तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
काठमाडौं । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् । मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् । ‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् । ‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् । हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरूले पाउँछन् । डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भीमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायतलगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता थियो ।
पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन परेको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन परेका १५ जनामध्ये तीन जनाको नाम अस्वीकृत गर्दै १२ जनाको नाम स्वीकृत गरेको छ । नेपालगञ्जका प्रा.डा वेदराज केसी, लमजुङका प्रा.डा दीपकबहादुर भण्डारी, तनहुँका प्रा.डा ज्ञानेश्वर शर्मा, कास्कीका प्रा.डा विश्वराज अधिकारी, तनहुँका प्रा.डा केदारनाथ घिमिरे, कास्कीका प्रा.डा पुष्पराज शर्मा, कास्कीका प्रा.डा सरोज कोइरालाको आवेदन स्वीकृत भएको छ । यस्तै, तनहुँका प्रा.डा निर्मला जमरकट्टेल, नवलपरासीका प्रा.डा विष्णुराज तिवारी, रौतहटका प्रा.डा विनयकुमार मिश्र, गुल्मीका प्रा.डा टेकराज ज्ञवाली र तनहुँका प्रा.डा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
बसाइँसराइले विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
गलकोट । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ । नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताए । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ । बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो । ‘विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ’, उपप्रमुख शर्माले भने, ‘आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।’ शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिए । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् । बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ । विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा (लिड) विद्यालयका रुपमा अगाडि बढाएको छ । रासस