हेलमेटधारीले निम्तिएको अराजक आन्दोलन, शिक्षक र प्रहरीको आ-आफ्नै विश्लेषण

काठमाडौं । सधैंझैं आइतबार पनि शिक्षकहरूको आन्दोलन शान्तिपूर्ण रूपमा चलिरहेको थियो । शिक्षकहरू आ-आफ्नै शैलीमा नारा-जुलुस गर्दै माइतीघरबाट अघि बढिरहेका थिए ।  आज २६औं दिनमा बिजुली बजारबाट अघि बढ्दै नयाँ बानेश्वरसम्म शिक्षकहरूको र्‍याली पुग्दै थियो । शिक्षकहरूको अग्रभागमा स्वयंसेवक थिए । पछाडि शिक्षकहरू थिए ।  शान्तिपूर्णरूपमा नारा लगाउँदै हिँडिरहेका शिक्षकहरूको तर्फबाट एक्कासि प्रहरीमाथि ढुंगामुढा प्रहार भयो । हेलमेट लगाएका मान्छेबाट प्रहरीमाथि ढुंगामुढा बज्रिँदा प्रहरीले पनि पानीको फोहोरा फाल्नुका साथै लाठीचार्ज गर्‍यो । स्वयंसेवकले रोक्न खोज्दा उल्टै उनीहरूमथि प्रहरीका मुक्का बर्से ।  प्रहरीले स्वयंसेवकलाई लाठीचार्ज गर्दा शिक्षकहरूले पनि प्रतिकार गर्न खोजे । शान्तिपूर्ण रूपमा चलिरहेको आन्दोलन एकाएक भाँडियो । धेरैजसो शिक्षकलाई झडप भएको कुरा थाहै थिएन । अगाडिबाट एक्कासि भागदौड मच्चिँदा धेरै शिक्षकहरू ठेलमठेलबाट घाइते भए ।  शिक्षकको आन्दोलनमा गैरशिक्षक भएर पसेका हेलमेट लगाएका व्यक्तिका कारण आजको शिक्षक आन्दोलन हिंसात्मक बनेको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले शान्तिपूर्ण आफ्नो आन्दोलनमा घुसपेठ हुँदा शिक्षकहरू अस्पतालको शैयामा पुग्नुपरेको भन्दै आपत्ति जनाएको छ ।  शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले सरकार नै शिक्षकको आन्दोलन कमजोर बनाउन सुनियोजित तरिकाले यो घटना घटाएको आरोप लगाएकी छिन् ।  ५ दर्जन शिक्षक घाइते आजको झडपमा परी  करिब ५ दर्जन शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ ।  'को-को साथीहरू घाइते हुनुभयो, कसको अवस्था कस्तो छ भन्ने कुरा अहिले हामी बुझ्दै छौं,’ नानुमायाले भनिन्, 'अहिले हामी सिभिल अस्पतालमा छौं, साथीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैछौं ।’  उनका अनुसार घाइते शिक्षकहरूको तीनवटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेहरूको सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्था भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  घाइते शिक्षक दरबार हाइस्कुलमा कार्यरत शिक्षक पदमबहादुर बटालाको टाउको, आँखा र मुखमा ठूलो चोट लागेको छ । शिक्षक र प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीबाट घाइते उनी अहिले ट्रमा सेन्टर अस्पतालको बेडमा पुगेका छन् ।  राम्रोसँग बोल्न सक्ने अवस्थामा नभएका बटालाले शिक्षकमाथि सरकारको दमन सह्यै नहुने बताए । उनले हरेक दिनजस्तै शान्तिपूर्ण रुपमा कार्यक्रम गर्दा पनि शिक्षकमाथि हातपात गरेको भन्दै यसको मूल्य सरकारले नराम्ररी चुकाउने बताए ।  बटाला हरेक दिन जस्तै आज पनि आन्दोलनमा सहभागी भए । अरू शिक्षक जस्तै माइतीघरमा जम्मा भएर र्‍यालीसँगसँगै अगाडि बढे । अन्य दिनको जस्तो आज मोसम गर्मी थिएन । मौसम सितल थियो । नाराजुलुससँगै उनी पनि माइतीघरबाट बानेश्वरतिर लागे । बिजुलीबजारबाट अगाडि बढ्दै गर्दा झडप सुरु भइसकेको थियो । सरकारले दमन गरेको आरोप शिक्षकहरूले आन्दोलन असफल पार्न सरकारले सुनियोजित तरिकाले योजना बनाइ यो अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । नेपाल शिक्षक महासंघले शिक्षकमाथि भएको दमनको घोर भर्त्सना गरेको छ ।   संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण तरिकाले माग राख्दा सरकारले यस्तो अवस्था सिर्जना गरेको भन्दै अब आन्दोलन झन कडा रूपमा अघि बढ्ने चेतावनी दिए ।  पटक-पटक सडकमा पुग्दा पनि शिक्षकहरूका मागलाई बेवास्ता गरेको बताउँदै उनले यो अवस्थाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताए । अब कस्ता कार्यक्रम कसरी अगाडि बढाउने भन्ने छलफल गर्न महासंघको बैठक बस्न लागेकाले थप छलफल हुने उनको भनाइ छ । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व पोखरेलका अनुसार आन्दोलनबाट पाँच जना प्रहरी सामान्य घाइते भएको बताए । उनका अनुसार शिक्षकहरुबाट निषेधित क्षेत्र तोड्ने प्रयास हुँदा र सुरुमै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दा आन्दोलनले अराजक रुप लिएको हो । उनले यस विषयमा अनुसन्धान भइरहेको पनि जानकारी दिए ।   उनले एक दुई जना हेलमेटधारीले यस्तो स्थिति सिर्जना नहुने धारणा राखे । शिक्षकहरुको अराकताले नै यस्तो रुप लिएको उनको धारणा छ ।  उनले हेलमेटधारी आन्दोलनकारीको पनि खोजी भइरहेको जानकारी दिए । 

शिक्षा विधेयकका ३६ वटा दफामा सहमति हुन बाँकीः सांसद विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरूमा सहमति भइसकेको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले १६३ वटा दफामध्ये १२७ वटा दफाहरूको टुंगो लागिसकेको र बाँकी दफाहरू छिट्टै टुंग्याउने उल्लेख गरे । सांसद विश्वकर्माले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गरे ।  उनले भने, ‘हामीले विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरेका छौं । संशोधनकर्ता माननीय सदस्यज्यूहरूको संशोधनलाई पनि हेरेका छौं । योसँग सम्बन्धित रहेर हामीले सातै प्रदेशमा राय सुझाव प्राप्त गर्ने काम गरेका छौं । शिक्षा विधेयकसँग सम्बन्धित रहेको मामलाका सुझाव लिएका छौं । १६३ वटा दफामध्ये १२७ वटा दफाहरूको टुंगो गरेका छौं । केही दफामा थप छलफल गर्दै निष्कर्षमा पुग्न दृढ संकल्पित छौं । ३५ दिनभित्रमा काम सम्पन्न गरेर समितिमा बुझाउँछौं । अन्तिम तयारीमा छौं ।’ उनले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरूसँग आग्रह पनि गरे ।

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते, गम्भीर भएकाहरूको उपचार ट्रमा सेन्टरमा

काठमाडौं । शिक्षक र प्रहरीबीच झडप भएको छ । आन्दोलनको २६ औं दिन नयाँ बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्दा ढुङ्गामुढा प्रहर भएको हो ।  शिक्षक महासंघका अनुसार झडपमा १५ जना शिक्षक घाइते भएका छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा फालेको थियो ।  दरबार हाईस्कुलका सहायक प्रमुख पदम बटालाले आफूहरू शान्तिपूर्णरूपमा आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको बताए । शिक्षक बटालाको टाउको मुखमा गम्भीर चोट लागेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत शिक्षक बटालाले प्रहरीले पानीको फोहोरा, लाठी र रड प्रयोग गरेर शिक्षकमाथि धरपकड गरेको जनाएको छ । उनका अनुसार रिपोर्टिङ गरिरहेका पत्रकार पनि अस्पतालमा भर्ना हुनुपरेको छ ।  नेपाल शिक्षक महासंघले शिक्षकमाथि गरेको धरपकडको विरोध गरेको छ ।