
काठमाडौं । बुधबारको बजारमा सिभिल बैंकको सबैभन्दा बढी करोबार भएको छ । बैंकको एकैदिन १३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमसँगै बढी कमाउनेको अग्रस्थानमा पनि बैंक दोश्रो स्थानमा रहेको छ । दिनभरको बजारमा बैंकको सेयर मूल्य ८.७८ प्रतिशतले बढेर प्रतिकित्ता १६१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँ बढी हाे । बुधबारको बजारमा बैंकको सेयर प्रतिकित्ता न्यूनतम १४८ रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँमा किनबेच भएको छ ।
दोश्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ । त्यसको सकारात्मक प्रभाव बुधबारकाे सेयर बजारमा परेकाे काराेबार रकम र सेयर मूल्य बढ्नुले संकेत गरेकाे छ ।
‘६ महिनामा वाणिज्य बैंकहरुले गरेको ग्रोथ रेटको आधारमा सिभिल बैंक आठौं स्थानमा पर्न सफल भएको छ । जसको प्रभाव आजको बजारमा परेको हो ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले विकासन्युजसँग भने- ‘साथै, हामीले आगामी असारसम्ममा एनपीएल घटाएर २ प्रतिशतसम्ममा झार्ने लक्ष्य राखेका छाैं ।’
बैंकका सीईओ गुरुङका अनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको पुस मसान्तमा बैंकको निष्कृय कर्जा (एनपीएल) घटेको छ । पुस मसान्तसम्ममा बैंकको एनपीएल घटेर २.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको एनपीएल २.९३ प्रतिशत थियो ।
गतअसार मसान्तसम्ममा ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तसम्ममा ५२ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ४४ अर्बबाट बढेर ५० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकले ३१ करोड ६७ लाख रुपैयाँ नाफा गरेकाे छ ।
समग्रमा बुधबारको बजार सामान्य ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको कूल एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समूह अन्तर्गत सबैभन्दा बढी जीवन बीमा ३८.२६ अंकले बढेको छ । उत्पादन मूलक समूह सबैभन्दा बढी अर्थात ११ अंकले ओरालो लागेको छ ।
बजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशत कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ६.२५ प्रतिशत गुमाएका छन् ।