने छ । यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको संस्थाले जानकारी दिएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ । यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बीचमा समझदारी पत्रमा हस्ताक्षर भै प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सवल, सक्षम र अग्रणी बैंक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने संस्थाकाे विश्वास छ ।

सहकार्यसँग मर्ज हुन लागेकाे उन्नतिको ३८ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १५ करोड पुग्ने

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८.६० प्रतिशत बोनस शेयर पारित भएको छ । संस्थाको पाँचौं बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, ८ करोड ८२ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ पुगेको छ । साथै, सभामा सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्बन्धि छलफल भएको छ । यी दुई संस्था मर्ज पश्चात शेयर आदानप्रदान अनुपात सहकार्य लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयरलाई ७५ कित्ता प्रदान गर्ने सभाले जनाएको छ । त्यसपश्चात संस्थाको चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ कायम हुने संस्थाले जनाएको छ । साथै, दुबै वित्तीय संस्था गाभिएपछि कायम चुक्ता पुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले पारित गरेको छ । उक्त हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ पुग्ने छ । त्यसैगरी, मर्ज पश्चात संस्थाको सेयर स्वामित्व अनुपात ७५.४५ प्रतिशत (संस्थापक) र २४.५५ प्रतिशत (सर्वसाधारण) रहने सभाले जानकारी दिएको छ । हाल ३९ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरेको संस्थाको मर्ज पश्चात बन्ने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ पुग्ने छ । साथै, कर्जा लगानी दुई अर्ब रुपैयाँ भन्दा बढी र निक्षेप संकलन ७५ करोड रुपैयाँ पुग्ने संस्थाले जानकारी दिएको छ ।