बालकलाई साङ्लोले बाँधेको देखेपछि सविताले जन्माएको अटिजम स्कुल
काठमाडौं । कोही बोल्न नसक्ने । कोही बेस्सरी चिच्याउने । रुन सुरु गरिसकेपछि चुप लगाउनै गाह्रो । काेही आफ्नै सुरमा खेलिरहेका । केहीलाई शिक्षिकाले हात समाएर सिकाइरहेका । यो दृश्य हो विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (एसएसडीआरसी) को । अघिल्लो साता काठमाडौं नरेफाँटमा रहेको विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रमा पुग्दा यस्तै दृश्य देखियो । कक्षाकोठा रंगीचंगी, कतै क, ख ठूला अक्षरमा लेखिएका थिए भने कतै रंगीविरंगी चित्र । उनीहरूका लागि खेल्ने सामाग्री पनि उस्तै । तर, यस्ता तस्बिर देख्दा नर्मल विद्यार्थी जस्तै उनीहरू खुसी हुँदैनन् । नयाँ मान्छे आउनेबित्तिकै कोही हेरिरहन्छन्, कोही बोल्दै बोल्दैनन् । अन्य स्कुलमा भन्दा याे स्कुलमा विद्यार्थीकाे सिकाइ फरक छ । विशेष स्कुल अटिजम भएका बालबालिकालाई उनीहरूके दैनिक कृयाकलापमा सहज गराउन शिक्षा दिने स्कुल हो । यो स्कुलमा यस्तै समस्या भएका बालबालिकाहरू अध्ययन गरिरहेका छन् । सामान्यता अन्य स्कुलमा विद्यार्थी आफै खेलिरहेका, पढिरहेका वा कुनै न कुनै क्रियाकलाप गरिरहेका देखन सकिन्छ । तर, यो स्कुलमा विद्यार्थीलाई सिकाउन शिक्षकको हातको साहारा तथा चित्र र भिडियाेकाे साहारा चाहिन्छ । शिक्षकको अथक प्रयासपछि कतिपय बालबालिका केही कुरा चिन्न र बुझ्न सक्ने भएका छन् । जन्मिदै अटिजमको समस्या भएका बालबालिका धेरैले बोल्न सक्दैनन् । बोल्नेहरूमा पनि स्पष्टता हुँदैन । अन्य सापंगभन्दा फरक शैलीका कतिपय बालबालिकालाई मान्छेको अनुहारमा हेर्न लगाउनै पनि समय लाग्छ । विशेष स्कुलले यस्तै विशेष बालबालिकालाई अध्ययन गराउँदै आएको स्कुलका संस्थापक अध्यक्ष सविता उप्रेती बताउँछिन् । उनी यो स्कुलमा सुन्दा सामान्य लाग्ने तर गर्न जिटल खालका सिप सिकाइने गरेको बताउँछिन् । कसरी पढाइ हुन्छ ? अन्य स्कुल जस्तो यो स्कुलमा विद्यार्थीलाई किताबी कुरा सिकाइँदैन । यहाँ अध्ययन गर्न आउने विद्यार्थी आफै घरबाट विद्यायसम्म पनि पुग्न सक्दैनन् । उनीहरूलाई घरमा अभिभावक र स्कुलमा शिक्षकको साथ चाहिन्छ । यहाँ विद्यार्थीलाई कताबको कुरा रटाइँदैन, क, ख लेख्न जानेन् भनेर ठूलो स्वर पनि गरिँदैन । बरु उनीहरूलाई खान, बस्न, अनुहारमा हेरेर कुरा गर्न सिकाइन्छ । यहाँ आउने धेरै विद्यार्थीलाई हाई,बाई र नमस्कार गर्न सिकाउन मात्र पनि एक महिना लाग्ने शिक्षक बताउँछन् । उनीहरूलाई सिकाइ मात्र होइन थेरापी पनि गर्नुपर्छ । यस विशेष स्कुलमा सात वटै प्रदेशका बच्चाहरू अध्ययन गरिरहेका छन् । ‘यहाँ अध्ययन गर्ने विद्यार्थीले एक दिनमा यो यो कुरा सिक्छन्, यतिमा सिक्छन् भन्ने हुँदैन,’ विशेष स्कुलमा अध्ययपन गराउँदै आएकी एक शिक्षिकाले भनिन् । अटिजम प्रत्येक बच्चामा फरक-फरक खालको हुन्छ । कुनै बच्चा चाँडै सिक्ने हुन्छन् कुनै ढिलाे । विशेष स्कुलमा आएका कतिपय बच्चा ६ महिनामै नियमित स्कुल जान थालेका छन् भने कतिपय वर्षोंदेखि त्यहीँ छन् । विशेष स्कुलमा पढेका बच्चाहरू मध्ये १ सय जना बालबालिका नियिमित स्कुलमा जान सक्ने भएर निरन्तर स्कुल गइरहेका पनि छन् । ६२ विद्यार्थी अध्ययन गर्दै आजभन्दा १४ वर्षअघि सञ्चालनमा आएको विशेष स्कुलले अहिलेसम्म ५ सयभन्दा बढी बालबालिकालाई सेवा दिसकेको छ । यो स्कुलको उद्देश्य भनेको विद्यार्थीलाई दैनिक क्रियाकलाप आफै गर्न सक्षम बनाउने सँगसँगै मुलधारको विद्यालयमा जान सक्षम बनाउने हो । कक्षा ५ सम्म पढ्ने विद्यार्थी पनि छन् यहाँ । अटिजम भएका बालबालिकाका लागि त्यस्तो कुनै उपचार छैन जसले उनीहरूलाई निको बनाओस् । यो स्कुलमा भर्ना हुन तीन वर्षदेखि ८ वर्ष उमेरकf बालबालिका हुनुपर्छ । संस्थापक उप्रेतीका अनुसार यो समस्या भएका सबै बच्चाहरू मुलधारका विद्यालयमा जानसक्ने हुँदैनन् । ‘१० प्रतिशत बालबालिका यही स्कुलबाट शिक्षा सिकेर नियमित विद्यालय गइरहेका छन,’ ती शिक्षिका भन्छिन्,‘ स्कुल जान नसक्ने जो १६ वर्षमाथिका विद्यार्थी छन् तिनीहरूलाई सिपमुलक तालिम दिएर यही काम दिरहेका छौँ ।’ यो स्कुलका काठमाडौं उपत्यकाभित्र तीन वटा शाखा छन् । यसको मूख्य कार्यालय नरेफाँटमा छ भने कागेश्वरी मनोहराको गोठाटार र अर्को भक्तपुरको ताथलीमा छ । तीन वटै स्कुलमा गरी अहिले १६ युवा र ४६ बालबालिका गरी ६२ जना अध्ययनरत छन् । यो स्कुलमा विशेषगरी विशेष शिक्षा, स्वास्थ्य सेवा, थेरापी सिपमुलक तालिम दिइने गरिन्छ । यहाँ अटिजम भएका तीन वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई भर्ना लिइन्छ । यो स्कुलले यी बालबालिकालाई सकेसम्म नियमित स्कुल जानका लागि तयार पार्छ । १२ वर्षसम्म पनि जान नसक्नेलाई ‘प्री भोकेस्नल’, ‘भोकेस्नल’ मा लगिन्छ । ‘हामीले हरेक बच्चालाई स्कुलसम्म पुग्ने बनाउँछौँ, तर यस्ता बालबाकिलकालाई बस्न, खान सिकाउनु नै महिनौं लाग्छ,’ अध्यक्ष उप्रेती भन्छिन्,‘अझ अक्षर चिनाउन त झन गाह्रो छ, प्रत्येक बच्चा फरक-फरक हुन्छन् ।’ कुनै ६ महिना सम्म नियमित स्कुल जाने भएका छन् भने कुनै बच्चा १० वर्षदेखि यही स्कुलमा छन् ।’ १४ वर्षको अवधिमा यो स्कुलमा पढेका १ सय जना बालबालिकालाई नियमित विद्यालय जानसक्ने बनाएको उनी बताउँछिन् । यहाँ अध्ययन गरेका दुई जना विद्यार्थीले एसईई पास नै गरिसकेका छन् । बच्चालाई सिकाउन एकदम धैर्य चाहिन्छ यस्ता बच्चालाई सिकाउन एकदम धैर्य चाहिन्छ । यो स्कुलमा भर्ना भइसकेका विद्यार्थीको डाक्टरले डाइर्ग्नोसिस तथा लेखाजेखा गर्छन् । यसो गर्दा कुन बच्चामा कस्तो समस्या छ भन्ने थाहा हुन्छ । समस्या थाहा भइसकेपछि उनीहरूलाई त्यही अनुसारको शिक्षा दिन सुरु गरिन्छ । अटिजमको लेभल हुन्छ । कुन लेभलको अटिजम बच्चामा छ पहिचान गरी न्युन, मध्यम र सामान्य छुट्याउँदा सजिलो हुन्छ । सामान्य खालको अटिजम भएको विद्यार्थी भए नियमित स्कुलमा पठाएर थेरापीका लागि मात्र यो विशेष स्कुलमा ल्याइन्छ । त्यसभन्दा बाहेक अरुलाई बढी सहयोग चाहिन्छ । यस्ता बालबालिकालाई दैनिक क्रियाकलाप गराउन पनि कठिन हुन्छ । कसरी हात चलाउने, कसरी खाने, शौच कसरी गर्ने र लुगा कसरी लगाउने यस्तै सिकाइन्छ । कतिपय बालबालिकाले आफ्नै अभिभावकलाई पनि चिन्न सक्दैनन् । यस्ता बालबालिकाहरूका लागि भिडियो र चित् मार्फत पढाउने गरिन्छ । दैनिक क्रियाकलापमा आफै खान र लुगा लगाउनबाट सिकाइ सुरु हुन्छ । स्कुलमा कति बेला खाना, खाजा खाने, कतिबेला खेल्ने , कतिबेला पढ्ने उनीहरूलाई थाहा हुँदैन । यसका लागि तस्बिरमार्फत सेड्युल तयार पारिन्छ । केही समय साह्रै गाह्रो हुन्छ । स्कुल, घर र थेरापीमा एउटै प्याटनमा सिकायो भने चाँडो सुधार हुने अध्यक्ष उप्रेती बताउँछिन् । भाषाको प्रयोग गर्दा पनि एकै किसिमको प्रयोग गरिन्छ । ‘यो स्कुलमा आएका विद्यार्थीलाई सामान्य मान्छेजस्ताे भएर सिकाइँदैन, उनीहरू जस्तो छन् त्यस्तै भएर सिकाइन्छ, उप्रेती भन्छिन्, ‘स्टेप-स्टेप गरेर विद्यार्थीलाई सिकाइन्छ ।’ ६ वर्षमुनि पहिचान गर्न सके राम्रो अटिजम जन्मजात हुने समस्या हो । यसको स्पष्ट असर १८ महिनादेखि तीन वर्षभित्र देखा पर्छ । कतिपय बोलिरहेका बालबालिकामा पछि बोली बन्द पनि हुन्छ । यस्तो समस्या भएका बालबालिका सामाजिक रूपमा अरु सामान्य बच्चा जस्तो घुलमिल हुन सक्दैनन् । पंखा चलिरहेको छ वा बत्ति बलिरहेको छ भने उनीहरू एकोहोरो हेरिरहने हुन्छन् । धेरै समान भए पनि एउटा मात्र सामानमा यस्ता बच्चाको ध्यान जाने हुन्छ । कोही अति सक्रिय हुने, कोही अति निस्कृय हुने र व्यक्त पिच्छे फरक लक्षण देखापर्छ । उनीहरू दोहोरो कुरा गर्न सक्दैनन् । यस्ता बच्चाहरूमा भाषाको विकास हुँदैन भने अभिभाकले बालरोग विशेषज्ञलाई देखाउनुपर्छ । विशेष स्कुलमा सिकाउने मात्र हैन थेरापी पनि गराइन्छ । यो समसया भएका बालबालिकाको उपचार छैन । यो मष्तिस्कको अवस्था हो । उनीहरूको उपचार भनेको थेरापी नै हो । थेरापी एकदमै ढिलो हुने प्रक्रिया हो । यसको साइड इफेक्ट भने हुँदैन । यसमा पनि क्रियाकलाप नै गरिन्छ । दौडिरहने बच्चालाई एक ठाउँमा कसरी राख्ने, आँखा जुधाएर हेर्न नसक्ने बालबालिकालाई आँखामा हेर्न सिकाउने काम थेरापिस्टले गर्छन् । स्कुलमा अरु सिकाइने काम समूहमा गराइन्छ भने थेरापी थेरापिस्ट एक जना र बच्चा एक जनामा मात्र गराइन्छ । यसमा बच्चाको आवश्यक्ता हेरी थेरापी गरिन्छ कतिपय बालबालिकालाई फिजियो थेरापी पनि दिनुपर्ने हुन्छ भने यहाँ अकुपेशनल थेरापी, स्पिच थेरापी, सेन्सेरी, विहेविअर थेरापी, योगा लगायतका थेरापी सेवाहरू दिइन्छ । झट्ट हेर्दा उमेर अनुसारको शारिरीक विकास भइरहेको हुन्छ तर विकास भएका अंगहरू कसरी चलाउने भन्ने ज्ञान हुँदैन । यस्ता बच्चालाई धेरे थेरापीको आवश्यक्ता पर्छ । शिक्षक टिकाउन समस्या अन्य स्कुलमा जस्ते यो स्कुलमा पनि शिक्षक टिकाउन निकै समस्या छ । अन्य स्कुलभन्दा यो स्कुलमा शारीरिक, मानसिक रूपमा पनि शिक्षकलाई दबाब पर्ने भएकाले शिक्षक लामो समय दिक्दैनन् । अन्य स्कुल जस्तो १ जना शिक्षकले धेरै विषय हेर्न मिल्दैन । यसमा म्यानपावर धेरै चाहिन्छ । कतिपय एउटा बच्चालाई एउटै शिक्षक चाहिन्छ । अहिले ६० जना बालबालिकाको लागि थेरापिस्ट ५ जना, शिक्षक लगायत अन्य कर्मचारी गरी ३२ जना छन् । एक जना कर्मचारी बिदामा बस्दा पनि विद्यार्थीलाई कसरी सम्हाल्ने भन्ने पीर हुन्छ । फेरि एउटा शिक्षक जसले विद्यार्थीलाई सिकाउँदै आएको छ उनीहरूले त्यसैलाई खोज्छन् । अर्को दिन अर्को शिक्षक जाँदा हेर्न गाह्रो हुन्छ । नयाँ शिक्षक हुँदा उनीहरू रुने, चिच्याउने गर्छन् । एउटै शिक्षक लामो समसयसम्म हुनु राम्रो हो तर यहाँ त्यस्ताे छैन । यो स्कुलमा बच्चाहरूसँग शिक्षक टिक्न गाह्रो छ । ‘बेलाबेला नयाँ शिक्षक आउँछन्, शिक्षक टिकाउन पनि समस्या छ,’ उप्रेती भन्छिन्,‘ बच्चाहरूले शिक्षकलाई चिमोट्ने, पिट्ने गर्छन्, धैर्य नहुने, जागिर भनेर काम गर्न आउने शिक्षक यहाँ टिक्न गाह्रो हुन्छ । ’ विद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिकालाई १५ दिन तालिम दिइन्छ । यसमा बच्चाहरूसँग धैर्य हुन सक्ने शिक्षक चाहिन्छ । एउटा कक्षामा ५ जना विद्यार्थी छन् भने उनीहरू पाँच थरिका हुन्छन् । कसैले कपाल तान्छन्, कोही चिमोट्छन्, पहिलो दिन त शिक्षकले पिटाइ नै खानुपर्छ । यसका लागि शिक्षकलाई तालिम दिइन्छ । १५ दिनको तालिममै कतिपय शिक्षक बस्न चाहँदैनन् । यस्तो चुनौतीलाई स्वीकार्दै बस्न तयार हुने शिक्षकलाई तीन महिना तालिम दिएर राखिन्छ । यसरी १ वर्षसम्म काम गरिसकेपछि क्लास टिचरको रूपमा मान्यता दिइन्छ । बच्चा हेर्नभन्दा पनि शिक्षक टिकाउन चुनौती छ । आफ्नै पाठ्क्रम विद्यालयमा आउने बच्चाहरूको सिकाइका लागि यो विद्यालयले छुट्टै पाठ्यक्रम निर्माण गरेको छ । यसका लागि सबैभन्दा पहिले अभिभावकसँग छलफल गरिन्छ । बच्चाको आमालाई बच्चा पेटमा हुँदादेखि जन्मदासम्मको उसको क्रियाकलाप, यसका लागि अभिभावकले गरेको प्रयासका विषयमा सोधिन्छ । यस्तै बच्चाको सवल पक्ष र कमजोर पक्षलाई ध्यान दिएर स्कुल आफैले पठ्यक्रम बनाउँछ । जसलाई हामी व्यक्तिगत शैक्षिक योजना आइएपी भनिन्छ । यो छुट्टै पाठ्यक्रम हो । अन्य स्कुल जस्तो कक्षा १ मा सबै विद्यार्थीका लागि एउटै पुस्तक यो स्कुलमा हुँदैन । अटिजम भएका विद्यार्थीको लागि मात्र होइन स्पेसल चाइल्ड्स सबैको सिकाइपना फरक हुन्छ । नेपाल सरकारले अपांगतालाई १० चरणमा वर्गीकरण गरेको छ । त्यसअनुसार उनीहरूको सिकाइ र समस्या फरक-फरक हुन्छ । त्यसैले उनीहरूको आवश्यक्ता हेरेर व्यक्तिगत शैक्षिक योजना बनाएर पढाउने गरिन्छ । अभिभावक, थेरापीस्ट र म्यानेजमेन्टको टोली बसेर पाठ्यक्रम निर्माण गर्ने गरिन्छ । एक वर्षको पाठ्यक्रममा अभिभावक, शिक्षक, थेरापिष्ट कसको भूमिका के हुने भन्ने स्पष्ट छुट्याएको हुन्छ । शैक्षिक, बौद्धिक र शारीरिक गतिविधि समावेश गरिएको हुन्छ । अटिजम र बौद्धिक अपांगतालाई उपयुक्त हुने भनेर नेपाल सरकारले २०७२ सालमा सन्दर्भ सामाग्री तयार गरेको छ । त्यही आधारमा रहेर आवश्यक कुरा थपेर आफै पाठ्यपुस्तक बनाइने गरिन्छ । सिपमुलक तालिम विशेष स्कुलमा सिकेर नियमित विद्यालयमा जान नसक्ने विद्यार्थीलाई त्यहीँ सिप सिकाउने गरिन्छ । कतिपय बच्चाहरूले हातमा लगाउने बाला, गलामा लगाउने माला लगायतका विभिन्न सामाग्रीहरू बनाउने गर्छन् । विद्यार्थीले बनाएका यस्ता सामान बेचेर पनि विद्यालयले आयआर्जन गरिरहेको छ । यो स्कुल अभिभावक र कतिपय मनकारीले दिएको पैसाबाट चलिरहेको सविताले बताइन् । यो स्कुलमा छोराछोरी पढाउन कति खर्च लाग्छ भन्ने प्रश्नमा सविता भन्छिन्,‘यति नै लाग्छ भन्नेभन्दा पनि थेरापी निकै महंगो हुन्छ, दिउँसो खाजा पनि आफै खाुवाउनुपर्ने, केयर पनि बढी गर्नुपर्ने हुन्छ, हामी अभिभावकको अवस्था हेरेर शुल्क लिने गर्छौं, सक्ने अभिभावकले पैसा दिनुहुन्छ, नसक्नेहरूका बच्चाहरूलाई निःशुल्क नै पढाइदिन्छाैं ।’ विद्यालयलाई चुनौती यो विद्यालयमा शिक्षक र व्यवस्थापन पक्षलाई सकेण्ड सेकेण्डमा काम गर्न चुनौती रहेकाे अध्यक्ष उप्रेती बताउँछिन् । यहाँ काम गर्दा सेवा, माया र धैर्यता चाहिँन्छ । यी कुरा छैन भने यो काम गर्न गाह्रो हुन्छ । कुनबेला बच्चाहरूले के गरिदिन्छन् भन्ने डर पनि हुन्छ । सवितालाई बच्चाले टोकेर गालामा अप्रेसन नै गर्नुपरेको छ । थुप्रै थेरापिस्ट, शिक्षकलाई अस्पताल पुर्याउनु परेको उनको अनुभव छ । एक बच्चाले अर्को बच्चालाई धकेलेर घटना हुने जोखिम पनि हुन्छ उत्तिकै छ । यस कामका लािग सविताले निकै जाेखिम माेलेकी छन् । उनी यसका लागि स्थानीय तहले नै काम गर्नुपर्ने बताउँछिन् । ‘अहिले हरेक स्थानीय तहमा यस्तो समस्या भएका विद्यार्थी छन्,’ उनी भन्छिन्, ‘जनताका समस्या देख्ने, बुझने काम स्थानीयको सरकारको हो, यो विषयमा स्थानीय सरकारले गम्भीर रूपमा ध्यान दिएको छैन, यसको सबै पीडा अभिभावकलाई मात्र भोग्नु परेको छ ।’ यस्ता बच्चाहरूका लागि स्थापना गरिएका स्पेसल स्कुल पनि सहरबजार केन्द्रित मात्र छन् । थेरापी अझै महंगो छ । एउटा बच्चालाई चार वटा थेरापी मात्र गराउने हो भने एउटा थेरापीको ८ सय देखि १५ सयसम्म लाग्छ । शनिबार बाहेक २५ दिन मात्र यो थेरापी गराउने हो भने १ लाख बढी लाग्छ । सामान्य परिवारले यो खर्च गर्न सक्ने अवस्था छैन । आर्थिक अवस्था सम्पन्न भएकाले पनि यो गर्न गाह्रो हुन्छ । यसका लागि अभिभावकहरूलाई नै थेरापी सिकाउन आवश्यक रहेको उनी बताउँछिन्। आफ्नो बच्चालाई अटिजम भएको कतिपय अभिभावकले नै स्वीकार्दैनन् । यो समस्या भएका बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सकिने भनेको ६ वर्ष मुनिसम्म मात्र हो । त्योभन्दा पछि सुधार गर्न समस्या हुन्छ । समयमै ध्यान नदिने, पछि पछुताएर आउने अभिभावक धेरै रहेको उनले बताइन् । नियमित स्कुलमा यो किसिमको समस्या भएका विद्यार्थीलाई पढाउने शिक्षक व्यवस्था छैन । सामाज र परिवारभित्रै अपहेलनामा अभिभावकले बेहोर्नुपरेको छ । छोरीहरूलाई अटिजम कम हुन्छ । सविताको प्रयास र सफलता अहिले तीन वटा विशेष स्कुल सञ्चालन गरेर विशेष शिक्षा दिरहेकी सविताले संस्थालाई यहाँसम्म पुर्याउन कम्ती समस्या झेल्नु परेन । उनलाई आजभोलि फर्केर हेर्दा अचम्म लाग्छ । सविताको घर दोलखाको बैतेश्वर ६ नाम्दु हो । गाउँबाटै एसएलसी हालको एसईई पास गरेर उनी काठमाडौं आइन् । उनी काठमाडाैं आएर पशुपति कलेजमा व्यवस्थापनको विषय पढिन् । १ वर्ष दाइको घरमा बस्दा उनलाई पछि आफ्नै कोठा लिएर बस्न मन लाग्यो । पढ्दै जोरपाटीको एउटा स्कुलमा पढाउने काम सुरु गरिन् । त्यसपछि उनी पत्रकारिता क्षेत्रमा लागिन् । पत्रकारिता छोडेर सामाजिक संस्थामा लागेको बेला एकदिन उनले एउटा बालकलाई बाँधेर राखेको देखिन् । उनले एक ८ वर्षीय बालकलाई डोरीले बाँधेर राखेको देखिन् । यो दृश्यले उनलाई धेरै रुवायो । सोचमग्न बनायो । उनले अरुसँग सोधपुछ गर्दा ती बालकलाई अटिजम भएको रहेछ । अब उनको मनमा प्रश्न उब्जिन थाले, ‘यस्ता बालबालिका कति होलान् ? कसरी जिइरहेका होलान् ? यस्ता बालबालिकाको संरक्षण तथा हेरचाह गर्ने संस्था होलान् कि नहोलान् ?’ उनले पछि त्यस्ता बालबालिकालाई आफूले संरक्षण गर्ने प्रतिज्ञा मनमनै गरिन् । र, ती बालककहाँ पुगिन् । सुरुमा अभिभावकले डोरी फुकाउन मानेनन् । तर, पछि धेरै आग्रह गर्दा ती बालकका अभिभावक डोरी फुकान तयार बने । डोरीबाट मुक्त भएपछि बालक केही खुसी देखिए । त्यसपछि उनले अब यस्तै अटिजम भएका बालबालिकाको संरक्षण गर्ने प्रतिज्ञा गरिन् । उनले अब काम छोडिन् । काम छोडेपछि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र स्थापना गरिन् । त्यसैमा समर्पित बनिन् । तिनलाई त्यो दृश्यले यो क्षेत्रमा लाग्न अभिप्रेरित गरायो । उनी त्यसपछि अटिजम भएका बालबालिकाकाे खोजिमा लागिन् । त्यसपछि सुरु गरिन् अटिजम भएका बच्चाहरूको शैक्षिक सेवा गर्न । सुरुमा ५ लाखमा सुरु गरेको यो कार्यबाट अहिले उनले ५ करोडको संरचना बनाएकी छन् ।
काँकडभिट्टाबाट स्वदेश फर्किएका विद्यार्थी भन्छन्- ‘गोली चल्दा मुटु हल्लिन्थ्यो, अब ढुक्क भइयो’
काठमाडौं । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । ‘पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।’ उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए । बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए । आज दिउँसो काँकडभिट्टा आइपुगेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन् । इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बङ्गलादेश सरकारले सुरक्षा दिएको थियो । ‘कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनु यो, कफ्र्यु लागेको अवस्थामा बङ्गलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ,’ उनले भनिन् । आज मात्रै ९ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए । केही विद्यार्थी भुटानबाट समेत आएका थिए । रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताए । काठमाडौं उनले भने, ‘एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।’ उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए । सुर्खेत घर भएका रेणुका गुरुङले बङ्गलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘आज विहान चार बजे कलेजबाट हिँडेका थियौँ । शिक्षकहरुले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।’ बङ्गलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन् । विद्यार्थीहरुले बङ्गलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्याङ्की नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् । पानीट्याङ्की नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलामलगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् । काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बङ्गलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुरेका थिए ।
आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी
काठमाडौं । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । आइतबार बिहान उनीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिबारदेखि नै कफ्र्यू आदेश जारी गरेको छ । बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ । बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरु एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् । उनले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताइन् । ‘एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएका थियौँ । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघि देखि नै आउन खोजेका थियौँ । ढाकाको कलेज हो हाम्रो, हामीलाई नोटिस आएको दिनदेखि नै धेरै नै साथी फर्किसक्नुभएको छ, हामीलाई कलेजले सेभ छ भनिरह्यो’, उनले भनिन् । त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रस्त बनेको बताए । उनीहरुले आफूहरुलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए । त्यस्तै अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले फोन गर्दा समेत बंगलादेशस्थित नेपाली दुतावासले नउठाएको बताइन् । उनले भनिन्, ‘एम्बेसीले सहयोग गरेन, गाडी पठाएन, एम्बेसीले फोन पनि उठाएन ।’ परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।