२५ वर्षअघि ११ र १२ कक्षामा फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने
NEB काठमाडौं । २५ वर्षअघि ११ र १२ कक्षामा भर्ना भएर परीक्षामा सहभागी भई फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा लिन लागेको जनाएको छ । परीक्षा दिएर फेल भएका र परीक्षामा अनुपस्थित भएकाले पनि आउँदो वैशाखमा हुने परीक्षा दिन पाउने भएका छन् । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका मौका दिइने छ । परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले मंसिर २७ गतेभित्र आफू पढेको विद्यालय मार्फत परीक्षा आवेदन दिन सक्ने भएका छन् । बोर्डका अनुसार परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नु पर्ने छ । कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नु पर्ने हुन्छ । परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।
पोखरा विश्वविद्यालयमा उपकुलपतिमा खुला प्रतिस्पर्धा, मंसिर ५ गतेसम्म दरखास्त पेश गर्नुपर्ने
काठमाडौं । पोखरा विश्वविद्यालयले रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने छ ।
११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र आइटी सिकाइँदै
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र आइटीसम्बन्धी कक्षा सञ्चालन गरिएको छ । यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी ज्ञान दिने उद्देश्यले कक्षा सञ्चालनमा ल्याइएको हो । चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी बिहानी समयमा अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङले जानकारी दिए । समन्वय समितिले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गरिरहेको उनले बताए । यहाँ पहिलो पटक नमुनाका रूपमा चिनियाँ दूतावासको सहयोगमा भाषा र कम्प्युटर शिक्षाका कक्षा सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम सफल भएमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको दूतावास कार्यालयले जनाएको छ । ‘नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा वा शुल्क तिरेर चीन जाने गरेका छन् । सोसम्बन्धी प्रारम्भिक शिक्षा दिन सुरु गरेका छौँ । यसले विद्यार्थीलाई भाषा र कम्युटर अध्ययनसम्बन्धी जानकारी दिने भएकाले यो कक्षा प्रभावकारी हुने विश्वास लिएका छौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले भने । चीन सरकारले सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजमार्फत विश्वका एक सय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरिरहेकाले साही क्रममा पहिलो पटक नुवाकोटमा कक्षा सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ । कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति सोही कलेजबाट आएका छन् । विद्यार्थीलाई अतिरिक्त कक्षासहित दिवा खाजा, आवश्यक शैक्षिक सामग्री पनि निःशुल्क उपलब्ध गराइएको छ । यहाँ कक्षा व्यवस्थापन तथा सहजीकरण ‘ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल’ नामक संस्थामार्फत भइरहेको विदुर-८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । अहिले भाषा र प्रविधि कक्षा वडाभित्रका कक्षा ११ र १२ का विद्यार्थीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको जनाउँदै रिक्त कोटामा मागअनुसार अन्य युवालाई पनि सहभागी गराइने उनले बताए । विद्यार्थी छनोट, भर्ना तथा कक्षा व्यवस्थापन वडा कार्यालयमार्फत कक्षा भइरहेको छ । यसैबीच, चीन सरकारको सहयोगमा नुवाकोटको साततले दरबार पुनःनिर्माण भइरहेको छ भने यहाँको शिक्षा, स्वास्थ्य, कृषि, सहरीकरणलगायत क्षेत्रमा चिनियाँ दूतावासमार्फत सहयोगका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।