सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपताललाई वितरण गर्यो पीपीई
काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र ५०० थान माक्स हस्तान्तरण गरेका छन् । साथै, तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका छन् । हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
लक्ष्मी लघुवित्तले कोरोना कोषमा १४ लाख सहयोग गर्ने, प्रत्येक प्रदेशलाई २-२ लाख
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले देशको सातवटै प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्धारा स्थापित उक्त कोषमा २ लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएका बैंक खातामा जम्मा गरिने संस्थाले जनाएको छ । संस्थाले विपन्न वर्गको आर्थिक तथा समाजिक स्थिति सुधार गर्न लघुवित्त सेवा प्रदान गर्ने र सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
स्वावलम्बन लघुवित्तले कोरोना रोकथाम कोषमा दियो २५ लाख रुपैयाँ
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा देशमा सो को संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो । वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको यस संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।