एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडाैं । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो । उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।  रासस

कतिले भरे एनआईसी एशिया लघुवित्तको सेयर ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आज(आइतबार) बाट सकिएको छ । असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा कूल ४ लाख १२ हजार ३ सय ३२ जना आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले सर्वसाधरणमा माग गरेकाे भन्दा  ५.१७ गुणा बढी हाे । सो अवधिसम्ममा २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेकाे छ। उक्त डाटामा आश्वा सदस्यका बैंकहरुबाट केहि थपिन सक्ने क्यापिटलले जानकारी गराएको छ । संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।

सेयर बजार सोमबारदेखि खुल्ने

काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् । बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले गत शुक्रबार नै बजार खोल्नुपर्ने सुझाव पेस गरेको थियो । साेहि विषयमा आइतबार बसेको बोर्डको बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको हो । यससँगै बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने । सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैत १० गतेदेखि बन्द अवस्थामा रहेको थियो । यसबीचमा दुई दिन खुलेको बजार पुनः बन्द भएको थियो ।