शिक्षित युवाबाट खतरा देख्छन् शासक
काठमाडौं । सार्वजनिक शिक्षा सुधारको माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईं माइतीघरमा उभिएका छन् । “हामी कसैको विरोधी होइनौँ, शिक्षामा सुधार चाहने नागरिक हौँ” लेखिएको प्लेकार्ड छातिमा टाँसिएको छ । हातमा मसिनो बाँसको लट्ठी टेकेका छन् । उनी यसरी माइतीघरमा उभिएको चार दिनभयो । पुसको कठ्याङ्ग्रिदो चिसोमा एकैछिन घरबाहिर निस्कन गाह्रो हुँदा उनी भने दिनभर माइतिघरमा उभिन्छन् । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म यो चिसोमा उभिदा ज्यान सुन्निएको छ । उनी यसरी उभिएको पहिलो पटक भने होइन । यसअघि पनि उनी माइतिघरमा ११ दिन उभिएका थिए । तर त्यो बेला जेठको उखरमाउलो गर्मी थियो भने अहिले कठ्याङ्ग्रिदो चिसो । उनी आफ्ना लागि उभिएका होइनन् । उनी देशको शिक्षाको सुधारका लागि उभिएका हुन् । तर, उनको कुरा माइतिघरमा गुडिरहेका गाडी र मान्छेको चापबाट केही मिटरमात्र टाढा रहेको सिंहदरवारले सुनेको छ न देखेको छ । सातवटै प्रदेशमा पुगेर त्यहाँको शिक्षाबारे बुझ्दै हरेक दुई दिन प्रदेशमा उभिएर आन्दोलन गरेका चापागाईँ फेरि माइतीघर मण्डलमा उभिएका हुन् । संघिय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने, प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचनामा राख्नुपर्ने लगायत १५ बुँदे मागसहित उनी माइती घर मण्डलामा उभिएका हुन् । गत जेठमा ११ दिन उभिएर आन्दोलन ११ दिन उभिएर आन्दोलन गर्दा चापागाईँ र तत्कालीन शिक्षा मन्त्री सुमना श्रेष्ठबिच सहमति भएकाे थियाे । तर कार्यन्वयन भएन । तराइको मुसहर बस्तीदेखि सुदूर र कर्णालीका हिमाली जिल्ला पुग्दा त्यहाँका शिक्षकले ८ महिनादेखि तलब नपाएको भन्दै उनले सडकबाटै शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् । इसिडीका शिक्षकलाई सरकारले नै सौतेनी व्यवहार गरेको छ । तर जागिर जाने डरले तलब नपाएको गुनासो पोख्न सकेका छैनन् । ‘मैले ७ वटै प्रदेशमा पुग्दा करिब २ सय शिक्षकले ५/६ महिनादेखि तलब नपाएको भेटेँ,’ उनी भन्छन्, ‘सरकारले उनीहरूको श्रम शोषण गरिरहेको छ । किनभने उनीहरूले काम अनुसारको तलव पाएका छैनन् । त्यसमाथि समयमै तलब नपाउँदा अपमान भएको छ ।’ ‘शिक्षा समितको बैठकमा एउटा सांसदले २ हजार भत्ता पाउँछ । तर, ५२ सालदेखि काम गर्दै आएका प्रधानाध्यापकले जम्मा २ सय रुपैयाँ मात्रै भत्ता पाउँछ,’ उनले गुणस्तरीय शिक्षा कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्ना माग पुरा नभएसम्म सडकमै उभिरहने उनले बताए । इसिडी शिक्षकहरूको राष्ट्रिय सङ्गठन समिति सदस्य जयन्ती बस्नेतले इसिडीलाई विद्यालय संरचनामा नराखेको भन्दै आपत्ति जनाइन् । १० वर्षदेखि ललितपुर बालोदय आधारभूत विद्यालयमा इसिडी शिक्षकका रुपमा कार्यरत उनी आफूहरूको समय, उमेर, परिश्रम यही क्षेत्रमा खर्च हुँदा पनि सरकारले सम्मान गर्नुको साटो अपमान गरिरहेको गुनासाे गर्छिन् । ‘सबैभन्दा काम गर्न गाह्रो पनि हामीलाई छ, माथिल्लो तहको शिक्षकको हेपाइ पनि हामीले नै खानुपर्छ, सरकारले पनि हामीलाई हेप्ने गर्छ, परिवारबाट पनि कति नै तलब आउँछ र भन्छन्, जताबाट पनि पीडित हामी मात्रै छौँ,’ उनी भन्छिन्, ‘शिक्षा ऐन आएर सुनुवाइ हुने अपेक्षा गरेकाे भएपनि हालसम्म आएकाे छैन ।’ उनले अब ४० हजार इसीडी शिक्षक चुप लागेर नबस्ने बताइन् । इसिडी शिक्षलाई धेरैले प्रयोग मात्र गरेको उनकाे आराेप छ । ‘कि सरकारले इसिडी चाहिँदैन भन्दै खारेज गर्नुपर्यो, नभए हामीलाई अन्य शिक्षक सरह सम्मान र सुविधा दिनुपर्यो,’ उनी भन्छिन्,‘हामी पनि केही उमेर बाँकी छ, केही गरी खाउँला, हैन भने उपयुक्त व्यवस्था हुनुपर्छ ।’ २ वर्ष पहिले शिक्षकहरूको आन्दोलन हुँदा आफूहरूलाइ प्रयोग गरिएको बताउँदै उनी भन्छिन्, ‘ त्यो बेला पनि हामीलाई आन्दोलनमा बोलाइयो, गयौँ पनि तर सबैका समस्या समाधान भए, बाटो लागे, अन्तिममा हामी र राहात शिक्षक बस्यौँ, राहतले पनि के-के गर्यो समस्या समाधान हुन लाग्यो भन्दै उनीहरू पनि भागे, अन्तिममा हामी मात्र रह्यौँ,सबैले प्रयोग मात्रै गर्ने हाम्रो हकहितको लागि कसले बोलिदिने ?’ उनी विद्यालय बन्द गरेर गरेर आन्दोलन गर्ने हिम्मत भएपनि अभिभावकले दिएको बच्चाको जिम्मेवारी छोडेर सडकमा आउन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘अभिभावकले हाम्रो पोल्टामा राखेको बच्चाको भविष्य बिगारेर आफ्नो भविष्य बनाउन सडकमा आाउन नपरोस, सरकारले हाम्रो समस्या बुझिदेओस ।’ शिक्षक महासंघका अध्यक्ष पुस्प कुवर शिक्षालाई राम्ररी बुझ्ने शिक्षामन्त्री, प्रधानमन्त्री नभएको बताउँछन् । नयाँ सरकार बन्दा प्रत्येक शिक्षक र शिक्षाका विषयमा नयाँँ फण्डा ल्याउने गरेको भन्दै शिक्षालाई बुझन नसकेको बताए । कहिले अनुदान शिक्षक, कहिले राहात शिक्षक,कहिले स्वंमसेवक शिक्षक भनेर समस्या थप्दै जाने र समाधान नगर्ने प्रवृति धेरै अगाडि देखिको भएको भन्दै यो विषयमा जोड दिनुपर्ने बताए । अहिलेको दुई तिहाइ सरकारले चाह्यो भने यस्ता विषयमा काम गर्न सक्ने बताए । ऐक्यवद्धता नेत्र चापागाइको आन्दोलनलाई राजनीतिज्ञदेखि नागरिक अगवाहरूले ऐक्यवद्धता जनाएका छन् । उनीहरूले माइतीघरमै पुगेर नेत्रको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले अब शिक्षा क्षेत्रको सुधारका लागि फेरि आन्दोलन गर्नुपर्ने बेला आएको बताए । शिक्षा क्षेत्र सुधार्न यसको जरादेखि नै सुधार गर्नुपर्ने उनकाे भनाइ छ । भोलि राम्रो विद्यार्थी बनाउने, सानै उमेरदेखि राम्रो शिक्षाको आवश्यक पर्ने भन्दै उनले यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राजनीतिलाई सुधार नगरेसम्म अर्थतन्त्र, शिक्षा र स्वाथ्यको विकास नहुने बताए । उनी भन्छन्,‘विकासका लागि मुख्य ध्यान दिनुपर्ने क्षेत्र भनेको शिक्षा हो, जबसम्म मान्छेको आँखा खुल्दैन, ज्ञान वृद्धि हुँदैन, सिप विकास हुँदैन, विकासको जग बस्दैन,त्यसैले शिक्षाको विकास गर्न लगानी बढाउनुपर्छ ।’ आफु प्रधानमन्त्री हुँदा विभिन्न प्रयास गरेको बताउँदै त्यसपछिका सरकारले आफ्ना सबै प्रयास हटाएको आरोप लगाए । आफुले नै साक्षर अभियान चलाएको बताउँदै अहिले पनि त्यो अभियान सफल नभएको उनकाे भनाइ छ । नेपालमा २४ प्रतिशत नागिरक निरक्षर रहेकोे उनले जनाए । ‘अहिले नेपालमा दोहोरो शिक्षा नीती छ, तर यो हुनु हुँदैन,’ उनी भन्छन्, ‘शिक्षा स्वास्थ्य, हावा पानी सबैलाई बाराबरी चाहिने हो, यसमा सानो ठूलो धनी गरिब भन्ने हुँदैन, शिक्षामा माध्यामिक तहसम्मको राज्यले पुरा जिम्मेवारी लिनुपर्छ ।’ ‘जसले शिक्षामा लगानी गरेर आर्जन गरेका छन् उनीहरू सिंहदरवारमै बस्छन्, उनीहरू आफ्नो निजी स्कुल कलेजको नोक्सान हुने गरी ऐन सुधार गर्दैनन्,’ उनी भन्छन्, ‘सबैभन्दा बढी नाफा नै शिक्षा र स्वास्थ्यमा लगानी गरेकाले गरिरहेको छन्, तिनै नाफा खोरहरूबाट पैसा लिए पार्टी चल्छ, चुनावी पैसा उठ्छ उनीहरूले कसरी शिक्षा नीतिलाई सुधार्छन ।’ धनि र गरिबले पाउने शिक्षामा ठूलो खाडल रास्वपका नेता तथा पूर्व शिक्षामन्त्री शिशीर खनालले सार्वजनिक शिक्षा सुधारमा सडकमा बसेर गरेको आह्वानले शासनमा बस्नेहरूलाई गिज्याइरहेको बताए । ‘शिक्षा ज्ञान निर्माणको थलो मात्र होइन, व्यक्तिदेखि समाजको चरित्र कस्तो बनाउने भन्ने थलो हो,’ उनी भन्छन्, ‘सार्वजनिक शिक्षा कस्तो रहन्छ भन्ने कुराले समाज कस्तो छ, हामी हाम्रा राजनीतिक भाषणमा, दस्ताबेजमा समतामुलक समाजको परिकल्पनाको कुरा गर्छौ, जति समाज र त्यहाँको जनसख्या न्यायसंगत छ त्यहाँका सार्वजनिक विद्यालय राम्रो भएको देखिन्छ ।’ अमेरिकामा सार्वजनिक विद्यालयमा पढ्ने जनसंख्या झण्ढै ९० प्रतिशत रहेको उदाहरण दिदै खनालले नेपालमा सार्वजनिक विद्यालयमा पढ्ने बालबालिकाको संख्या घट्नु दुःखद लक्ष्यण भएको टिप्पणी गरे । जती शहरीकरण हुँदैछ, त्यती सार्वजनिक विद्यालय र पढ्नेहरूको संख्या घटेको उनकाे भनाइ छ । उनका अनुसार काठमाडौं महानगरकै कुरा गर्ने हो भने ७ सय विद्यालयमा ९० को हाराहारीमा मात्र सरकारी विद्यालय छन् । ‘शहरीकरणसँग नेपालको सार्वजनिक विद्यालय र विद्यार्थीको संख्या घट्दो छ, त्यसको अर्थ दुईटा समाज निर्माण हुनु हो,’ उनी भन्छन्,‘एउटा पैसा तिरेर राम्रो शिक्षा किन्न सक्छ, त्यसको परिवारले पाउने शिक्षा, अर्को आर्थिक रुपमा विपन्न, सामाजिक रुपमा पछाडि परेको वर्गले सार्वजनिक विद्यालयबाट पाउने शिक्षा, जवसम्म यि दुई शिक्षाविचको फरक हट्दैन तब सम्म अवस्था यस्तै रहन्छ ।’ नेपालमा कक्षा १ पढ्ने पाँच वर्ष समूहका झण्डै ९७ प्रतिशत विद्यार्थी स्कुल भर्ना भएको देखिन्छ । तर, माध्यामिक विद्यालय जम्मा एक तिहाइले पास गर्छन् । दुई तिहाइ विद्यार्थी बाटोमै हराउँछ्न् । यसको मुल कारण गुणस्तर हो । अहिले धेरै जसो विद्यार्थी गणितमा फेल भएको बताउँदै उनले अहिले नेपाली विद्यार्थीमा सिकाइको संकट देखिएको बताए । यो असरले दरगामी असर पर्ने बताए । उनले समाज, संरचना र सोचमा असर पर्ने बताउँदै यो कुरामा ध्यान दिनुपर्ने बताए । विवेकशिल साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले सार्वजनिक शिक्षाका विषयमा लड्दा एउटा पुस्ता बुढो भइसकेकाे र अर्को पुस्ता पनि कपाल झर्ने, दारी फुल्नेसम्म पुग्दा पनि अझै यो विषय लडिरहनु परेको बताइन् । उनले विशक्त राजनीतिका कारण यस्तो समस्या भइरहेको बताइन् । शिक्षाको मुख्य जरो प्रारम्भिक बाल शिक्षा भएको भन्दै उनले अहिलेको शिक्षा नीतिले नै यो कुरालाई स्पष्ट नपारेको बताइन् । ‘काठमाडौंमा हेर्ने हो भने धेरै निजी विद्यालय छन्, किन्डरगार्डेन, मण्टेश्वरी, डे स्कुल लगायत विभिन्न नामका स्कुलहरू छन्,’ उनी भन्छिन्, ‘ यसले जसरी अहिले बालबालिकालाई हेरिरहेका छन्, उनीहरूको मष्तिष्क विकासमा सहयोग पुर्याइरहेको छ,जसले गर्दा पछि विद्यालयमा राम्रो पढाइ गरिरहेका छन् ।’ शिक्षा राणकाल र पञ्चायतकाल जस्तै बृहत नागरिक आन्दोलनका अगुवा शिशिर उप्रेतीले नेपालको आधारभुतदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रणाली दुईवटा कुराको बहस अहिले हुनुपर्ने र भइरहेको बताए । सडकमा आन्दोलन गर्दै शिक्षाका मुद्दालाई उठाएर नजिकबाट हेरेका उनी राजनीतिमा शैक्षिकी करण हुनुपर्ने हो तर यहाँ शिक्षामा राजनीतिकरण भएको बताउँछन् । ‘जिम्मेवार नैतिक राज्यलाई बुझ्नेदेखि इमान्दार राजनीतिज्ञहरू निर्माण गर्न शिक्षाले योगदान गर्नुपर्ने हो तर, यहाँ शिक्षालाई ध्यवस्त बनाउन देशको बागडोर जिम्मा लिएका राजनीतिज्ञहरू लागि रहेका छन,’ उनी भन्छन्,‘यो बिडम्बना हो ।’ इतिहास हेर्ने हो भने १ सय ४ वर्ष राणाहरूले जनताका छोराछोरीलाई पढ्न दिएनछन् त्यसपछि ३० वर्ष पञ्चायतले पनि पढ्न दिएन, त्यसपछिका आन्दोलन पछि पनि नेताहरू खासै पढ्न दिएका छैनन् वा पढुन भन्ने चाहाना भाव भित्रैबाट भएको महसुस भएको छैन । हरेक शैक्षिक संस्थामा आधारभूत शिक्षादेखि लिएर सबकै तहको विश्वविद्यालयसम्मको शिक्षामा राजनीति हाबी भएको छ । शैक्षिक संस्थामा पढ्ने र पढाउने वाताबरण छैन । उनी भन्छन्,‘शिक्षकलाई राजनीतिज्ञ बनाएको छ, विश्वविद्यालयमा प्राध्यापकहरू कुटिन्छन्, महिनौसम्म ताला लाग्छ, आन्दोलन चलिरहन्छन्, त्यहाँ खासै पढ्न दिएको जस्तो वाताबरण देखिएन ।’ अहिलेपनि शिक्षामा राणकाल र पञ्चायतकालको भन्दा सुधार नभएको उनले बताए । उनले यसको सुधारका लागि शिक्षामा नै आमुल परिर्वतन गर्नुपर्ने र शिक्षा प्रर्णालीमा पविर्तन गर्नुपर्छ भन्दा जहिले पनि आफूहरूको ऐक्यबद्धता रहने बताए । सिंहदरबार र त्यहाँ बस्ने दोषी नागरिक पहिलो अभियानका संयोजक डम्मर खतिवडाले नेपालको राजनीतिले नै शिक्षा क्षेत्र धरासयी बनेको बताए । ‘खासमा राजनीति भनेको नागरिकको समस्या समाधानाका लागि गर्नुपर्ने हो तर दुर्भाग्य यहाँ राजनीति राजनीतिका लागि गरिन्छ,’ उनी भन्छन्,‘राज्यले आफै बेथिती र विभेद सिर्जना गरेको छ ।’ उनले यसमा सबैभन्दा ठूलो दोष सिंहदरबार र त्यहाँ बस्ने मान्छे रहेको बताए । ‘शिक्षा क्षेत्रमा थुप्रै समास्या छन्,ति स्रोतको अभावले होइन, ६० देखि ७० प्रतिशत काम नीतिगत सुधारको छ जसमै एक पैसा लाग्दैन,’उनी भन्छन्,‘यो कुरा शासकले बुझ्दैनन र बजेटको कुरा गर्छन्,केही कुरा गर्न बजेट चाहिन्छ, थप्नुपर्छ तर यहाँ विनियोजन भएको बजेट नै खर्च हुँदैन ।’ नेपालमा शिक्षामा छुट्याएको बजेट कुनै वर्ष १७ प्रतिशतसम्म खर्च हुने गरेको भएपनि अहिले झरेर १२ प्रतिशत छ । जब कि संसार भरिका लोकतान्तित्र मुलुकको अभ्यास हेर्दा शिक्षामा सबैभन्दा बढी लगानी हुन्छ ।
विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन: शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताएकी छिन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वपः अस्पतालको निरीक्षणपछि नगरपालिकाले आयोजित अन्तरक्रियामा उनले विश्वविद्यालयमा उक्त कुरा बताएकी हुन् । भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै उनले ख्वपः विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको बताइन् । मन्त्री भट्टराईले ख्वपः विश्वविद्यालयको विधेयक पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको भन्दै ख्वपः विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताइन् । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने बताउँदै ख्वपः विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वपः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिका लागि नेपाल ट्रष्ट समक्ष पटक–पटक पत्राचार गरिसकेको बताउँदै ख्वपः विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गरे । मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालय, ख्वपः कलेज, शारदा क्याम्पस मावि, ख्वपः कलेज अफ ल, ख्वपः अस्पताल, ख्वपः बहुप्राविधिक अध्ययन संस्थान, ख्वपः इञ्जिनियरिङ कलेज र ख्वपः कलेज अफ इञ्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी सङ्ख्या र भौतिक अवस्थाबारे जानकारी लिएकी छिन् ।
सकसका बीच पनि ५ हजार विद्यार्थीलाई पढाइरहेको टेक्सास, पढ्दै कमाउने रणनीति
काठमाडौं । काठमाडौंको सिफलमा रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी उपत्यकामा रहेको एक शैक्षिक संस्था हो । यो कलेज सन् २०१० मा स्थापना भएको हो । सुरुमा प्लस टुबाट सञ्चालनमा आएको यो कलेजमा अहिले मन्टेश्वरीदेखि स्कुल, स्नातक र स्नातकाेत्तरसम्म पढाइ हुन्छ । अहिले चारवटा फरक-फरक स्थानमा विद्यालय र कलेज सञ्चालनमा छन् । मन्टेश्वरी छुट्टै ब्लक, स्कुल, प्लस टु छुटै ब्लकमा सञ्चालन छ भने त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गरेका कार्यक्रम र लिङ्कन विश्वविद्यालयको कार्यक्रम छुट्टै ब्लकबाट सञ्चालन भइरहेको छ । यस्तै, टेक्सास कलेज आफ म्यानेजमेन्ट आईटी अर्को कार्यक्रम छ । टेक्सास इनटरनेसनल नेटवर्कअन्तर्गत सञ्चालनमा आएको यो कलेजले विशेष गरी प्रविधि, व्यवस्थापन र होटल लगायतका विषयमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । स्नातकमा ११ र स्नातकोत्तर ५ वटा कार्यक्रम यो कलेजले स्नातक र स्नातकोत्तरमा व्यवस्थापन र आइटीका विभिन्न ११ कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्नातकोत्तरमा ५ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । कोर म्यानेजमेन्टमा बीबीए, एमबीए, बीबीएस, बीबीएम, एमबीबीएस जस्ता कक्षाहरू सञ्चालन भइरहेका छन् । हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गत बीएचएम एम बिएचएम र आईटी सेक्टरमा त्रिभुवन विश्वविद्यालयको आवद्धतामा बीएससीआइटी र बीसीए, बीबीए, एमबीएम, बीबीएस, बीए, बीएसडब्ल्यू र स्नातकोत्तरमा एमबीएस कार्यक्रम सञ्चालन गरेको छ । यस्तै, लिंकन विश्वविद्यालयको आवद्धतामा स्नातकमा बीआइटी, बीएससी, साइबर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी, बीएचएम, बीबीए, एमबीए, एमबीएएचएम, एमबीएएचआर कार्यक्रम छन् । यी सबै कार्यक्रममा कोटाअनुसार विद्यार्थीको सङ्ख्या पुरा भएको दाबी कलेजको छ । कार्यक्रममा सीट सङ्ख्याअनुसार विद्यार्थी भए पनि यसमा सन्तुष्ट हुने अवस्था भने नरहेको कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ बताउँछन् । स्नातकमा विद्यार्थीको सङ्ख्या पुरा भए पनि मास्टर्समा भने कोटाअनुसार विद्यार्थीको सङ्ख्या छैन । एमबीएसमा ८० जनाको सिटमा ३० जना मात्र भर्ना भएका छन् । एमबीएमा ८० जनामा ३२ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीको अवस्था अहिले टेक्सासमा स्कुल र कलेज गरी ३ सयभन्दा बढी शिक्षकहरू कार्यरत छन् । प्राचार्य श्रेष्ठका अनुसार करिब २ सय विद्यार्थी मन्टेश्वरीमा छन् भने विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यस्तै, प्लस टुमा २ हजार विद्यार्थी छन् भने २ हजार बढी स्नातक र स्नातकाेत्तर तहमा अध्ययनरत छन् । यो सङ्ख्या हेर्ने हो भने असन्तुष्ट हुनुपर्ने अवस्था छैन । तर, जति संरचना छ त्यसअनुसार भने विद्यार्थी नभएको कलेजले जनाएको छ । तर, अभिभावक, विद्यार्थीको साथले तत्काल विकल्प नै सोच्नुपर्ने अवस्था नरहेको प्राचार्य श्रेष्ठ बताउँछन् । स्कुल तहदेखि मास्टर्ससम्मको पढाइ हुने संस्था भएकाले विद्यार्थी पाउन त्यति समस्या नभएको उनी बताउँछन् । ‘हामीसँग मन्टेश्वरी पढ्ने विद्यार्थी ब्याचलर्ससम्म यहीं पढ्छन्, त्यसैले पनि विद्यार्थी कम हुँदैनन्,’ उनी भन्छन्, ‘तर पहिलेको जस्तो हुँदैन, स्कुल र प्लस टुसम्म विद्यार्थी पाउन सहज भएपनि ब्याचलर्स र मास्टर्समा भने अहिले केही समस्या हुन थालेको छ । चुनौतीसँग जुधे पनि कलेज नै बन्द गर्नुपर्ने अथवा तत्काल विकल्प सोच्नुपर्ने अवस्थामा नपुगेको प्राचार्य श्रेष्ठ सुनाउँछन् । उनी भन्छन्, ‘असर परेको छ, तर यो ट्रेण्डलाई नरोक्ने हो भने कलेजलाई मात्र होइन, देशलाई समेत असर पर्ने छ ।’ टेक्सासमा मन्टेश्वरीदेखि भर्ना भएका धेरैजसो विद्यार्थी मास्टर्ससम्म पनि त्यही कलेज पढ्छन् । कतिपय विद्यार्थीहरू अहिले त्यही स्कुलमा शिक्षक भएर काम गरिरहेका छन् । यो आफ्नो लागि खुसीको कुरा भएको उनको भनाइ छ । ‘हामीले सिकाएको बच्चा, यही स्कुल हुँदै कलेज पढेर मास्टर्स गरेर अहिले फ्याकल्टीको रूपमा शिक्षक भएका छन्, हामीसँगै हातेमालो गरेका छन् । योभन्दा खुसीको कुरा अरू के हुन्छ ?,’ उनले थपे । लगानी धेरै, आम्दानी कम अन्य क्षेत्रजस्तो थोरै लगानीमा सुरु गर्न सकिने शिक्षा क्षेत्र होइन । यहाँ अरबौंको लगानी आवश्यक पर्छ । टेक्सासले पनि त्यही अनुसारको लगानी गरेको छ । तर लगानी अनुसारको प्रतिफल पाउन निकै गाह्रो छ । पहिले यस्तो अवस्था नभएपनि तत्कालको अवस्थामा समस्या रहेको सञ्चालकहरू बताउँछन् । प्राचार्य श्रेष्ठ आफै पनि टेक्सासका लगानीकर्ता हुन् । उनी अहिले कलेजको शैक्षिक व्यवसाय चूनौतीपूर्ण रहेको बताउँछन् । सामान्य स्कुल चलाउँदा पनि चार, पाँच करोडभन्दा बढी नै खर्च लाग्छ । जग्गा पनि किनेर लगानी गर्नुपर्छ । काठमाडौंभित्रको कुरा गर्दा ४०/५० करोड जग्गामा मात्र पर्छ । ठाउँअनुसार त्योभन्दा महँगो पनि पर्न सक्छ । बिल्डिङको कुरा गर्दा निर्माण गर्न ८/१० करोड बढी लाग्छ । एउटा सामान्य स्कुलतह मात्र चलाउँदा पनि ४० करोड जग्गामा र १० करोड भवन निर्माणमा राख्ने हो भने ५० करोड जान्छ । प्राचार्य श्याम सुन्दर श्रेष्ठ । ५० करोडको बैंकको ब्याजमात्र ५० लाख हुन्छ । ‘शिक्षा सञ्चालन गर्न मात्र यो खर्च लाग्छ भने कल्पना गर्न सकिन्छ,’ प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसरी लगानी गरिएको शैक्षिक संस्थाले विद्यार्थी नै पाउने हो भने लगानी उठाउनसमेत कतिपय लगानीकर्तालाई समस्या परिरहेको छ, कतिपय साथीभाइहरूको गुनासो यस्तै छ ।’ अहिले निकै धेरै संस्थालाई ब्याज पनि आउने अवस्थामा छैन । ‘सयमा १ देखि २ प्रतिशत शैक्षिक संस्थालाई राम्रै भएको होला नभए अधिकांशको अवस्था उस्तै छ,’ उनी भन्छन्, ‘अहिलेको परिस्थिति यति चुनौतीपूर्ण हुँदै गएको छ कि कतिपय सञ्चालकहरूलाई ब्याज तिर्न मुस्किल परेको अवस्था छ, धेरै शैक्षिक संस्था यो पीडाबाट गुज्रिरहेका छन् ।’ अहिले बैंकहरूमा तरलता निकै उच्च छ । आउनुहोस् हामी लोन दिन तयार छौंभन्दा पनि धेरै मान्छे ऋण लिन गइरहेको अवस्था छैन । लगानी गरेअनुसार त्यसको रिटर्न के हुन्छ, सेक्युरिटी के हुन्छ भन्ने कुरा सोच्नुपर्छ । अझ दुई-चार अक्षर पढेका मान्छेले यो विषयमा बढी सोच्नुपर्छ । उनी भन्छन्, ‘ज्ञानकै कारण पनि यस्तो कुरा सोच्न बाध्य हुन्छौं, तर विद्यार्थीलाई न्याय गर्न पनि त्यो जोखिम लिँदै अगाडि बढ्दै गरेको अवस्था हो ।’ ६५ प्रतिशत भाडाको भवन र जग्गामा संरचना शिक्षा क्षेत्रमा १५ वर्षदेखि सेवा दिँदै आएको टेक्सास कलेजको आफ्नै संरचना छैन । अहिले पनि ६५ प्रतिशत जग्गा र संरचना लिजमा छ । त्यसमध्ये ३५ प्रतिशतमात्र विद्यालयको जग्गा र भवन रहेको छ । प्राचार्य श्रेष्ठ अहिलेकै अवस्थाबाट सबै संरचना कलेजको आफ्नै भवनमा सञ्चालनमा आउन समस्या रहेको बताउँछन् । कलेज विभिन्न ठाउँमा छरिएर रहेको छ । कतिपय ठाउँमा आफ्नै जग्गा र आफ्नै भवनमा छ भने कतिपय लिजमा लिएको संरचनामा निर्माण भइरहेको छ । उसो त यो कलेजसँग पर्याप्तमात्रामा खेल मैदान पनि अभाव छ । विद्यालय वा कलेज जहाँ पनि विद्यार्थीलाई खेल्ने, रमाउने ठाउँ आवश्यक हुन्छ । तर यो सुविधा टेक्सासँग पनि छैन । बरु संरचना अभावले फेरि नयाँ भवन निर्माणको तयारी भइरहेको छ । प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसका लागि जति ठाउँ भए पनि नपुग्ने रहेछ, हामीसँग विद्यार्थीका लागि चाहिने केही खेलमैदान छन् तर पर्याप्त भने छैन । यो क्षेत्रमा लाग्दा हामी सपना देखेर लागेका हौं, उद्देश्य पनि छ, यो सपनालाई विपनामा परिणत गर्ने योजनाहरू पनि छन् । तर चाहँदाचाँहदै पनि कहिले नहुने, कहिले रोकिनुपर्ने अवस्था छ ।’ पढ्दै कमाउँदै अहिले नेपाली शिक्षा क्षेत्रमा बहस हुने अर्को कुरा हो- विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवस्था भएन । जसकारण विद्यार्थी विदेसिन थालेका छन् । टेक्सास कलेजले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवसर दिएको प्राचार्य श्रेष्ठ बताउँछन् । उनी आफू पनि पढ्दै, पढाउँदै यो ठाउँमा पुगेको बताउँदै नेपालमा पनि गर्न चाहने विद्यार्थीका लागि प्रशस्त ठाउँ रहेको बताउँछन् । उनी अन्य देशभन्दा नेपालमा पढ्न, काम गर्न विद्यार्थीका लागि निक सहज रहेको बताउँछन् । शैक्षिक गतिविधिको क्रममा श्रेष्ठ विभिन्न देश पुगेका छन् । त्यहाँको भ्रमण गरिरहदा उनी त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीसँग भेटघाट गर्छन् । उनले केही समय पहिले अष्ट्रेलिया पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूसँग पनि कुरा गरे । तर उनीहरूको अवस्था देखेर दुःख लागेको बताए । ‘विदेशमा सहज छैन, मैले यस्तोसम्म विद्यार्थी देखेको छु, हप्ता दिनसम्म पुग्ने खाना पकाएर फ्रिजमा राखेर काम गर्छन्, खाने समय नहुँदा बाटैमा खाना खानुपर्ने अवस्था छ,’ उनले भने । उनी विदेश सोचेजस्तो नरहेको भन्दै नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन गर्न आग्रह गर्छन् । फेसबुकमा राखेको फोटो, टिकटकमा राखिएको भिडियोजस्तो सहज नभएको भन्दै उनी उनीहरूले भोगेको कुरा सेयर गर्न नचाहेर यस्ता कुरा बाहिर नआउँदा पनि नेपाली विद्यार्थीले यथार्थ थाहा नपाइ विदेश लागेको उनको बुझाइ छ । आवश्यकताअनुसार छात्रवृत्ति सरकारले निजी क्षेत्रका कलेजलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न भनेको छ । टेक्सास कलेज १० प्रतिशतभन्दा बढी विद्यार्थीलाई कलेजले नि:शुल्क अध्ययन गराइरहेको प्राचार्य श्रेष्ठको दावी छ । मानौं हामी कहाँ कुनै विद्यार्थी पढ्दै छ, यहीबीचमा त्यो परिवारको बुवा अर्थात् उनलाई पढाउन खर्च गर्ने सदस्यको निधन भयो भने हामीले बच्चालाई अब पैसा तिर्न सक्दैन भनेर विद्यालयबाट निकाल्ने अवस्था हुँदैन । अहिले टेक्सासमा यस्ता घटना भएका धेरै विद्यार्थी छन्, जो अहिले अध्ययन गरिरहेका छन् । ‘हामीले यस्ता बच्चालाई ब्याचलर्समात्र होइन, मास्टर्ससम्मै पढाएका छौं । जुन १० प्रतिशत छ, यो त नि:शुल्क गर्छौ । त्योभन्दा बाहेक अन्य निकाय पनि हामीसँग ठोकिएका हुन्छन, कसैले अनुरोध गर्छन्, हामीले त्यस्ता विद्यार्थीलाई पनि स्कुल कलेजमा अध्ययन गराउँछौं, ’ उनले भने । कलेज सञ्चालनमा आएको १५ वर्षमा पैसाको अभावले एक जना पनि परीक्षाबाट वञ्चित भएको अवस्था छैन । तर, निजी कलेजको कुरा गर्दा आयस्रोतको बाटो नै विद्यार्थीले तिर्ने शुल्क नै हो । सरकार र निजी क्षेत्रकाे सहकार्य आवश्यक प्राचार्य श्रेष्ठ विभिन्न समस्या बीचमा रहेको देश पनि शिक्षा, स्वास्थ्यमा अगाडि बढेको बताउँदै भगवानले उपहार दिएको नेपालको अवस्था यस्तो हुनु दुःखद रहेको बताउँछन् । यो विषयमा जब सरकारले कुरा बुझ्दैन तबसम्म यस्तै समस्या रहने उनको दाबी छ । ‘सरकार र निजी क्षेत्र एक अर्काका सहयात्री हुन्,सँगै गुड्नुपर्छ,’ उनी थप्छन्, ‘जबसम्म यी दुबै क्षेत्र सँगै अघि बढ्दैनन् तबसम्म अवस्था यस्तै रहने छ ।’ टोयोटा गाडीका कारण अहिले जापान कुन ठाउँ पुगेको छ, टाटा गाडीको कम्पनीले भारतका लाखौं मान्छेले रोजगार पाएका छन्, हुण्डाईका कारण साउथन एसियामा लाखौं मान्छेले सेवा पाइरहेका छन् । यस्ता उदाहरण थुप्रै छन् । निजी कम्पनीले राष्ट्रका लागि योगदान पुर्याएका छन् । जुन ठाउँमा सरकार पुग्न सकेको हुँदैन, त्यो ठाउँमा निजी क्षेत्रले आफ्नो मिहिनेत खर्चेर रोजगार सिर्जना गरेको छ । यस्तै यो टेक्सास कलेजमा पनि ३ सय बढी व्यक्तिले रोजगार पाएका छन् । तर सरकारी तवरबाट निजी क्षेत्रलाई अगाडि बढ्ने त्यो किसिमको वातावरण सिर्जना गरेको पाइँदैन । ‘जुन दिनसम्म हामीले राम्रो सेवा दिन्छौं, त्यो दिनसम्म हामी टिक्छौं, जुन दिन गुणस्तर सेवा दिन सक्दैनौं, त्यो दिन हामी आफै सिद्धिन्छौं । यसकारण निजी क्षेत्रले आफ्नो तर्फबाट जहिले बेस्ट दिने प्रयास गरिरहन्छ,’ उनी भन्छन् ।