जनकपुरधामका शैक्षिक संस्था अनिश्चितकालीन बन्द रहने, शुल्कको विषयमा विवाद

जनकपुरधाम । जनकपुरधामका शैक्षिक संस्था सोमबारदेखि अनिश्चित समयका लागि बन्द भएका छन् । छात्रवृत्तिमा अध्ययनको शुल्कको विषयलाई लिएर हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरूको माग छ । सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरूले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ । ‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुन: २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने,’ तीनवटै संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भतरपुर, विराटनगर, बुटवललगायतकै स्थानजस्तै शुल्क लिन दिन कात्तिक २९ गते जनकपुरधाम उपमहानगरका नगर प्रमुखलाई अनुरोध गर्दा केही पहल नभएकोले तीनवटै संस्थासँग आवद्ध विद्यालयहरू बन्द गर्न बाध्य भएको संगठनहरूको भनाइ छ ।

राइटपथले मंसिर ३ गते ‘यूके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्ने,३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि एकै छानामुनि

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपथ करिअर काउन्सिलिङले ‘यूके ग्रान्ड एडमिसन डे’को आयोजना गर्ने भएको छ । देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपथ करिअर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो । विशेषगरी युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्षरूपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्ने आयाेजकले जनाएकाे छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए । राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौंको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौंडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तार गरी आफ्नो सेवा प्रदान गरिरहेको छ । त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई यूकेसम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिक मेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ । के के छन् आकर्षण ? – एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने – विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने – विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर – भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने – सहभागी हुने विद्यार्थीहरूका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट – अध्ययनपछि काम गर्ने अवसरहरूबारे जान्न सकिने – एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोनको व्यवस्था – सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि

कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा शिक्षा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले कम्पनी ऐनबाट सञ्चालित भएकाले विगतमा शिक्षालाई नाफाका रुपमा लगानी गर्ने गरिए पनि अब कल्याणकारी अवधारणमा अघि बढ्नुपर्ने बताएकी हुन् । उनले विद्यालय शिक्षा विधेयक त्यही अवधारणमा ल्याउन आवश्यक रहेको बताइन् । उनले आजको सन्दर्भमा शिक्षामा नाफाको लागि लगानी गर्ने कुरालाई मुलुकको संविधानले स्वीकार नगर्ने उल्लेख गरिन् । उनले शिक्षा सेवा क्षेत्र भएको भन्दै यसलाई कमोडिटीको रुपमा प्रयोग गर्न नहुने उल्लेख गरिन् । उनले शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रुपमा बोलेको बताइन् । शिक्षामन्त्री भट्टराईले शिक्षा विधेयक चाँडै अघि बढ्ने पनि बताइन् । संविधानलाई कार्यान्वयन गर्नको लागि ३ वर्षभित्र ऐन ल्याउनुपर्ने भए पनि अहिले आएर मात्रै शिक्षा ऐन ल्याउन लागेको उनको भनाइ थियो । उनले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले भनेका कुराहरु अहिले पनि सान्दर्भिक रहेकाले कार्यान्वयन गरेर जाने प्रतिबद्धता जनाइन् । उनले शिक्षा ऐन अहिलेको शिक्षा व्यवस्थालाई सुधार गर्ने गरी आएको बताइन् ।