नियमित र पुरक गरी ७ हजार विद्यार्थीले दिएनन् एसईई
काठमाडौं । जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा फारम भरेका पाँच हजार विद्यार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले फर्म भरेका करिब पाँच हजार विद्यार्थीले परीक्षा नदिएको जनाएको छ । चैत्र ७ गतेदेखि सुरु भएको एसईई परीक्षाका लागि पाँच लाख १४ हजार ७१ जनाले फारम भरेर प्रवेशपत्र लिएका थिए । फारम भरेका नियमिततर्फका २ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी नभएको परीक्षा नियन्त्रक नन्दलाल जोशीले बताए । यस्तै, पूरक परीक्षाका लागि फारम भरेका सबै जसो विषयमा ११ प्रतिशत विद्यार्थी अनुपस्थित रहेको पाइएको छ । जोशीका अनुसार पूरकका लागि फारम भरेका ७६ हजार ८६ विद्यार्थी मध्ये करिब ११ प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । नियमित र पूरक गरी करिब ७ हजार विद्यार्थी फारम भरेर प्रवेशपत्र लिएर पनि अनुपस्थित भएको जोशीले जानकारी दिए । उनका अनुसार यो तथ्याङ्क ७७ वटै जिल्लाबाट आएको पहिलो दिनको तथ्याङ्क हो । उनले यस्ता विद्यार्थी कुनै बाध्यतामा परी परीक्षामा सहभागी नभएको हुनसक्ने बताए । ‘कतिपय पारिवारिक कारण सहभागी हुन सक्नुभएन होला, कतिपयलाई व्यक्तिगत कारण पर्यो होला,’ उनी भन्छन्, ‘कतिपयलाई पढ्ने मनै नभएर पनि हुनसक्छ, कतिपय रोजगारीका लागि विदेश जाँदा पनि यस्तो भएको हुनसक्छ ।’ २ जना निष्कासित एसईई दिने दुईजना विद्यार्थी निष्कासनमा परेका छन् । सुनसरी र रूपन्देहीमा गरी दुइजना परीक्षार्थीलाई निष्कासित गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार सुनसरीमा कार्यालय सहयोगी बनेर परीक्षा दिइरहेका एकजना र रूपन्देहीमा नक्कली विद्यार्थी गरी दुईजनालाई निष्कासित गरिएको हो । २० जना निरीक्षक केन्द्राध्यक्षको कारबाहीमा सामान्यतया शान्तीपूर्ण रुपमा अहिले एसईई परीक्षा भइरहेपनि छिटफुट रूपमा विभिन्न गतिविधि पनि भएको बोर्डले जनाएको छ । यो बीचमा ह्वाट्सएप ग्रुप बनाएर विद्यार्थीहरूलाई चिट चोराउने, परीक्षा भइरहेको ठाउँमा चिट चोराउने लगायतका गतिविधि पनि भएका छन् । यसरी चिट चोराउनेहरूलाई पक्राउ गरिएको नियन्त्रक जोशीले बताए । उनले विभिन्न परीक्षा केन्द्रहरूबाट ७८ मोबाइल जफत गरिएको बताए । यस्तै, परीक्षालाई अमर्यादित बनाउन सहयोग गर्ने ३ जना केन्द्राध्यक्षलाई पनि कारबाही भएको छ । सप्तरीमा दुईजना र सुनसरीमा १ जना गरी तीन जना केन्द्राध्यक्षलाई कारवाही गरिएको हो । यस्तै, विभिन्न ठाउँमा गरी २० जना निरीक्षकहरूलाई निकालिएको छ । एसईईमा खुलेआम चिट चोराउने, माेबाइल प्रयोग गर्ने नक्कली विद्यार्थी राखेर परीक्षा दिन लगाउनेजस्ता अमर्यादित कार्यहरू गरेको पाइएको परीक्षा नियन्त्रक जोशीले बताए ।
काठमाडौं टेक्निकल स्कूल: किताबको भारी बोक्नु पर्दैन, ३ घण्टाको परीक्षा दिनु नपर्ने
काठमाडौं । आजभोलि शिक्षा र सीपका विषयमा बजारमा धेरै बहस हुन्छ । किताब भित्रका कुरा घोकाउन मात्र नेपालको शिक्षा केन्द्रित भएको गुनासो आइरहेका बेला बजारमा प्राविधिक शिक्षालयहरू सञ्चालनमा आइरहेका छन् । यसैमध्येको एक हो, काठमाडौं टेक्निकल स्कूल (केटीएस) । जुन काठमाडौंको सुकेधारामा अवस्थित छ । हामी स्कूल भन्नेबित्तिकै सामान्यतः किताबको भारी बोकेर पढ्न जाने बुझ्छौं । आखिर हो पनि । नेपालमा नेपालीले लिने शिक्षा भनेको किताब बोकेर पढ्न जाने नै हो । अझ भनौं वर्षभरि पढेर तीन घण्टाको परीक्षा दिएर विद्यार्थीको मूल्यांकन हुन्छ । तर यो स्कूल भने यस्ता खालका स्कूलभन्दा बिल्कुल फरक हो । यहाँ न नर्सरी, यूकेजी पढाइ हुन्छ । न त १० पढेर एसईई परीक्षा दिनुपर्छ । यो त्यस्तो स्कूल हो, जसले सीपयुक्त दक्ष जनशक्ति अर्थात कामदार उत्पादन गर्छ । कुनै पनि काम गर्न अथवा जागिर खोज्न वा पाउन व्यक्ति पढेलेखेको मात्र भएर पुग्दैन । साथमा सर्टिफिकेट भएको तर हातमा सीप नभएको युवाले अब जागिर पाउँदैनन् । हातमा सर्टिफिकेट पनि भएको साथै हातमा सीप पनि भएको एउटा दक्ष कामदार उत्पादन गर्नु यो केटीएसको उद्देश्य हो । व्यक्तिको आफ्नो रुचि चाहना भएको विषयमा उसले कुनै पनि सीप अब नेपालमै सिक्न सक्छ । नेपाली बजार अथवा विश्व बजारमा सीपयुक्त शक्ति उत्पादन गर्ने लक्ष्यका साथ आजभन्दा दुई वर्ष पहिलेदेखि सुरु भएको यो स्कूलको उद्घाटन मंगलबार भएको छ । काठमाडौंको सुकेधारा चोकबाट करिब पाँच मिनेटको पैदलमा पुगिन्छ, केटीएस अर्थात काठमाडौं टेक्निकल स्कुल । जहाँ स-सानादेखि ठूला पाँचवटा भवन छन् । भर्खरै निर्माण गरिएका यी भवनमा विद्यार्थीहरू आफूले चाहेको सीप सिक्न सक्छन् । यहाँ भएका पूर्वाधार, उपकरणदेखि लर्निङ मेट्रियलहरू पनि त्यही खालका छन् । कक्षाकोठा पनि प्रविधिसहितका आधुनिक डिजाइनका छन् । ‘जबसम्म पूर्वाधार राम्रो हुँदैन, राम्रो सिकाइको वातावरण हुँदैन, वातावरण नबनेसम्म विद्यार्थीहरू खुसी भएर सिक्दैनन्,’ यो मान्यताले पनि हामीले पूर्वाधारमा विशेष जोड दिएका छौं र सोही अनुसार पूर्वाधार तयार पारेका छौं,’ स्कूलका अध्यक्ष मनोज शर्मा पौडेलले भने । अन्य स्कूलभन्दा फरक केटीएस नेपालमा रहेका अन्य स्कूलभन्दा फरक रहेको छ । अन्य स्कूलमा पाठ्यक्रममा भएको कुराको सिकाइ हुन्छ भने यहाँ त्यसको अभ्यास हुन्छ । किनकि यो सिकाइ रोजगारीसँग जोडिएको छ । बजारसँग जोडिएको विषय भएकाले यो विद्यालयले कोर्सको डिजाइन पनि सोहीअनुसार निर्माण गरेको स्कुलका अध्यक्ष पौडेलले जानकारी दिए । यो स्कुलले नेपालको परिवेशअनुसार पाठ्यक्रम निर्धारण गरेको छ । एक हप्तादेखि ६ महिनासम्मका तालिमको डिजाइन भइरहेको छ । सीप पाइसकेको जनशक्तिलाई बजारमा कसरी जोड्ने, रोजगारीका ठाउँहरू के-के छन् ? भन्ने विषयमा यो स्कुलको मुख्य भूमिका र जोड हुन्छ । सरकारले १० वर्षमा १० सीपयुक्त जनशक्ति तयार पार्ने महत्वकाक्षी लक्ष्य राखेको छ त्यसमा कम्तीमा पनि १० प्रतिशत योगदान दिने योजना बनाएको छ । यस्ता छन् कोर्स केटीएसले हाल हस्पिटालिटी, केयर गिभिङका तालीम सञ्चालन गरिरहेको छ । हस्पिटालिटीअन्तर्गत कुलिनरी आर्ट्स, वारिष्ठा, बार ट्रेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गरिरहेको छ । यस्तै, केयर गिभिङअन्तर्गत जेष्ठ नागरिकहरूको हेरचाह र नर्सिङ होममा गरिने कामका लागि सीप सिकाइरहेको छ । औपचारिक रूपमा मंगलबारदेखि उद्घाटन भएपनि यो स्कूलले दुई वर्षको अवधिमा ४ सय दक्ष युवा उत्पादन गरी बजारमा पठाइसकेको छ । तीमध्ये कतिपय युवाहरू विदेशमा काम गरिरहेका छन् भने कतिपयले स्वदेशमै रोजगार पाइरहेका छन् । यहाँ तीन महिना, ६ महिनादेखि एक वर्षसम्मका कोर्सहरू उपलब्ध छन् । यो स्कुलले नेपालमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)का कोर्ष सञ्चालन गरिरहेको छ भने युकेको सीटी एण्ड गिल्ट्स र अस्ट्रेलियाको सीआईबीटीसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरी सीप सिकाइरहेको छ । नेपाली उद्योगसँगै मिलेर विभिन्न कोर्सहरू तयार गरिने स्कुलले जनाएको छ । यस्ता विद्यार्थीले पाउँछन् पढ्न कुनै पनि कोर्स अथवा शिक्षा लिन निश्चित क्राइटेरिया छुट्याइएको हुन्छ । यो स्कूलमा सीप सिक्न आउने युवाहरूको शैक्षिक योग्यता कस्तो र कतिसम्मको हुनुपर्छ भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन्, ‘यो कोर्सअनुसार निर्धारण गरिएको छ । कतिपय सीपको लागि बेसिक योग्यता चाहिन्छ भने कतिपय कोर्सका लागि साक्षरसम्म भए मात्र पनि पुग्छ । यस्तै, कतिपय कोर्सको लागि भने न्यूनतम कक्षा १२ पास गरेको वा ब्याचलर्ससम्म पास भएको विद्यार्थी हुनुपर्छ । अहिले यो स्कूलमा १० जना शिक्षक छन् भने अरू विशेष तालिमका दिन विभिन्न कम्पनीबाट मान्छे बोलाएर सिकाइन्छ । आफ्नै विद्यार्थी पनि शिक्षक छन् । पहिलो ब्याचमा पढेका कतिपय विद्यार्थीहरू पनि अहिले आफै ट्रेनर बनेका छन् । केयर गिभिङमा आकर्षण नेपाली युवाहरूको आकर्षण केयर गिभिङमा बढिरहेको छ । इजरायल, जापान, अष्ट्रेलियालगायतका विभिन्न देशमा राम्रो तलवमा काम पाइने भएकाले युवाको आकर्षण यतातिर बढेको स्कूलका अध्यक्ष पौडेलले जानकारी दिए । विदेशमात्र नभए नेपालमै पनि काम पाइने र केयर गिभिङ नै सञ्चालन गर्ने मनसायले यो सीप सिक्न युवाहरू आकर्षण रहेको उनले बताए । यसका लागि सीटीईभीटीले तयार पारेको कोर्सहरू नै राम्रो रहेको उनले बताए । यसै कोर्सलाई स्तरीकरण गर्न बाहिरको कोर्स पनि यसमा समावेश गरिएको छ । उनी भन्छन्, ‘सीटीईभीटीको कोर्स राम्रो भएपनि ग्लोबल्ली रूपमा बाहिरको कोर्स बढी प्राथमिकतामा पर्दो रहेछ, त्यसैले यो कोर्समा हामीले छोटो छोटो कोर्स बाहिरको पनि समावेश गरेका छौं ।’ केटीएस खुल्नुको उद्देश्य यो स्कुलको मुख्य उद्देश्य नेपाली युवाहरूलाई सीप सिकाएर विश्व बजारमा काम गर्न सक्ने बनाउनु हो । यसका लागि यो स्कुलले विभिन्न रोजगारदाताहरूसँग सहकार्य गरेको छ । हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका कम्पनीहरू साझेदारी गरी उनीहरूलाई चाहिने जनशक्ति स्कूलले उत्पादन गर्नेछ । नेपालमा प्रत्येक वर्ष पाँच लाखभन्दा बढी युवाहरू रोजगारको लागि बजारमा जान्छन् । तीमध्ये सबैभन्दा धेरै नेपाली देश बाहिर जान्छन् । नेपालमै केही गर्न खोज्नेहरूसँग पनि सीप हुँदैन । सीप नसिकेर विदेश गएकाहरू न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यतामा छन् । अध्यक्ष पौडेल यो स्कुलले यो समस्याको अन्त्य गरी बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने बताए । ‘बजारमा रोजगारका अवसर धेरै छन् । तर रोजगारदाताले जसलाई खोजिरहेको छ त्यस्ता कामदार बजारमा भेटिँदैनन्,’ उनी भन्छन्, ‘उपयुक्त जनशक्ति नपाउँदा रोजगारदाताले खोजे जस्तो कामदार पाइरहेको छैन । अब हाम्रो उद्देश्य, नेपालमा उत्पादन भइरहेको जनशक्तिलाई सीपयुक्त बनाइ बजारसँग जोड्ने ल्याउने हो ।’ उनी नेपालमा युवाहरूलाई सीप सिकाउन विभिन्न प्रयास भइरहे पनी यो पर्याप्त नभएको बताउँछन् । ‘अहिले कुनैपनि युवाले कोर्स सकिसकेपछि भोलिपल्टै रोजगारीमा जोडिन सक्ने खालको सीप पाइरहेका छैनन् । यस्तो अवस्थामा अब नीजि क्षेत्रबाटै यसको सुरुवात गर्नुपर्छ भन्ने हिसाबले यो स्कूलको सुरुवात गरिएको हो,’ अध्यक्ष पौडेलले भने । योजना हस्पिटालिटी र केयर गिभिङबाट सुरु गरेको कोर्सलाइ बिस्तारै प्रविधि, इलेक्ट्रोनिक भेहिकल लगायतका इनोभेटिभ क्षेत्रमा पनि जनशक्ति तयार पार्ने अध्यक्ष पौडेल बताउँछन् । यो स्कूलले प्रत्येक वर्ष १० हजार विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा सुरु भएको यो स्कुलमा विद्यार्थीको आकर्षण बढे सातवटै प्रदेशका मुख्य सहरमा पनि सञ्चालन गर्न सकिने उनले बताए। उनी यसका लागि भौतिक संरचना निर्माण गरेरभन्दा पनी डिजिटल माध्यमबाट युवाहरूलाई सीप दिन सकिने बताउँछन् । ‘पहिलो वर्षमा १० हजारको टार्गेट राखेका छौं, विस्तारै यो संख्यालाई बढाउँदै लान सकिन्छ,’ अध्यक्ष पौडेल भन्छन्, ‘यसका लागि हामी विदेशबाट काम गरे फर्केका युवाहरूलाई पनि सीप सिकाउन सक्छौं, काम गरिरहेकाहरूलाई पनि सीप सिकाउने हाम्रो योजना छ ।’ १० करोडको लगानीमा स्थापना केटीएस १० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ । आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा स्कूल सञ्चालनमा ल्याइएको हो
‘दक्ष जनशक्तिको आवश्यकता र महत्त्वलाई दृष्टिगत गर्दै आइएमई ग्रूप शिक्षा क्षेत्रमा प्रवेश गरेको हो’
काठमाडौं । आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ । आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि हामीले सहयोग गरेका छौं । आज उद्घाटन गरिएको यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको छ । यस स्कूलले थप हजारौं युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा यहाँहरूमा जानकारी गराउन चाहन्छु । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ । नेपालको परिप्रेक्षमा व्यक्तिगत तथा पारिवारिक समृद्धिका साथै देशको विकासमा दक्ष जनशक्तिको आवश्यकता र महत्त्वलाई दृष्टिगत गर्दै आइएमई ग्रूपले यस क्षेत्रमा कदम चालेको हो । आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्यका साथ हामीले यो पहल लिएका हौं । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ । आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिलेजस्तो विश्वविद्यालयको डिग्री लिनै पर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरूले प्राविधिक शिक्षा पढ्ने अवस्था अहिले छैन । अझ अघिल्लो पुस्तासम्म त नेपालमा विद्यालय तहको पढाइमा राम्रो नतिजा हासिल गर्न नसक्नेले मात्र प्राविधिक शिक्षा वा तालिम लिने सोंच थियो जुन कतिपयमा अद्यपि कायम छ । तर अहिले आफूलाई दक्ष र अब्बल साबित गर्न मात्र होइन आफूले चाहेको क्षेत्रमा जागिर पाउन वा आफ्नै व्यवसाय थाल्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बनेको हामीले देखेका छौं । अभिभावक र विद्यार्थीहरू स्वत:स्फूर्तरूपमा यसतर्फ आकर्षित भइरहेका छन् । अबको शिक्षाको मोडल पनि यस्तै बन्नुपर्छ । विद्यालय तहको अनिवार्य शिक्षा हासिल गरिसकेपछि प्राविधिक विषयको अध्ययन वा तालिम सक्ने, अनि रोजगार वा स्वरोजगार बन्दै अन्य प्राज्ञिक विषयको अध्ययन अघि बढाउने । त्यसैले सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्छ । विश्वका अनेक मुलुकहरु र हाम्रा छिमकी भारत र चीनले इनोभेसन, उत्पादकत्व र आर्थिक वृद्धिलाई टेवा दिनका लागि सीपमूलक क्षिक्षाको उच्च उपयोग गरेको देखिन्छ । इञ्जिनियरिङ, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, होटल तथा पर्यटन, कृषि वा अन्य धेरै क्षेत्रमा प्राविधिक ज्ञानले उद्योगलाई आकार दिन र समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा पनि सरकारले राष्ट्र निर्माण तथा आर्थिक उन्नतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको कुरालाई आत्मसाथ गरेको देखिन्छ । सीपमूलक शिक्षा तथा व्यावसायिक प्रशिक्षणलाई प्रवद्र्धन गर्न विभिन्न नीति तथा पहलहरु थालिएका छन् । यस्ता नीति तथा अभियानलाई सार्थक बनाउनका लागि नेपालमा उचित मूल्यमा गुणस्तरीय शिक्षा र प्रशिक्षण प्रदान गर्न सक्ने शिक्षालयहरुको आवश्यकता छ । सीटीईभीटीमा मात्र सिमित प्राविधिक तथा व्यावसायिक शिक्षामा अहिले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुको समेत प्रवेश भइसकेको छ । यसबाट पनि यसको महत्व र गाम्भीर्यता पुष्टि हुन्छ । अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति के हो ? भनेर सोध्यो भने यहाँहरुमध्ये अकिांशले सेकेन्ड पनि खेर नफाली जवाफ दिनुहुनेछ – बेरोजगारी तथा युवा शक्तिको पलायन । त्यसो भए हाम्रा युवाहरु किन यसरी देश छाडिरहेका छन् ? के यो उनीहरुको रहर हो ? परिवारबाट बिछोडिएर अनि देश र समाजबाट टाढिएर विरानो मुलुकमा बस्ने ? हामी सबैलाई थाहा छ, यो उनीहरुको बाध्यता हो । हो केही संख्यामा युवाहरु विदेशिनु पर्छ । नयाँ नयाँ विषयहरुको अध्ययन गरी ज्ञान यहाँ भित्र्याउनु पर्छ । नयाँ रोजगारी तथा सीपका अवसरहरु भित्र्याउनुपर्छ । तर सकीनसकी रिनधन गरेर थ्रीडी भनिने डर्टी, डेन्जरस र डिमिनिङ काम गर्न अर्काको देशमा जानुपर्ने अवस्था पक्कै पनि सन्तोषको कुरा होइन । पछिल्ला तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ र नवीकरण गरी ७ लाख १४ हजारभन्दा बढीले श्रम स्विकृति लिएका छन् । त्यस्तै अनौपचारिक माध्यमबाट विदेशमा काम गर्न जाने नेपालको संख्या पनि उल्लेख्य छ । त्यसको अर्थ हो, एक दिनमा झण्डै २ हजार नेपालीले कामकै लागि मुलुक छाडिरहेका छन् । विदेशमा पढ्न र तालिम लिन जानेको संख्या पनि तिब्र गतिमा बढिरहेको छ । यो चिन्ताजनक अवस्था हो । तर मलाई लाग्छ, अझ बढी चिन्ताको अवस्था हामीसँग विद्यमान छ । त्यो भनेको के हो भने विदेशमा काम गर्न स्वीकृति लिनेमध्ये १ लाख ४५ हजार अदक्ष र ५ लाख ३२ हजार सामान्य सीप भएका छन् । यस्ता सीपविहीन वा सामान्य सीप भएका कामदारले पाउने तलब वा सुविधा ज्यादै कम हुने गरेको छ । उनीहरुले गर्ने काम पनि सहज हुँदैन । सात लाख भन्दा बढी नेपाली विदेशमा रोजगारी गर्न गएकोमा जम्मा ७ सय ३२ उच्च सीप भएका र २ हजार ७ सय ७२ प्रोफेशनल छन् । वैदेशिक रोजगारमा रहेको एक नेपालीले एक वर्षमा पठाउने रेमिट्यान्सको रकम भन्दा फिलिपिन्सको व्यक्तिले झण्डै चार गुणा बढी रहेको तथ्याङ्कले देखाउँछ । यी तथ्यांकले पनि यहाँ सीप विकासको आवश्यकता कति ठूलो रहेछ भन्ने प्रष्ट पार्छ । स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो । सीपसहित मात्र नेपालीलाई आन्तरिक रोजगारी तथा वैदेशिक रोजगारमा संलग्न हुने कानुनी प्रबन्ध गरेमा काठमाडौँ टेक्निकल स्कुल जस्ता प्राविधिक सीप दिने थप विद्यालयहरु देशैभरि खुल्ने अवस्था हुन्छ । जसरी प्राज्ञिक ज्ञानको तहगत सर्टिफिकेट हुन्छ । त्यसैगरी, प्राविधिक ज्ञान, सीपको पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता हुने गरी सीप परीक्षण मार्फत प्रमाणीकरण गर्न सहियो र निजी क्षेत्रले आन्तरिक रोजगारमा जनशक्ति लिँदा उक्त प्रमाणपत्र लाई आधार मान्ने र वैदेशिक रोजगारमा जाने व्यक्तिलाई पनि उक्त प्रमाण पत्रले आफ्नो दक्षता अनुसारको काम पाउने सुनिश्चितता हुन्छ । हो, रोजगारका सबै क्षेत्रमा स्किल सर्टिफिकेट एकै पटक अनिवार्य गर्न सकिदैन । तर कुनै कुनै निश्चित रोजगारीका क्षेत्र जस्तै हस्पिटालिटी, निर्माण क्षेत्रबाट तुरुन्तै सुरुवात गर्न सकिन्छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाको पनि सीप परीक्षण गरी सर्टिफिकेट दिने व्यवस्था गर्न सकेमा त्यस सर्टिफिकेटले देश भित्रै सीप अनुसारको रोजगारी खोज्ने वा स्वरोजगार बन्ने पाटो समेत खुल्नेछ । यस केटीएसको माध्यमबाट हामीले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौं जसले उनीहरुलाई केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ । सीपले युक्त कुशल व्यक्तिहरुले मात्र आफ्नै व्यवसाय स्थापना र सञ्चालन गर्न सक्छन् । स्थानीय अर्थतन्त्रको विकासमा योगदान दिन सक्छन् । राष्ट्रिय विकासलाई गति दिन सक्छन् । जब युवाहरु नेपालमै रहन्छन् तव त्यसले परिवार, समाज र समुदायको विकासमा सकारात्मक प्रभाव पार्नेछ । साथै, राष्ट्रिय पहिचानलाई मजबुत बनाउने छ । आर्थिक अवस्था राम्रो भएको परिवारको स्वास्थ्य र शिक्षा पनि राम्रो हुन्छ । त्यसले समाजमै खुशीयाली सिर्जना गर्छ । त्यसैले केटीएसले कर्मचारी मात्र होइन, उद्यमी सिर्जना गर्ने लक्ष्य लिएको छ । आतिथ्य, प्राविधिक सेवा र एज केयरजस्ता उच्च माग भएका उद्योगहरुमा केन्द्रित पाठ्यक्रमहरुको सहयोगमा हामीले हाम्रा ग्रयाजुएटहरुलाई उच्च आय दिने दीर्घकालीन करियरका लागि तयार गरिरहेका छौं। उनीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन केटीएसले स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको छ । आफ्नो क्षेत्रमा सफल बनेका व्यक्तिहरुले यहाँ ज्ञान बाँड्नेछन् । यहाँको पाठ्यक्रम अहिलेको समयको बजारको मागलाई सम्बोधन गर्ने गरी तयार गरिएको पनि म जानकारी गराउन चाहन्छु । अन्त्यमा, शिक्षा प्रगतिको आधार हो भने प्राविधिक शिक्षा आर्थिक र सामाजिक परिवर्तनको इञ्जिन हो । काठमाडौं टेक्निकल स्कुल त्यही परिवर्तनको संवाहक बन्न चाहन्छ । (काठमाडौं टेक्निकल स्कुल (केटीएस)को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राखेको मन्तव्य)