७ वर्षदेखि तलबविहीन शिक्षक, बोरा बिछ्याएर पढ्छन् विद्यार्थी

चन्द्रपुर । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो । विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताएका छन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरे । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताए । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए । हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ । सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न छन् । साउनदेखि खाजा खुवाउन सकेको छैन पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिएका छन् । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ । सात वर्षदेखि तलबविहीन सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन् । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

एनसेलले एनपीएलको चौकाबापत २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने पक्का भएको छ । एनसेलले क्रिकेटदेखि कक्षाकोठासम्मको यस नविन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ । विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेल २६ चौका बापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छन् । त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए । ‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौ ।’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

लायन्स क्लबले डोलभन्ञ्याङ माध्यमिक विद्यालयलाई गर्‍यो २ लाख सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले धादिङको गजुरी–५, च्याङ्गलीस्थित डोलभन्ज्याङ माध्यमिक विद्यालयलाई  २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारका लागि प्रदान गरिएको यो सहयोगले विद्यालयलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यस विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलले विद्यालयलाई प्रदान गरिएको सहयोगले शैक्षिक सुधारमा ठूलो भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘विद्यार्थीहरूले उज्ज्वल भविष्य निर्माण गर्न सजिलो होस् भन्ने हाम्रो प्रयास हो ।’ लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकी अध्यक्ष कल्पना बस्नेतले विद्यालयप्रति आफ्नो क्लबको प्रतिबद्धता प्रस्ट्याउँदै भनिन्, ‘विकट क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हो । यस विद्यालयलाई प्रदान गरिएको यो सहयोगले शैक्षिक वातावरणलाई सुधार्नेछ ।’ विद्यालयका प्रधानाध्यापक अशोक कुमार घिमिरेले विद्यालयको समग्र विकासका लागि लायन्स क्लबले गरेको योगदानलाई धन्यवाद दिए । उनले भने, ‘यो सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा नयाँ उत्साह थप्नेछ। विद्यालयको भौतिक सुधारका लागि यो सहयोग अति नै आवश्यक थियो ।’ कार्यक्रमका विशेष अतिथि जोन २६ का जोन अध्यक्ष इन्जिनियर गणेश बहादुर सुनाम र लायन्स क्लब अफ काठमाडौं बिष्णुमतीका अध्यक्ष डा. रोमन बोगटीको अतिथिको रूपमा उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनका सचिव सुष्मा आचार्य र कोषाध्यक्ष निरुपमा महर्जनको सक्रिय सहभागिता रहेको थियो ।