निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधासम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिङ्गारिएको प्राङ्गणले विद्यालयको वातापरण मनमोहक बनेको छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला,  कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ । शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन–अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ । विसं २०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गरेको उक्त विद्यालयलाई अहिले उनकै छोरा टीकाराम थापाले हाँकिरहेका छन् । बुबाले स्थापना गरेको विद्यालयलाई नमूना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितको अध्यक्षकशो जिम्मेवारी बहन गरेको उनको भनाइ छ । थापाले आफ्नो तीनवर्षे कार्यकालमा एक करोड ३२ लाख रुपैयाँ खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमूना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए । भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत ५० रुपैयाँलाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाख रुपैयाँमा दुईकोठे भवन निर्माण, पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १५ लाख रुपैयाँको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनःनिर्माण प्राधिकरणकै सात लाख रुपैयाँमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ । यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा रु सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको आठ लाख रुपैयाँ लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट संकलन भएर बचत भएको २७ लाख रुपैयाँबाट बाल उद्यान,  प्रवेशद्वार, तारबार, खानेपानीलगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । ‘विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइँसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,’ उनले भने, ‘एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुपर्यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसीभैलो खेलेर संकलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।’ अधिकांश दलित समुदायका विद्यार्थीले  अध्ययन गर्ने विद्यालयलाई नमूना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताए । रासस

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघसंगठनको ऐक्यबद्धता

काभ्रे । शिक्षक सरुवा लगायतका विषयलाई लिएर आन्दोलित नमोबुद्धका शिक्षकहरूको आन्दोलनमा जिल्लास्थि शिक्षक संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा र एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामाले हस्ताक्षर गरी संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिकाले ‘कानूनविपरित, पूर्वाग्रहपूर्ण तथा नियतवश र फगत आफ्नो निहीत उद्देश्य पूरा गर्न आम बालबालिकाको हितविपरीत’ गरेको सरुवाप्रति ‘घोर भत्सर्ना गरिएको छ । शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरूप’ देखाएको भन्दै शिक्षक संघ, संगठनहरूले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिलाई खुलेर विरोध गर्न समग्र सरोकारवालामा अपिल समेत गरेका छन् । ‘लोकहितविरुद्ध, कानुनविरुद्ध’ को कार्य रोक्न नमोबुद्ध नगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै ‘योजनाकार कर्मचारी’ लाई समेत शिक्षक र आम बालबालिकामाथि गरिएको ‘अमानवीय र क्रूर व्यवहार’को अन्त गरी गल्ती सच्याउन ध्यानाकर्षण गराइएको छ । नमोबुद्धभित्र कार्यरत सम्पूर्ण शिक्षक, अभिभावकलाई समेत यस्ता गतिविधिको विरुद्धमा डटेर लड्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

२,८५९ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन

काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिबार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै, विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेशपत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिससम्बन्धी जानकारी पाउन सक्नेछन् । शनिबार प्रकाशन भएको सूची साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नुपर्ने छ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न पाइँदैन, साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’ विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७ सय ५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६ सय ६५ जना सहभागी भए । ६ हजार ७ सय २० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६ सय ३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ । व्यवस्थापन विषयमा २ हजार ४ सय ९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३ सय २८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३ सय ८१ जना उत्तीर्ण भए । यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । कानुन विषयमा १ सय ३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १ सय ३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ । मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए ।  यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ । छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो । प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो । साउन ७ गते योग्यता क्रम प्रकाशन भयो । यस नतिजामा चित्त नबुझे पुनर्योग वा दाबी विरोधका लागि ३ दिन (साउन १० गते साँझ ५ बजेसम्म) समय दिइयो । यस अवधिमा १४३ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । यसमध्ये १ जनाको नतिजा परिवर्तन भएको छ । भर्नामा सहयोग गर्न अधिकारीहरूको नम्बर सार्वजनिक नोमिनेसन सूची (म्याचिङ् लिष्ट) मा नाम भएका विद्यार्थीहरुले अनलाइनबाट मनोनयन पत्र डाउनलोड गर्न सक्छन् । भर्ना हुन जाँदा यही पत्र लिएर जानुपर्छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन । शिक्षा अधिकारी शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरूले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ । हामी यस विषयमा जानकारी लिँदैछाैं ।’ विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ । यसप्रकारको समस्या भएमा ०१ ४१६८७२० कार्यालय समयमा, शिक्षा अधिकृतहरू नेत्रनारायण पौडेल ९८५११९९९४५, इन्द्रप्रसाद दाहाल ९८५१०६६६१७, ओमप्रसाद गौत्तम ९८५१२०२५१८ र केशव ज्ञवाली ९८४८७७७१८८ मा सम्पर्क गर्न सकिनेछ ।