प्रकृति लम्साल प्रकरण : भारतबाट फर्किएका विद्यार्थीले कैदीको भेषमा यसरी सुनाए घटनाको फेहरिस्त

काठमाडौं । फेब्रुअरी १६ तारिखको कुरा हो । कलेजमा एउटा कार्यक्रम चलिरहेको थियो । दिउँसो तीन/साढे तीन बजे आसपासमा नेपाली विद्यार्थीले आत्महत्या गरेको भन्ने हैल्ला विश्वविद्यालयभर फैलियो । त्यसपछि सबै नेपाली विद्यार्थी जम्मा भयौं । बुझ्दै जाँदा प्रकृति लम्सालले आत्महत्या गरेको भन्ने कुरा सुनियो । एक महिना अगाडि प्रकृतिले प्रशासनमा उजुरी दिएको कुरा थाहा भयो । हालसम्म पनि प्रशासनले कुनै एक्सन किन नलिएको भन्ने विषयमा हामीले प्रशासनसँग प्रश्न राख्यौं । तर, विश्वविद्यालयले यो विषयमा कुनै चासो दिएन । हामी आईआरओ अफिस गयौं । यता मृतकसँगै होस्टेलमा बस्ने छात्रालाई कोठामा थुनेर राखिएको थियो । हामी पहिले त्यहाँ गयौं । त्यहाँ जाँदा रातको १२ बजिसकेका थियो । हामी होस्टेल अगाडि बसेर न्याय मागिरहेको बेला विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक सबै आए । हामीले आफ्नो माग सुनायौं । त्यसपछि आत्महत्या गरिएको भनिएकी छात्राको ल्यापटप र मोबाइल नभेटिएकाे कुरा आयो । छात्रा साथीहरूले मोबाइल र ल्यापटप वार्डेनसँग रहेको बताए । उनीहरूलाई सोध्दा प्रहरीसँग छ भनियो, प्रहरीसँग सोध्दा हामीसँग छैन भनियो । त्यसपछि हामीले उपकुलपतिलाई फोन र ल्यापटपको कुरा देखाएर यो केश प्रहरीलाई बुझाइ दिएपछि हामी जान्छौं भन्यौं । उनले पनि सहमति जनाएका थिए । त्यही बेला एक जना महिला आएर प्रहरीसँगै त्यो कोठामा गएर फोन र ल्यापटप छ या छैन भनेर हेर्न गइन । यतिबेलासम्म राति २ बजिसकेको थियो । ती महिला आइनन् । उहाँलाई आउन नदिएपछि यहाँ केही न केही भएको छ भन्ने हामीलाई झन् शङ्का लाग्यो । हामी त्यही बसेर आफ्नो मागमा अडिग भयौं । त्योबेलासम्म बिहानको ५ बजिसकेको थियो । फाउण्डर सर आएर हामीलाई आन्दोलन नगर, यस्ता घटनाहरू भइरहन्छन्, दुई दिनमा सेलाएर जान्छन्, यो घटना हामी आफ्नो तरिकाले मिलाइहाल्छौं भन्ने तरिकाले कुरा गर्नुभयो । उहाँको बोली सुन्दा झन् शङ्का भयाे । हामी त्यहाँबाट फिर्ता भएनौं । हामीले माग यथावत राख्यौं । फाउण्डरको कुरा नमान्दा खोइ के भएको रातिसम्म शालीन भएर कुरा गरिरहेका शिक्षकहरू अचानक आक्रोशित भए । उनीहरू नै प्रहरीलाई बोलाएर लाठीचार्ज गर्न लगाए । हामीले शान्तिपूर्ण रूपमा माग गरिरहँदा कसरी प्रहरी आएर लाठीचार्ज गर्‍याे  भन्ने कुरा अचम्म लाग्यो । प्रहरीमात्र होइन, हामीलाई त्यहाँको सेक्युरिटी गार्डले समेत कुट्न थाले । रातभर नसुतेर बसेका हामी भोकभोकै थियौं । कोही साथी दुई घण्टा आराम गरेर आउनुपर्‍याे भन्दै होस्टेल गएका थिए । हामी केही व्यक्तिमात्रै थियौं । त्यहीबेला हामीमाथि एक्कासि आक्रमण भयो । त्यसपछि हामी भागेर होस्टेलमा जान बाध्य भयौं । हामीमाथि यता आक्रमण भइराख्दा उता केटी साथीहरू बसेको होस्टेलमा गएर उनीहरूलाई पनि टर्चर गर्न सुरु भएको थियो । ‘तिमीहरू आफ्नो देश फर्क’ भनेर उनीहरूलाई जबरजस्ती कोठाबाट तानिँदै थियो । जुन दुई जना शिक्षिकाले छात्राहरूलाई गाली गर्दै देशको बजेटसँग विश्वविद्यालयको आर्थिक कुरा जाडेको भिडियो आएको थियो, त्याे बिहान ५/६ बजेतिरको भिडियो हो । कुनैपनि देशमा कुनैपनि विद्यार्थीमाथि यस्तो जबरजस्ती गर्न मिल्दैन । तर, त्यहाँ हाम्रा केटी साथीहरूलाई तथानाम गाली गरेर होस्टेलबाट जबरजस्ती निकालियो । यता हाम्रो केटाको होस्टेलमा हामी रातभर सुतेका थिएनौं, थकित थियौं । होस्टेल छोड्न सूचना आउँदा हामीलाई डराउन गरिएको होला, निकाला गरिहाल्ने नहोला भन्ने लागेको थियो । एकास्सि ओडिसा प्रहरीसँगै ठूल्ठूलो ज्यान भएका गुण्डाजस्तै देखिने व्यक्ति होस्टेलमा आए । सँगै गाडी पनि ल्याएका थिए । हामीलाई कोठा ढकढक्याउँदै नेपाली हो भन्दै कोठाभित्रबाट तान्न थालियो । जसलाई देख्यो उनीहरू छोप्दै गाडीमा राख्दै गर्न थालियो । माहोल यस्तो बनिसकेको थियो कि नेपाली हो भन्नेबित्तिकै पिट्दै छोप्दै गाडीमा राख्ने गरियो । गाली गर्दै त आफ्नो देश जाओ भन्दै कोठाबाट जबरजस्ती निकाल्यो । भिडियो बनाइरहेका साथीहरूको मोबाइल नै फुटाइदियो । हामीलाई यसरी कुटे कि अब त्यो भोगाइ र दृश्यको बयान नै गर्न सक्दैनौं । गाडीमा राखिएकाहरूलाई पनि सबैलाई एकै ठाउँ छोडेनन् । कसैलाई कुनै ठाउँ कसैलाई कुनै फरक फरक ठाउँमा लिएर छोडिदियो । सेक्युरिटी गार्ड, जिम ट्रेनर अनि प्रहरी कुट्न त्यत्तिकै आउँदैनन् । प्रशासनले नै हामीमाथि गुण्डा लगाएको हो । हामीलाई यसरी कुट्दै बीच सडकमा ल्याउने शिक्षक, डिन लगायतका कर्मचारीमाथि अहिले पनि कारवाही भएको छैन । कलेजका ४०/५० जनाले हामीमाथि हातपात गरेका छन् । तर, कारवाही गरियो भनेर तीन/चार जनाको नाम मात्र आएको छ । हामी नेपाल आएको सबै विद्यार्थी नेपालमै छौं । तर, हाम्रो सरकारले भनिरहेको छ, घटना मिलिसक्यो । विश्वविद्यालयले माफी मागिसक्यो भन्ने कुरा अहिले बाहिर आइरहेको छ । हाम्रो प्रश्न सरकारलाई हामी कुटाइ खाएर खेदिएका विद्यार्थी नेपालमै बसेका छौं । तपाईंहरूले घटना कसरी मिलाउनुभयो ? हामीले आफ्नो कुरा सुनाउन पाएको आज हो । हामीलाई कसैले तपाईंहरूलाई के गरियो ? कस्तो पीडा सहनुभयो ? भनेर समेत सोधिएको छैन अनि कसरी कुरा मिल्यो ? हामीलाई त बीच सडकमा आउँदा यस्तो समस्या भयो । हाम्रा केटी साथीहरूलाई कस्तो समस्या भयो होला ! हातमा एक पैसा नहुँदा थाहा नभएको ठाउँमा ल्याएर छोड्दाको पीडा हामीलाई थाहा छ । जोसँग पैसा थियो टिकट पाउन सक्यौं, हामी फर्केर आयौं, अरू साथीहरू अहिले पनि त्रासमा त्यहीं बसिरहनुभएको छ । कतिपय साथीहरूको हातमा फोन छैन, पैसा छैन, उहाँहरू अहिले कस्तो अवस्थामा हुनुहुन्छ हामीलाई पनि थाहा छैन । हाम्रो शरीरमा कुटपिटको पीडामात्र होइन, मानसिक समस्या पनि उस्तै छ । लात हानेर निकालेका हामीलाई अहिले आउभन्दा सजिलै जान सकिने अवस्था छैन । हामीमाथि जोजसले हात उठायो, जसले हात उठाउन निर्देशन दियो, उहाँहरू सबैलाई कारवाही गर्नुपर्छ । जसले लातले हान्दै तिमीहरूको देश फर्क भन्दै पठायो अहिले फेरि उसैलै आइजा भनेर जान सकिने अवस्था छैन । जबसम्म ओडिसा सरकार, विश्वविद्यालय र नेपाल सरकारबीच कानुनी रूपमा सम्झौता हुँदैन, तबसम्म हामी त्यहाँ गएर अध्ययन गर्न सक्दैनौं । हामीले आज यसरी मास्क लगाएर, आफ्नो अनुहार छोपेर, आफ्नो पहिचान लुकाएर आफूमाथि भएको पीडा सुनाउनुको कारण पनि यही हो । हामीले फेरि भोलि त्यही विश्वविद्यालयमा गएर कुटाइ खानु नपरोस् । (भारतबाट फर्किएका नेपाली विद्यार्थीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै राखेको भनाइलाई जस्ताको त्यस्तै सम्प्रेषण गरिएको छ ।)

केआईआईटीबाट नेपाल फर्किएका विद्यार्थीलाई पढाउन पूर्वाञ्चल विश्वविद्यालय तयार

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय भारतबाट फर्केका विद्यार्थीलाई पढाउन तयार भएको छ । भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी दिएको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियाले उनीहरूलाई पढाउन आफूहरू तयार रहेको बताए । यो विषयमा शिक्षा मन्त्रायसँग कुरा गरिसकेको बताउँदै उनले विद्यार्थीलाई भारत फर्केर त्यही कलेजमा पढ्न असहज  भएको खण्डमा पूर्वाञ्चल विश्वविद्यालय ती विद्यार्थीलाई भर्ना लिने बताए । विकासन्युजसँग कुरा गर्दै थपलियाले भने, ‘धेरै विद्यार्थी  स्वदेश फर्किएको सुनेका छौं, अब उनीहरू भारत जाने कि नजाने भन्ने विषयमा दुविधामा छन्,  नेपालमै पढ्न इच्छुक भए हामी पढाउन तयार छौं, यसका लागि विद्यार्थीले शिक्षा मन्त्रालयसँग समन्वय गर्नुपर्छ, हाम्रो पनि कुरा भइसकेको छ ।’ हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल तोयनारायण पौडेलले नेपालमै पढ्न चाहने विद्यार्थीलाई सिट उपलब्ध गराउन सकिने बताए । उनले वीरगञ्जमा दुई सय बढी विद्यार्थी अन्योलमा बसिरहेको बताउँदै उनीहरूले नेपालमै पढ्न चाहे भर्ना लिन तयार रहेको धारणा राखे । उनले भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थीले पढिरहेका ९५ प्रतिशत विषय आफ्नै कलेजमा रहेको बताउँदै नेपालमा पढ्न खोज्दा पनि कुनै समस्या नहुने बताए । ‘भारत र नेपालको पाठ्यक्रम प्राय: हुने एउटै हो,’ पाैडेल भन्छन्, ‘नेपालमै पढ्न चाहने हो भने हामी दुवै देशको पाठ्यक्रम राखेर पढाउँछौं, पढिसकेको विषयलाई पढाइराख्न परेन, बाँकी रहेको कोर्सलाई हामी यहीं पढाउन सक्छाैं ।’ विद्यार्थीका गुनासाे सुनेर निर्णय लिइने  शिक्षा मन्त्रालयललाई भने कति नेपाली विद्यार्थी स्वदेश फर्किए भन्ने समेत जानकारी छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा नेपाल फर्किएका विद्यार्थीको हकमा के गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्ने बताउँछन् ।  शिक्षा मन्त्रालयले यसका लागि सहायता कक्षा राखेको बताउँदै सापकोटाले त्यसमा आएका गुनासाे अनुसार मन्त्रालयले निर्णय गर्ने बताए । ‘हामीले हेल्प डेस्क राखेका छौं, नेपाल फर्किएका विद्यार्थीले त्यसमा गुनासाे राख्न सक्छन्,’ उनी भन्छन्,  ‘त्यसमा आएका गुनासाे र केआईआईटीको पछिल्लो अवस्थाबारे छलफल गरेर के गर्ने भन्ने विषयमा छलफल गरिसकेपछि निर्णय लिन्छाैं ।’ विभिन्न नाकाबाट करिब तीन सय नेपाली विद्यार्थी फर्किएकाे बुझिएको छ । कलेज प्रशासनले गरेको दुर्व्यवहारले पढ्ने वातावरण नमिलेको भन्दै उनीहरू स्वदेश फर्किएका हुन् । होस्टेलबाट गलत्याएर बीच सडकमा पुर्‍याइका विद्यार्थी  पूर्वी नेपालका विभिन्न नाका हुँदै नेपाल फर्केका हुन् । नेपाली विद्यार्थी प्रकृतिको मृत्युपछि उत्पन्न भएको विवादले नेपाली विद्यार्थीमाथि हातपात भएको थियो । होस्टेलमा बसिरहेका विद्यार्थीलाई रातारात गाडीमा हालेर बीच सडकमा छोडिदिएको घटनाले कलेज प्रशासनप्रति चौतर्फी आलोचना भइरहेकाे छ। नेपाल र भारत दुवै देशबाट आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेर अवस्था सहज भइसकेको भन्दै नेपाली विद्यार्थीलाई भारत फर्किन आग्रह गरेको छ ।  नेपाल फर्किएका विद्यार्थीहरूको शिक्षा के हुन्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक नै चिन्तित बनेका छन् । उनीहरूले अहिले पनि अवस्था ठीक नभएको भन्दै तत्काल फर्किन नसक्ने अवस्था रहेको बताएका छन् ।

मदन भण्डारी विश्वविद्यालयमा जम्मा १५ जना मात्रै विद्यार्थी

काठमाडौं । छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् । पछिल्लोपटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै १ हजार ५ सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ तर नेपालमा सञ्चालित विश्वविद्यालयमध्ये केहीमा भने मुस्किलले ५ सय विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार राजर्षिजनक विश्वविद्यालयमा जम्मा ५२७ जना मात्रै विद्यार्थी छन् । अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा १५ जना मात्रै विद्यार्थी पढ्छन् । यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन् । आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा १ हजार ६३४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा १ हजार ८३२ जना विद्यार्थी अध्ययनरत छन् । प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै छ । यहाँका विश्वविद्यालयमा समयमा पढाइ नसकिनु, परीक्षा भए पनि नतिजा समयमा नआउनु तथा समयको माग अनुसार पाठ्यक्रममा परिवर्तन नहुनु जस्ता कारणले विद्यार्थीलाई आकर्षित गरेर टिकाउन नसकिएको शिक्षाविद्को भनाइ छ ।आजको गारखापत्रबाट साभार