त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए । त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । ‘अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्’, परीक्षा नियन्त्रक जोशीले भने । यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउनेसमेत बताए । ‘अब विद्यार्थीले सबै प्रमाणपत्रको फाराम भर्नेदेखि प्रमाण लिनेसम्मका कामकै लागि काठमाडौं आउनु पर्दैन’, उनले भने । अनलाइनमार्फत फाराम प्राप्त भएपछि विद्यार्थीलाई पायक पर्ने क्षेत्रीय कार्यालयमा प्रमाणपत्र पठाउने छौँ ।’ पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत सुरु भइसकेको छ । अब विस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।
रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘विज्ञान प्रदर्शनी तथा साहित्य मेला’ आयोजना गर्दै
काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘विज्ञान प्रदर्शनी तथा साहित्य मेला’ आयोजना गर्ने भएको छ । फागुन १ गते बिहीबारदेखि सुरु हुने साहित्य मेला ३ गतेसम्म चाबहिलस्थित कलेजको प्राङ्गणमा गरिने कलेजले जनाएको छ । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको यस संस्थाले पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्ने तयारी गरेको जनाएको हो । विद्यार्थीहरूमा विज्ञान र सूचना प्रविधिको खोज, अनुसन्धान र अवलोकन विधिलाई अवलम्बन गरी उनीहरूलाई निरन्तर रूपमा अभ्यस्त बनाउने उद्देश्यले कार्यक्रम गरेको विद्यालयले जनाएको छ । यस प्रदर्शनीले करिब ५ हजार विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा राखेको स्कुलका प्राचार्य रविन्द्रजंग थापाले बताए । उनका अनुसार प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि गरी जम्मा ४९ प्रदर्शनी तथा स्टलहरू रहने छ भने विद्यालय स्तरीय विज्ञान प्रदर्शनीहरू समेत रहने छन् । त्यसका साथै आर्ट, पेन्टिङ, होटल मेनेजमेन्ट, फेस पेन्टिङ, फुड स्टल र बुक स्टल पनि राखिने छ । मेलामा उपन्यासकारहरू अमर न्यौपाने र उद्धव प्याकुरेलसँग साक्षात्कार गरिने जनाइएकाे छ । साथै समापन समारोहमा पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमहरू समेत हुने स्कुलले जनाएको छ ।