स्कुलमा खाजा खान पाएपछि नियमित आउन थाले विद्यार्थी

फाइल फाेटाे कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो । आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’ उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । ‘कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौं’ उनले भने, ‘त्यसै अनुरुप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’ विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबा खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफुल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलब सात हजार रुपैयाँ व्यहोरिदै आएको छ । यो संगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर (फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ । दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ ।  दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए । ‘खाजा खुवाउदा विद्यार्थीलाई बस्नका लागि असहज हुदै आएकाले आगामी वर्ष आवश्यक बेन्चहरु निर्माण गर्ने योजना बनाएका छौं’ उनले भने, ‘बेन्चका लागि आवश्यक पर्ने काठका लागि सामुदायिक वन र निर्माण गर्दा लाग्ने खर्चका लागि वडा कार्यालयलाई गुहार्छौ ।’ विसं २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी १५ रुपैयाँका दरले उपलव्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नु पर्ने विद्यालयका शिक्षहरुले जनाएका छन् । विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । ‘विद्यालर्थीलाई पोषणयुक्त खाजाको व्यवस्थापनको कार्य गर्नु चुनौतिपूर्ण रहेपनि विद्यालयले गरेर देखाएको छ’ उनले भने, ‘व्यवस्थापन गरे जस्तो सुकै चुनौती भएपनि कार्य गर्न सकिदो रहेछ भन्ने उदाहरण यस विद्यालयको दिन सकिन्छ ।’ विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । ‘अनुगमन संयन्त्रले विद्यालयमा दिवा खाजाको अवस्था, ‘मेनु’ अनुसार खाजा खुवाए नखुवाएको, भान्सा सरसफाइको अबस्था लगायत बारे जानकारी लिने छ’ उनले भने, ‘मापदण्ड विपरित खाजा खुवाइएको पाइए सम्बन्धित विद्यालयलाई सचेत गर्ने र सचेत गर्दा समेत नटेरेमा नियम अनुसार कारवाही हुने छ ।’ दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ । दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनु पर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्राम सम्म उपलव्ध गराउनु पर्ने प्रावधान रहेको छ । नगरपालिकामा ६५  बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२  सामुदायिक विद्यालय छन । रासस

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् । कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् । कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् । ‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् । हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । ‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’ टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । ‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।

किन घट्दैछ पठन संस्कृति ? व्यापारी भन्छन्- नयाँ पाठक बनेकै छैनन्

काठमाडौं । रसुवाका रितेश गुरुङ एभिड रिडर (अत्यधिक बुक पढ्ने व्यक्ति ) हुन् ।  दिनभरि जति व्यस्त भए पनि  उनी पढ्नलाई रातको समय छुट्याउँछन् । हरेक वर्ष दशैंमा ट्रेकिङमा जानुका साथै पुस्तक पढ्दै आएका उनी यो वर्ष पढेरै दशैं मनाउने योजनामा छन् । ‘अहिले बाटोघाटो राम्रो छैन, ट्रेकिङ पनि गइँदैन होला,’ विकासन्यूजसँग कुरा गर्दै उनी भन्छन्, ‘म दशैंको बिदामा मात्र पढ्छु भन्ने होइन, पुस्तक जहिले पनि पढ्छु । अझ भन्ने हो भने त दशैंमा रमाइलो गर्ने हो ।’  दशैंमा पढ्न भनी उनले दुईवटा पुस्तक पनि किनिसकेका छन् । नेपाली उपन्यासभन्दा विदेशी उपन्यास पढ्न धेरै रुचाउने रितेश एक्सपेरिमेन्टल, म्याजिकल रियालिजम खालका किताब रुचाउँछन् । उनले अमेरिकन- क्यानडियन ‍राइटर रुथ ओजेकीको ‘अ टेल फर द टाइम बिइङ’ र हंगेरियन राइटर लास्ज्लाे क्राश्जनहाेर्काइको ‘अ माउन्टेन टु द नर्थ, अ लेक टु द साउथ’ पढ्ने योजना बनाएका छन् । भन्छन्, ‘मलाई पुस्तक पढ्न आदत जस्तो भइसक्यो । एउटा सकिनेबित्तिकै अर्को पुस्तक चाहिन्छ, बरु समय लगाएर पढ्छु ।’ नेपालमा खासै एक्सपेरिमेन्टल उपन्यास नभएको र भएका किताबको पनि विषयवस्तु पनि लगभग सबै उस्तै भएकाले पढ्न खासै उत्साह नलाग्ने उनको भनाइ छ । ‘मलाई विदेशी भाषामा लेखिएका किताबको अंग्रेजी अनुवाद पढ्न लाग्छ,’ रितेश थप्छन्, ‘विदेशी पुराना लेखकले लेखेका किताब नेपालमा अहिलेका लेखकहरूले पनि लेख्न सकेका छैनन् । कसैले नयाँ गर्न खोजीहाल्यो भने पनि शैली उही परम्परागत हुन्छ ।’ उनी नेपाली लेखक अझै विधवा, द्वन्द्व, बाढीपहिरो लगायतका कथामै अड्किरहेको बताउँछन् । फुर्सदिलो समय दशैंतिहारमा मीठो मसिनो खाई आफन्तहरूसँग भेटघाट गरी मनाइन्छ । यो बेला स्कुल-कलेजको लामो समय बिदा हुन्छ । विद्यार्थी वा कर्मचारीसँग फुर्सदको समय हुन्छ । यही मौकामा धेरैले पुस्तक पनि अध्ययन गर्छन् । पढ्न मन भएका तर सधै व्यस्त रहनेहरू मिलेको यो समयको सदुपयाेग गर्छन् । नेपाली र अन्य भाषाका आफूलाई मनपर्ने कथा, जीवनीलगायतका विभिन्न पुस्तकहरू नेपाली युवाहरूको रोजाइमा हुन्छन् । पुस्तक विक्रेताका अनुसार आजभोलि प्रेरणादायी किताबहरू बढी बिक्री भइरहेका हुन्छन् । विशेषगरी अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’, सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ यस्तै उपन्यास बढी बिक्री भइरहेका छन् । पुस्तक व्यवसायीहरू भने पछिल्लो समय पुस्तक किनेर पढ्ने मान्छेमा कमी आएको बताउँछन् । आजभन्दा ९, १० वर्ष पहिले जति व्यापार हुन्थ्यो, अहिले त्यो व्यापार घटेको उनीहरू बताउँछन् । छैन व्यापार काठमाडौंको भोटाहिटीमा रहेको जननी बुक्स एण्ड स्टेशनरीका सञ्चालक पृथ्वीचन्द्र सुवेदी आजभोलि पुस्तक किनेर पढ्नेहरूको जमात घटेको बताउँछन् । १५ वर्ष अगाडि पोखराबाट आएर पुस्तक पसल सञ्चालन गरिरहेका उनी कोभिडपछि यो संख्या ह्वातै घटेकाे बताउँछन् । ‘शिक्षकहरू कलेजमा विद्यार्थी छैन भन्छन्, शैक्षिक संस्था नै रित्तिन थालेको बेला पुस्तक पढ्ने को आउँछ?,’ उनी भन्छन्, ‘पढ्ने जमात विदेशतिर लाग्यो, रहेकाहरू पनि इन्टरनेटमै सर्च गर्छन् पढ्छन् । अब पुस्तककै लागि भन्दै पसलमा आउनेहरूको संख्या घट्न थाल्यो ।’ उनले पुस्तक बिक्री नहुँदा व्यापार नहुने र व्यापार नहुँदा अब भाडा तिर्नै गाह्रो भएको सुनाउँछन् । भोटाहिटीमै रहेको हेरिटेज बुक्स ट्रेडर्सका सञ्चालक बाबुराम गौतम पनि किताब किनेर पढ्नेहरूको संख्या घटेको बताउँछन् । उनी कथा उपन्यास मात्र पढ्नेको संख्या नभइ विद्यालयमै पनि किताब किनेर पढ्नेहरू कम भएको बताउँछन् । भन्छन्, ‘पहिले किताब किन्ने पढ्ने ट्रेन्ड थियो, अहिले बेसिक बुक नकिनेर, टेस्ट बुक नकिनेर गेसपेपर र सोलुसन बुक मात्र किन्छन् ।’ पहिले दशैं आउँदा बजारमा नयाँ पुस्तक के आयो भन्दै खोज्न आउनेहरूको संख्या पनि घटेको उनी बताउँछन् । मोबाइल प्रविधिको विकासले गर्दा पुस्तक पसलमा आएर किताब किन्नेहरू घटेको उनकाे भनाइ छ । ‘पहिलेदेखि किन्ने बानी लागेकाहरू अहिले पनि किन्नुहुन्छ तर, लकडाउनपछि सबै जना मोबाइलतिर लागे,’ उनी भन्छन्, ‘अहिले सबै मोबाइलमा ब्यस्त भए, अहिले नयाँ पाठक बनेको छैनन् ।’ पाठककाे राेजाइमा कस्ता बुक ? पाठकहरूको ढाँचा (प्याटर्न) परिर्वतन भएपनि धेरैजसो प्रेरणा प्रदायक कथाहरू रोजाइमा परिरहेका छन् । अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’ सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ नयाँ किताब बजारमा आएका छन् । पाँच वर्षदेखि हेरिटेज बुक्स ट्रेडर्श स्टेशनरीमा काम गर्दै आएका हेमन्त विष्ट भने अहिलेका नयाँ पुस्तकभन्दा पनि पुरानै किताब पाठकको रोजाइमा परेको बताउँछन् । अहिले पनि ‘सेतो धर्ती’, ‘इजोरिया’ ,‘फिरफिरे’, ‘समरलभ’, ‘पल्पसा क्याफे’ पुस्तकहरूको खोजी बढी हुने गरेको छ । अहिलेको मदन पुरस्कार पाएको मोहन मैनालीको ‘मुकाम रणमैदान’ भने खासै पाठकले खोजी गरेका छैनन् । हेमन्त भन्छन्, ‘पहिले राम्रो जान्थ्यो, अहिले किताब पढ्नेको क्रेज घट्यो ।’ किन घट्न थाले पाठक ? पुस्तक व्यवसायीहरूले पाठकको संख्या घटेको बताइरहेका बेला रितेश भने पढ्नेहरूको संख्या घटेको नभइ पढ्ने किताबहरू फेरिएको हुनसक्ने बताउँछन् । उनी नेपाली युवाले फरक कुराहरू पढ्न खोजेको तर नेपाली लेखकले त्यो दिन नसकेका कारण पनि संख्या घटेको हुनसक्ने बताउँछन् । उनी प्रविधिको पहुँचसँगै किताब पढ्नेहरू कम भएभन्दा पनि राम्रो बुकहरू नहुँदा पढ्नेको संख्या घटेको दाबी गर्छन् । शिक्षाविद् डा. विष्णु कार्कीको मत पनि यही छ । उनी पाठक घटेको नभइ पढ्ने विषयलाई किताबमा मात्र केन्द्रित गर्दा यसको असर देखिएको बताउँछन् । ‘आजभोलि विभिन्न प्रविधिले पढ्ने मापदण्डलाई व्यापक बनाइसक्यो, हामी अझै पुस्तकमा अल्झेका छौं,’ उनी भन्छन्, ‘पुस्तक पसलेहरूले पनि पुस्तक बिक्री नहुँदा पढ्ने बानी हरायो भनिरहेका छन । यसो होइन, सामग्री र पढ्ने माध्यम फरक भएको हो ।’ यो समस्या आउँदा दिनमा अझ थप देखिने विज्ञहरू बताउँछन् । अहिले पहिलेजस्तो छैन, समय फेरिएको छ । मान्छेको पहुँच सजिलै प्रविधिसँग पुगेको छ । विद्यार्थी पनि अहिले प्रविधिबाट प्रभावित भएकाले अब लेखकहरूले पाठकलाई बुझेर लेख्नुदिनुपर्ने उनीहरू बताउँछन् । ‘पढ्ने बानी घटेको होइन, पढ्ने माध्यम फरक भएको हो, लेखकले यसलाई आत्मसाथ गर्नुपर्‍याे, यो परिवर्तन हो,’ डा. कार्की भन्छन्, ‘विद्यार्थी वा पाठकसामु कुनै कुरा पुर्‍याउनु छ भने कसरी नयाँ माध्यमबाट दिने भन्ने सोच्नुपर्‍याे । अब पुस्तक पल्टाएर कोही बस्दैनन् ।’ उसो त अब पाठकहरू नेपाली लेखकमाथि नै प्रश्न उठाउन थालेका छन् । किन यसो भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा त अंग्रेजीको प्रभाव पनि हो, अर्को लेखकले प्रस्तुत गर्ने शैली र उनीहरूले उठान गरेका विषयवस्तु पनिले हो ।’ स्वाद नै फरक पुस्तक पसलमा नेपालीभन्दा अंग्रेजी पुस्तकहरूको खोजी बढी हुन्छ । अंग्रेजी अध्ययन गरिरहेका पाठकहरू पनि विदेशी लेखकहरूको किताबमा फरक स्वाद हुने बताउँछन् । ‘म पनि कहिलेकाहीं अध्ययन गर्छु, मलाई पनि यो महसुस हुन्छ,’ डा. कार्की भन्छन्, ‘गम्भीर रूपमा अध्ययन गर्ने मान्छेले पनि विदेशी पुस्तक खोजी-खोजी पढ्छन्, जसले फरक-फरक धारका कुराहरू दिन्छन् । नेपाली उपन्यास , कथाहरू पढ्दा स्टोरी र विषयवस्तु फरक भए पनि प्रस्तुती र लेखनशैलीमा एकै किसिमको समानता पाइन्छ ।’ विदेशी लेखकले उठान गर्ने तरिका फरक हुन्छ । उनीहरूको लेखाइ र प्रस्तुतिमा पनि फरक स्वाद हुन्छ, जसका कारण आकर्षण बढेको हो । ‘अब लेखकहरूले पनि आफूलाई भर्सटायल बनाउनुपर्‍याे, नयाँ ढंगले नयाँ विषयवस्तुहरू ल्याउनुपर्‍याे,’ उनी भन्छन्, ‘त्यही गरिबी, लोककथामा आधारित रहेर लेख्ने विषयहरू, समसामयिक कुराहरू पुरानो भयो, हाम्रा कथा उपन्यास अहिले भइरहेका टेक्नोलोजीलाई समेट्दै भविष्यमा यस्तो हुन सक्छ भनेर कल्पना गर्दै लेख्नुपर्‍याे ।’ लेखकले परिवारका झगडा विभेदका कुराहरू बोकेर हिँड्ने कुरा पुरानो भएको बताउँदै डा. कार्की लेखकहरूलाई अबको ५०, सय वर्षपछि कस्तो हुन्छ, अबको परिवार, समाज कस्तो हुन्छ भन्ने विषयमा कल्पना गरेर लेख्न सुझाव दिन्छन् ।