त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले  त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९सँग सम्वन्धित प्रत्यायोजित विधायन सम्वन्धमा’ समितिमा आज भएको छलफलमा उनीहरुले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताए । सांसद नरबहादुर बिष्ट र सांसद रुक्मिणी कोइराला लगायत सांसदले अधिवक्ता चक्रमान विश्वकर्माले अध्ययन गरेको ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधानहरुको कार्यान्वयन’ प्रतिवेदनका आधारमा समितिमा पर्याप्त छलफल हुनुपर्ने बताए । अधिवक्ता विश्वकर्माको अध्ययनले ‘त्रिभुवन विश्वविद्यालयलाई आर्थिक भार पर्नेगरी कर्मचारी कल्याण कोष, औषधोपचार कोष, कर्मचारी सापटी कोषजस्ता कोषहरु विनियम बनाई स्थापना गरिएको देखिएकाले यस्ता कोषहरु विनियममा नराखी ऐनबाट व्यवस्था गर्नुपर्ने’ लगायत सुझाव दिएको छ । अध्ययन प्रतिवेदनमा ‘त्रिभुवन विश्वविद्यालयका विभिन्न पदाधिकारीहरुको पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु नियममा उल्लेख गर्नुपर्नेमा नियममा तोकिएबमोजिम उल्लेख गरी विनियमहरुमा आफ्नो पारिश्रमिक, सेवा, सर्त तथा सुविधाहरु आफैँ तोकिनु विधिसम्मत नभएकाले यस्ता विषय नियममा नै उल्लेख गर्नुपर्ने ’ भनिएको छ ।

विद्यार्थीलाई साइबर अपराध कार्यमा संलग्न नहुन अनुरोध

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौती बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्ति विचको महत्त्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगाेष्ठीमा सहभागीले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतीका सवालमा छलफल र बहस गरे । संगाेष्ठीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराध भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यावसायिकताका बारेमा कलेजका विद्यार्थीलाई सचेतना दिन संगाेष्ठी आयोजना गरिएको बताए । साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गरे । संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साइबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताए । उनले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरी सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराध बारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए । संगोष्टीमा राष्ट्रिय साइबर ब्युरोका एसपी दीपकराज अवस्थले नेपालको साइबर कानुन, साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराए । उनले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुःखद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे । कलेजका सहायक प्राचार्य मोहन ध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकिर गरे । उनले इन्टरनेटको माध्यमबाट हुने अपराध बारे विशेष गरी युवा पुस्ता विद्यार्थीले बढी जानकारी लिनुपर्नेमा जोड दिए । ईसेवाका इन्जिनियर सुदिप पाठकले निजी क्षेत्रले खास गरी रकम भुक्तानी सम्बन्धी साइबर सुरक्षा, समस्या र चुनौती तथा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिए । संगोष्टीमा साइबर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष् खनाल, लइम्पेरियलका प्रबन्ध निर्देशक सुरेन्द्र तिवारी, मेरो शिक्षाका संस्थापक अनुप उप्रेती, आइसिटी अवार्ड विजेता क्रिमसङ टेकका रुकेश दुवाल, कलेजका कम्प्युटर डिपार्टमेन्टका प्रमुख जीतबहादुर बोहरा, विद्यार्थी कल्याण समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

गाउँको सरकारी विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्न आउँछन्

बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौं ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ । यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन् । नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो । गत वर्षको तुलनामा यस वर्ष करिब ३५ विद्यार्थी कम छन् । यद्यपि चाप भने उस्तै छ । आर्थिक वर्ष २०८१/८१ मा यस विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत रहेकोमा चालु वर्ष ७१५ जना छन् । कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताए । पुस्तकालयको अभाव हुँदा बालबालिकालाई चाहे अनुसार सुविधा दिन नसकेको उनको भनाइ छ । हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष नारायणस्थानभन्दा बाहिर ठाउँबाट आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन् । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण शहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माको शहरबाट अध्ययन गर्ने बढिरहेका छन् । सहजरुपमा शिक्षण सिकाइ गर्नका लागि १५ बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्टाएर पठनपाठन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ । यस विद्यालय आव २०७६÷७७ मा नेपाल सरकारको नमुना विद्यालयमा छनोट भएको थियो । विद्यालयले बिदा कटौती गर्दा विद्यार्थी नियमित विद्यालय आउने गरेका छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए । विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको उनको भनाइ छ । विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए । उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी झोलुङ्गे पुल र यान्त्रीक पुल तरेर यहाँ पढ्न आउने गर्दछन् । पर्वत मात्र नभई पोखरा, बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिकादेखि विद्यार्थीहरु यस विद्यालयमा आउने गर्दछन् । यस विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ । अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् । शिक्षक, कर्मचारी र यस ठाउँको समुदायले विद्यालयप्रति निकै चासो दिएकाले गर्दा विद्यार्थीको आकर्षण बढेको छ । यस ठाउँबाट धेरै मानिस बसाइँसराइ गरेर बाहिर गए पनि छिमेकी गाउँहरुबाट आउने सङ्ख्या बढी हुँदा विद्यार्थीको सङ्ख्यामा कमी छैन । टाढाका विद्यार्थी ल्याउनका लागि विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ । नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८/७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ । विद्यालयले १५ वर्षअघि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको थियो । अहिले विद्यालयमा भौतिक संरचनाको अभाव रहेको छ । नमुना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत पाँच वर्षमा आउने सात करोड ५० लाख मध्ये पाँच करोड भौतिक पूर्वाधार तथा दुई करोड ५० लाख शैक्षक गुणस्तरमा खर्च गर्न थालिएको छ । विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन् । १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन् । दरबन्दी बाहेकका शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट तलब खुवाइएको अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द शर्माले बताए । विद्यार्थीमैत्री शिक्षण सिकाइ, अङ्ग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, सुविधा सम्पन्न पुस्तकालय अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण गणेश मावि देशकै नमुना विद्यालयको रूपमा स्थापित अध्यक्ष शर्मा दाबी गर्छन् । यस विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए । दूरीका हिसाबले गशेण माविमा आउन एक घण्टा बढी लाग्ने भए पनि शिक्षण सिकाइ राम्रो हुने हुँदा आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ । विद्यालयको वातावरणसमेत पढ्नका लागि निकै अनुकल रहेको सुनाउँदै परियारले यसभन्दा माथिल्लो कक्षा पनि यहीँबाटै उत्तीर्ण गर्ने बताउँछन् । बागलुङ नगरपालिकाले आगमी पौस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न थालेको छ । त्यसअघि नै यस विद्यालय बालमैत्री बनिसकेको छ । विद्यालयमा पढाइ राम्रो हुने हुँदा अन्य जिल्ला र पालिकाबाट अभिभावकले कोठा भाडामा लिएर आफ्ना छोराछोरीसमेत पढाउने गरेका छन् । रासस