त्रिविमा भर्नादेखि नतिजा प्रकाशनसम्मका लागि शैक्षिक क्यामलेण्डर तय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक क्यालेन्डर तय गरेको छ । विश्वविद्यालयको पढाइ, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन कार्य नियमित बनाउन क्यालेन्डर तय गरिएको हो । क्यालेन्डरअनुसार स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थीको भर्नादेखि परीक्षाको नतिजा प्रकाशनसम्मको समय निर्धारण गरिएको छ । अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा कार्यक्रमलगायतका निकायमा शैक्षिक क्यालेन्डर लागु भए नभएको विषयमा नियमित अनुगमन गर्न एक समिति गठन गरिने भएको छ । स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमेस्टर प्रणाली अनुरूपको क्यालेन्डर निर्धारण गरेको हो । वार्षिक प्रणालीअनुसार पढाइ हुने स्नातक तह प्रथम वर्षका लागि २०८१ साल साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना सञ्चालन गरिने भनिएको छ । भदौको चौथो हप्तादेखि नै कक्षा सञ्चालन हुने जनाइएको छ । २०८२ जेठ पहिलो हप्तामा कक्षा सकाउने र २०८२ जेठ चौथो हप्तादेखि परीक्षा कार्यक्रम सञ्चालन हुने तय भएको छ । नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने छ । स्नातक तह पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म भर्ना आवेदन आह्वान गर्ने भनिएको छ । भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुने, असोजदेखि कात्तिकको बिचमा विद्यार्थी भर्ना गरिने, मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन र माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ। २ नतिजा प्रकाशन ०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको गरिनेछ । स्नातकोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फाराम खुल्ने, पुसमा प्रवेश परीक्षा तथा भर्ना हुने, माघ पहिलो सातादेखि कक्षा सञ्चालन हुने, चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुने भनिएको छ। २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।
५ देखि १२ कक्षाका विद्यार्थी केन्द्रित आइबिएमको ‘विद्यालय कार्यक्रम’
काठमाडौं । शिक्षा क्षेत्रमा काम गर्दै आएको एसिएन ई-लर्निङले अब आइबिएमको विद्यालय कार्यक्रम सुरु गर्ने भएको छ । बुधबार पत्रकार सम्मलेन गर्दै ई–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्याहरूलाई केन्द्रित गर्दे कार्यक्रम सुरु गर्न लागेको जनाएको छ । अहिले विद्यार्थी सबैका हातहातमा मोबाइल भए पनि कसरी प्रयोग गर्ने र त्यसभित्र रहेको डेटा कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा याे कार्यक्रमले विद्यार्थीलाई शिक्षा दिनेछ । यो कार्यक्रममा विश्वव्यापी रूपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम हो । भारतको शिक्षा प्रविधि कम्पनी ट्रान्सन्युरनसँगको सहकार्यमा कार्यक्रम सुरु गर्न लागिएको जनाइएको छ । यो कार्यक्रममा आर्टिफिसिएल इन्टेलिजेन्स र मेशिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन गरी तीन वटा प्रविधिका विषय समेटिएका छन् । दक्षिण एसियामै पहिलो पटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरू समावेश छन् । आइबिएमको यो कार्यक्रमअन्तर्गत तीन चरणका कोर्स राखिएका छन् । पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेस्रो इनोभेटर । एक्सप्लोररको नारामै ‘प्रविधिलाई माया गर्नुस’ भन्ने राखिएकाले सबैभन्दा पहिले प्रविधि के हो यसलाई कसरी सदुपयोग गर्ने र यसलाई कसरी माया गर्ने भन्ने विषयमा सिकाइ हुने एसिएन ई- लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए । विश्वस्तरको सिकाइ सामग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेश कक्षा, इन्डष्ट्रीबाट गेष्ट लेक्चररको पनि व्यवस्था छ । कार्यक्रममा सहभागी वक्ताहरूले अहिलेको युग नै प्रविधिको युग भएकाले यस्तो कार्यक्रम आवश्यक रहेको बताएका छन् । विद्यार्थीलाई स्कुल लेभलमै प्रविधिमा पोख्त बनाउन सके विश्वसँग नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने भन्दै यस्तो कार्यक्रम सरकारले नै सुरु गर्नुपर्ने बताएका छन् ।
सरकारले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क गर्नुपर्छ : सांसदहरू
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले ११ र १२ कक्षाको शिक्षालाई निःशुल्क बनाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेत र नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मदरसा, गुम्बा, गुरुकुल शिक्षालयका लागि पनि शिक्षक दरबन्दी, पाठ्यक्रम लगायतको व्यवस्था गर्न सरकारलाई सचेत गराएका हुन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले प्रदेश र स्थानीय सरकारलाई पनि बजेटको व्यवस्था गर्न लगाएर संघीय सरकारले कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गर्नुपर्ने बताए । उनले शिक्षालाई निःशुल्क बनाउने कुरामा सरकार तयार हुनुपर्ने पनि बताए । सांसद बस्नेतले भने, ‘कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउने कुरामा सरकारले हुन्न भन्नसक्ने अवस्था नै रहँदैन । अर्थात यसमा संघीय सरकारले कति प्रतिशत बजेट हाल्ने, प्रदेश सरकारले कति प्रतिशत बजेट हाल्ने र स्थानीय सरकारले कति प्रतिशत बजेट हाल्ने ? या तीन वटै तहले हालेर भएपनि कक्षा ११ र १२ निःशुल्क गर्ने प्रक्रियामा हामीले स्ट्रङली लागौ । अब मन्त्रीज्युको पनि यो क्षेत्रमा काम गरेर आउनुभएको छ ।’ नेकपा एमालेका सांसद विश्वकर्माले मदरसा, गुम्बा, गुरुकुललगायतका शिक्षालयका लागि पनि सरकारले बरबन्दी, पाठयक्रम लगायतको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए । उनले एसईई परीक्षाको नतिजाबाट विद्यार्थीहरुले आत्माहत्या गर्नुपरेको घटना स्मरण गराउँदै सो समस्या समाधानमा गम्भिर हुन पनि सरकारलाई सचेत गराए । सांसद विश्वकर्माले भने, ‘यहाँ सरकारले ध्यान दिनुपर्ने कुरा के रह्यो भने मदरसा, गुम्बा, गुरुकुल जस्ता हाम्रा ती शिक्षालयहरु नै हुन् । आश्रित हुनबाट पनि जोगाउनु पर्छ भन्ने लाग्छ । नियमनको कुरा त्यतिबोल मात्रै हामीले गर्नसक्छौ, जतिबेला हामीले त्यसको अपनत्व लिन्छौं । हामीले केही गर्न नसक्ने अनि नियमनमात्रै गर्ने भनेर त भएन नि ।’ सांसद विश्वकर्माले एसईई परीक्षाको नजितामा सुधार ल्याउने गरी सरकारले शिक्षा प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।