एनएमबि लघुवित्तले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बोनस कति ?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्लो २ वर्ष यताकै उच्च लाभांशदर हो । संस्थाले चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । मंसिर ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुग्ने छ । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश (१२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एशियन लाइफको पहिलो त्रैमासः आम्दानी ५ करोडले घट्यो तर नाफा भयो दोब्बर बढी
काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्दा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको आम्दानी २५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने खर्च २१ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खर्चमा उल्लेख्य कटौति गरेर नाफा बृद्धि गरेको हो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा आम्दानी करिब ५ करोड रुपैयाँ कम भएपनि नाफा भने ५ करोड रुपैयाँभन्दा बढीले बृद्धि गरेको छ । आगामी रणनीति विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण आर्थिक गतिविधि विगतको तुलनामा न्यून छन् । कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । सो असर लामो समयसम्म रहने सम्भावना पनि देखिएका छन् । यस्तो परिस्थितिमा अर्थतन्त्रमा आउने विश्वव्यापी मन्दीले नेपालमा समेत प्रभाव पार्छ । सोही मन्दीको प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरलाई न्युनिकरण गर्नु आजको मुख्य चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ । कम्पनीका अनुसार गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धीका लागि दक्ष जनशक्तिको अभाव छ । बढ्दो महंगी, तरलता संकुचन, सुरक्षित र आकर्षक दीर्घकालिन लगानीका अवसरहरुको कमी छ । यसरी नै जीवन बीमाको बारेमा जनचेतनाको समेत कमी छ भने जीवन बीमा कम्पनीहरुमा हुने अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।
चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गतेदेखि खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।