शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै चितवन स्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।  कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।  प्रमुख केसीले भने, ‘शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।’ गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए । गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ । 

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घट्यो, कमिसनमा कुरा नमिल्दा गोदाममै थन्किए

काठमाडौं । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । बिक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो । निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न बिक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्ला स्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिटेडको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरव बाबु पन्तले बताए । उनका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।  स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिक सत्र सुरु हुने गर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन । जनक शिक्षाले पुस्तक बिक्रेतालाई जिल्ला अनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् ।