युनाईटेड इदी-मर्दीकाे आईपीओ बाँडफाँडः भाग्यमानी ६ जनाले पाए ११ कित्ता सेयर
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर बि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज आइतबार (मंसिर १४ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज दिउँसो ४ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलमा भएको हो । यससँगै बिक्री प्रबन्धक क्यापिटलका अनुसार याेग्य आवेदकमध्ये ८१ हजार २७३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । र, बाँकी ४ लाख ५९ हजार १२९ जनाको भने हात खाली भएको छ । त्यस्तै बाँकी रहेको ६ कित्ता सेयर थप ६ जना आवेदकलाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको छ । उक्त सेयर न्युनतम २० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन गरेका भाग्यमानी ६ जना आवेदकले पाएका छन् । उक्त आईपीओमा कूल ५ लाख ४१ हजार २६३ जना आवेदकले कम्पनीको ९४ लाख ९८ हजार ४ सय कित्ता सेयरको लागि आवदेन दिएका थिए । जसमध्ये ८६१ जनाको आवेदन रद्द भएको थियो । उक्त याेग्य आवदेन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ११.६९ गुणा बढी हो । कम्पनीले गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरेकाे छ ।
आइतबार अधिकांश बैंकको सेयरमा सकारात्मक सर्किट, कसले कति कमाए ?
काठमाडौं । आइतबारको बजारमा अधिकांश वाणिज्य बैंक तथा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । बैंकहरुको सेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सो दिन बढी कमाउनेको शीर्ष २० स्थानमा वाणिज्य बैंक र विकास बैंकका लगानीकर्ता मात्रै रहेका छन् । जसमध्ये वाणिज्य बैंक तर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको १० प्रतिशत र सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सनराइज बैंकको ९.९२, माछापुच्छ्रे बैंकको ९.९२, मेगा बैंक नेपालको ९.८९, नेपाल बङ्गलादेश बैंकको ९.८९, प्रभु बैंकको ९.८६, कुमारी बैंकको ९.७८, ग्लोबल आईएमई बैंकको ९.७५, लक्ष्मी बैंकको ९.७१, हिमालयन बैंकको ९.६९, सिटिजन्स बैंक इन्टरनेशनलको ९.६६, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ९.६४ र सिभिल बैंकको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ । आइतबार यी २० वाणिज्य तथा विकास बैंकका लगानीकर्ताले कमाए ९ प्रतिशत बढीः त्यस्तै, विकास बैंकहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । सबैभन्दा बढी ग्रीन डेभलमपेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ९.९०, महालक्ष्मी विकास बैंकको ९.८८, गरिमा विकास बैंकको ९.८५, लुम्बिनी विकास बैंकको ९.४२, ज्याृेति विकास बैंकको ९.३५ र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.१६ प्रतिशतले बढेको छ । बजारमा कूल २०० कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये १५० कम्पनीका लगानीकर्ताले अघिल्लो कारोबारको तुलनामा कमाएका छन् भने बाँकीले केही गुमाएका छन् । नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि ५० वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा बिशालबजार कम्पनीका सेयरधनी रहेका छन् । जसको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ४०० रुपैयाले घटेर प्रतिकित्ता ३ हजार ६ सय रुपैयाँमा झरेको छ । सम्बन्धित समाचारः सेयर बजारमा दैनिक रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब माथिको कारोबार, के भन्छन् लगानीकर्ता ?
लक्ष्मी लघुवित्त ११ वर्षमा प्रवेश, गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । संस्था आज (मंसिर १४ गते)देखि आफ्नो स्थापनाको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा संस्थाले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई थप सरल र गुणस्तरीय बनाई गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ । यससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । र, आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएकाे छ ।