लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचले सीइओ कँडेललाई गर्यो सम्मान
काठमाडौं । लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा द कँडेल ग्रुपका ग्रुप सीइओ राजन कँडेल सम्मानित भएका छन् । सीइओ कँडेललाई लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा एक समारोहबीच शिक्षामा उनको योगदानका लागि सम्मान गरिएको हो । पूर्व छात्रहरुको सम्मानमा आयोजित उक्त समारोहले बेलायत, नेपाल, युएई र क्यानडाका विभिन्न समुदायमा शिक्षालाई पहुँचयोग्य बनाउन कँडेलले गरेको योगदानको कदर गरेको थियो । ग्रीनवीच विश्वविद्यालयको ऐतिहासिक क्याम्पसमा भएको कार्यक्रममा उपकुलपति प्रोफेसर जेन ह्यारिङ्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरेकी थिइन् । सम्मान ग्रहण गर्दै कँडेलले आफ्नो शैक्षिक जग बसाल्न र शिक्षा क्षेत्रमा आफ्नो यात्रालाई प्रेरणा दिएकोमा ग्रीनवीच विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गरेका थिए । सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिङमा बीएससी (अनर्स) हासिल गरेका कँडेलले शिक्षामा करियर निर्माण गरेका छन् । सन् २०११ मा उनले ब्रिटिश कलेज काठमाडौं स्थापना गरे जुन नेपालको उच्चशिक्षा प्रदान गर्ने प्रमुख शैक्षिक संस्थानमध्ये एक मानिन्छ र यो अहिले अन्तर्राष्ट्रिय रूपमा विस्तार भएको छ। २५ वर्ष अघि नेपालबाट ऋण लिएर लन्डन पुगेका कँडेलको अहिले ५ वटा देशमा व्यवसाय छन् । उनी अमेरिकासहित अन्य देशमा समेत आफ्नो व्यवसाय विस्तार गर्ने तयारीमा जुटिरहेका छन् ।
प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट सम्पन्न
काठमाडौं । ललितपुर धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट कलेज परिसरमा फागुन १० गतेसम्पन्न भएको छ । टुर्नामेन्टमा काठमाडौं उपत्यकाका ४ बिएससी सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए । प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्टमा सहभागी महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले प्रथम फ्रेन्डली टुर्नामेन्टको ट्रफी पाएका थिए । पुरस्कार वितरण समारोहमा सहभागी कलेजका सम्पूर्ण खेलाडीहरुको प्रतिभा र रुचिलाई कदर गर्दै प्रमाणपत्रद्वारा समेत सम्मान गरिएको थियो । डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार टुर्नामेन्टको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्वद्धन गर्नु रहेको थियो । कलेजले जारी गरेको बिज्ञप्ति अनुसार यस फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरुमा काठमाडौं उपत्यकाका सम्पूर्ण बिएससी सीएसआइटी कलेजहरूलाई समेट्ने योजना रहेको छ ।
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छन् । नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए । कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ । मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् । सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ । जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ । नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन् । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ । सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ । लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उनीहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताउनुभयो । सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ । ‘एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ’, स्थानीय फुर्वा शेर्पाले भने । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् । रासस