ज्योति लाईफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त, सबैकाे रोजाइको कम्पनी बनाउने प्रतिवद्धता
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले खत्रीलाई वैशाख २१ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । यस अघि नै निजलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीको लागि नियामक निकाय बीमा समितिमा पठाइएको थियो । जसमा बीमा समितिबाट वैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको हो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गरेका खत्रीले बेलायतको सबैभन्दा ठुलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए । बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक बिताएपछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए । व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामूलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ । कम्पनीको स्थापना देखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिरहेका खत्रीलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाएकोमा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउन आगामी दिनमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ
विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ महिना हुन लागेको छ । यो अवधिमा पुँजी बजार अन्तर्गतको शाखा मानिने मर्चेन्ट बैंकरहरु पनि बन्द नै छन् । यस्तो परिस्थितिमा अन्य व्यवसायहरुलाई जे जस्तो असर परेको छ, मर्चेन्ट बैकिङ्हरुलाई पनि त्यस्तै असर परिरहेको छ । अहिले सञ्चालनमा रहेको सबै (३१ वटा) मर्चेन्ट बैंकरहरुले बन्दको गम्भीर असर व्यहोरिरहेका छन् । आम्दानीका प्रमुख श्रोतहरु प्रायः बन्द नै छन् । डिम्याट अकाउन्टहरु खुलिरहेका छैनन् । प्राथमिक निष्काशन (आईपीओ), हकप्रद सेयर तथा डिबेन्चरहरु बिक्री गर्न पाइरहेका छैनन् । तर केही मर्चेन्ट बैंकरहरुले भने म्युचअल फण्ड सञ्चालन गरिरहेका छन् । उनीहरुलाई त्यस वापतको आम्दानी आउँछ । त्यस्तै, सेयर रजिष्टार (आरटीएस) गरे बापतको आम्दानी पनि प्रायः सबै मर्चेन्ट बैंकहरुको आईहाल्छ, जुन उनीहरुले वार्षिक सम्झौतामा गरेका हुन्छन् । र, व्याज आम्दानी पनि आउँछ । जसले संस्थाको स्थिर खर्च धान्नलाई केही हदसम्म सहयोग गरेको छ । त्यसकारणले मर्चेन्ट बैंकरहरुलाई हाल त्यति अफ्ठ्यारो परेको स्थिति भने छैन । जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ । यसको मतलब मर्चेन्ट बैंकरहरुलाई अफ्ठ्यारो परेको नै छैन भन्ने होइन । आम्दानीमा केही कमी आएको छ । हाम्रो ठूलो आम्दानीको स्रोत भनेको पोर्टफोलियो म्यानेजमेन्ट हो । त्यो अहिले गुमेको छ । हामीले हाम्रो ग्राहकको लगानी सेयर मार्केटमा व्यवस्थापन गरेका हुन्छौं । उक्त लगानी व्यवस्थापन गरे वापतको अधिकांश आम्दानी कार्य कुसलतामा आधारित हुन्छ । सेयर मार्केटले राम्रो गर्यो, त्यसबाट हाम्रा ग्राहकले नाफा कमाए भने त्यसको १० देखि २० प्रतिशत हेरेर हामीले लिईरहेका हुन्छौं । त्यसलाई कार्यकुसलता शुल्क भनिन्छ । यस्तो शुल्क ठ्याक्कै कति लिने भन्ने चाहिँ अगाडी भएको सम्झौता अनुसार हुन्छ । पोर्टफोलियो म्यानेजमेन्टको प्रमुख आय भनेकै यस्तो शुल्क पनि हो । जुन ठप्प छ । अहिले त बजार बन्द नै छ । खुलिसकेपछि पनि मार्केट घट्ने सम्भावना एकदमै प्रवल छ । यसले गर्दा यो आर्थिक वर्षमा हामीले कार्यकुसलता शुल्क (प्रफरमेन्स फी) आर्जन गर्ने अवस्था कम छ । जसजसले ग्राहकहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिईराख्नु भएको छ, उहाँहरुको ग्राहकको प्रोर्टफोलियो नै नाफामा छैन वा लगानीले प्रतिफल दिन सकेन भने हामीले पर्फरमेन्स फी लिन सक्दैनौं । यसले गर्दा अधिकांश मर्चेन्ट बैंकहरुको प्रमुख आम्दानीको स्रोत गुम्छ । यस्तो अवस्थामा नियामक निकायहरुले केही सेवा सुविधा उपलब्ध गराई दिनु भएमा धेरै राम्रो हुन्थ्यो । सरकारको अब आउने आर्थिक नीति के कस्तो हुन्छ, त्यसले हामीलाई प्रभाव पार्छ । आशा गरौं, केही सहुलियत पाउन सक्छौं । बजार बन्द भएपनि हामी पुरै छुट्टीमा बसेका छैनौं । घरबाटै गर्न सकिने कामहरु सकेसम्म सञ्चालन गरिरहेका छौं । कोर अपरेशन चाहिँ गर्न सकेका छैनौं । तर पनि ग्राहकको आग्रह अनुसार फोन तथा इमेल मार्फत हामीले हाम्रो तर्फबाट दिन सकिने सेवाहरु दिईरहेका छौं । त्यस्तै, धितोपत्र बोर्डहरुलाई बुझाउनु पर्ने रिपोर्टहरु बनाईरहेका छौं । घर बसेरै गर्न सकिने कामहरु गरिरहेका छौं । तर बजार खुलेको जस्तो प्रडक्टिभ काम भने भएको छैन । मेगा मर्चेन्टमा अहिले कूल १६ जना कर्मचारीहरु हुनुहुन्छ । जसमध्ये केही उपत्यका बाहिर जानुभएको छ । बाँकीले घरबाटै गर्न मिल्ने कामहरु गरिरहनु भएको छ । उहाँहरुसँग नियमित अनलाइन कम्युनिकेसन तथा मिटिङहरु भइरहेको छ । हरेक डिपार्टमेन्ट प्रमुखहरुले पनि आ–आफ्नो कर्मचारीहरुसँग समन्वय गरिरहनु भएको छ । लकडाउन हुनुभन्दा अगाडि गाउ जानुभएका कर्मचारीहरुसँग ल्यापटप तथा इन्टरनेटको पहुँच नभएकोले उहाँहरुले फोनबाट गर्न सकिने कामहरु जस्तै, ग्राहकलाई फोन गर्ने, अपडेट गराईदिने जस्ता कामहरु गरिरहनु भएको छ । यसका साथै, हामीले हरेक दिन हाम्रा स्टाफहरुलाई केही न केही अनलाइन तालिमहरु दिईरहेका छौं । त्यसको लागि केही सिनियर स्टाफहरुलाई बाहिरबाट रिक्वेष्ट गरेर हुन्छ कि वा कोही व्यवस्थापकीय विज्ञहरुलाई भनेर हुन्छ हाम्रा स्टाफहरुलाई दैनिक एक घण्टा जस्तो तालिम दिएका नै हुन्छौं । सबैभन्दा बढी क्यापासिटी डेभलपमेन्ट तथा लर्निङ् एण्ड डेभलपमेन्टमा फोकस गरिरहेका छौं । जसले गर्दा उहाँहरुको पनि कार्य क्षमता बढ्ने र दीर्घकालिमा कम्पनीको ग्रोथको लागि सहयोग गर्छ भन्ने हाम्रो उद्देश्य हो । हामी पब्लिक लिमिटेड कम्पनी भयौं । हाम्रो आम्दानी पनि पुरै बन्द भईसकेको छैन । केही आम्दानीका श्रोतहरु छन् । त्यसबाट जे जति आम्दानी भइरहेको छ, त्यहीबाट कर्मचारीहरुलाई पुरा तलब प्रदान गरेका छौं । यस्तो अवस्थामा कोही कसैलाई पनि अफ्ठेरोमा पारेका छैनौं । यो अवस्थामा कर्मचारीहरुलाई पुरा समय काम लगाउन पाएनौं भन्ने मात्र हो । तर पनि तलब कटौती गरेका छैनौं । अब यो लकडाउनको अवधि ३/४ महिनै लम्बियो भने त हामीलाई पनि गाह्रो हुन्छ । त्यस्तो बेला के गर्ने, कसरी गर्ने भन्ने अर्काे समस्या आउँला । तर, पूरा तलब खुवाउन अहिले नै सायद कुनै पनि कम्पनीलाई गाह्रो नहोला । किनभने सबैले रिक्स म्यानेजमेन्टको तयारी गरेकै हुन्छन् । अहिले मार्केट खुलिरहेको भए अनलाइन कारोबार गर्नेको संख्या बढी हुन्थ्यो । यसअघि अनलाइनबाट कारोबार नगर्नेहरु अनलाइन कारोबारमा जान्थे । यसले गर्दा हामी अनलाइन कारोबारतिर पुरै सिफ्ट हुन्थ्यौैं होला । यो महामारीबाट बच्न सरकारलाई सहयोग गर्ने उद्देश्यले बजार खुल्न नसकेको हो । यद्यपि, यो परिस्थिति लम्बियो भने नेप्सेले पनि केही कदम चाल्छ होला, र चाल्नै पर्छ । अन्ततः लगानीकर्तालाई नआत्तिन आग्रह गर्दछु । बजार खुलेपछि केही समय मार्केट तल गएपनि यसले छिट्टै रिकभर लिने सम्भावना छ । विश्वको सेयर बजार नै तल गइरहेको छ । आर्थिक मन्दीले गर्दा पब्लिक लिमिटेड कम्पनीहरु, जो जो नेप्सेमा सूचीकृत छन्, उनीहरुको आम्दानी घट्ने सम्भावना प्रवल छ । नेपाल राष्ट्र बैंकले हालै गरेको २ प्रतिशत व्याज छुट भन्ने व्यवस्थाले वाणिज्य बैंकहरुको पनि लाभांश तथा नाफाहरुमा केही असर पर्छ नै । त्यसैले छोटो समय मार्केट तल जान सक्नेछ । तर कोभिड–१९ को यो महामारी सकिएपछि, सबै कुरा सामान्य भईसकेपछि मार्केटले छिटै नै पिकअप लिन्छ भन्ने आशा छ । (मेगा क्यापिटल मार्केटसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झासँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)
सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता
काठमाडौं । सेञ्चुरी बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ । देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी बैंकले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।