चक्रवर्ती हवी नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन ९२ लाख रुपैयाँ संकलन

भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन ९२ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी दुई लाख ५० हजार रुपैयाँ अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो । कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १ सय ३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको बताए । सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर विगत दुई वर्षदेखि अदालतबाट अन्तरिम आदेस ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताए । कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उनी राससको सम्पर्कमा आएनन् । कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिएका छन् । पोखरेलले भने, “कलेजका प्रतिनिधिलाई बोलाएर तत्काल अवैधानिक भर्ना रोक्न मैले निर्देशन दिएको छु, भर्ना भएका विद्यार्थीले पैसा फिर्ता लान चाहेमा दिने र सिटिइभिटीविरुद्ध अदालत जान्छौँ भन्दै गएका छन् ।” यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको बताउँदै विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको बताए । विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उनले विगत दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताए । कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिकरुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो । सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ । चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताए । सिटिइभिटीले पनि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै सदस्य सचिव वाग्लेले भने, “नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै छ, कि ऐन खारेज गर्नुपर्यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्ने र अदालतको आडमा स्टे अर्डर जारी गरे कलेज खारेजीको प्रक्रियामा अगाडि जान्छौँ ।” विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १ सय शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ । अदालतले सिटिइभिटी प्रशासन प्रमुख रमेश बखतीले चक्रवर्ती नर्सिङ कलेजले झुटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थी भर्ना गराएको सुन्नमा आएको बताउँदै सिटिइभिटीले भर्ना नहुन सार्वजनिक सूचना नै जारी गरेकाले त्यसको जिम्मेवारी सिटिइभिटीले नलिने बताए । विद्यार्थी भर्ना गर्न आएका अभिभावक चाँगुनारायण नगरपालिका–९ का नकुल राउतले कलेजले विद्यार्थीलाई भर्नाको नाममा ठगी गरेको बताउँदै भर्ना भएका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने बताए । भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका थिए । रासस ––––––

किंग्स कलेजले १६औ‌ अाइएफ सम्मेलनको आयोजना गर्ने

काठमाडौं । किंग्स कलेजले भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा १६औ‌ इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिनदिनसम्म संचालनहुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायत स्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जानकारी  दिएको छ । हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उद्यमशिलता तथा आर्थिक विकास रहेको छ । सम्मेलन अन्तर्गत प्लिनरी तथाप्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुती तथा छलफलहरु, नेटवर्किङ्ग, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतीहरुलाई पुरष्कार लगायतको कार्यक्रमहरु समावेश गरिने जानकारी दिएको छ । सो सम्मेलनमा १३ वटा स्टलहरु राखिनेछ जसमा मेडेप परियोजना अन्तर्गत छानिएका १० उत्कृष्ट वस्तुहरुको प्रदर्शन गर्नेछ । साथै, ५ वटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट हुनेले एक भिडियोलाई ५० हजार रुपैँया राशि बराबरको पुरष्कारले सम्मान गर्ने किंग्स कलेजले जानकारी िदएकाे छ । कार्यक्रममा शिक्षक तथा विधार्थी, उधमी, विज्ञ, अनुसन्धानकर्ता, ब्यापारी तथा व्यवसायिक तथा विकास संस्थाहरुको प्रतिनीधिहरु गरी ६ सय भन्दा बढी व्यक्ति सहभागीहुने अपेक्षा कलेजले गरेको छ । “आइएफ सम्मेलनको आयोजनागर्ने अवसरलाई हामीले नेपालमा उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा निरन्तर रुपमा खटिएबापतको सम्मानको रुपमा लिएका छांै‌।” कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने । कलेजले एमबिए अन्टरप्रेनरशिपको विशेष कक्षा संचालन गरिरहेको छ जसमा सामाजिक उद्यमशिलता केन्द्रको स्थापना, सामाजिक उद्यमशिलतामा वार्षिक अन्तराष्ट्रिय सम्मेलनको आयोजना, विजनेश इन्कुवेटरको संचालन लगायतका देशको उद्यमशिलताको क्षेत्र लगायतका क्षेत्रमा योगदान पुर्याइरहेको जानकारी दिएको छ । सम्मेलनमा सहभागीहुन नेपाली नागरीकका लागि ६ हजार ६ सय ५० रुपैँया तथा न्यून आय भएका मुलुकहरुको नागरीकका लागि १३ हजार ४०० रुपैँया दर्ता शूल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विद्यार्थीहकालागि सो शूल्क ५ हजार ३०० रुपैयाँ तथा बेलायतीनागरिका लागि २६ हजार ८००रुपैयाँ तोकिएको छ ।  

ला ट्रोब स्कुलले नेपाली विद्यार्थीहरुलाई नाेभेम्बरमा भर्ना लिने

काठमाडौं । अस्ट्रेलीयन ला ट्रोब बिजनेश स्कुलले नेपाली विद्यार्थीहरूका लागि नयाँ भर्ना नोभेम्बरमा लिने भएको छ । नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखेर यस बिजनेश स्कुलले नोभेम्बर महिनामा अन्डरग्राज्युएट बिजनेश कोर्शहरूमा नयाँ भर्ना लिने घोषणा गरेको हो । केही वर्ष अघि नै ला ट्रोब बिजनेश स्कुलले आफ्ना स्नातकोत्तर कार्यक्रमहरूका लागि तेस्रो सेमेस्टर पनि थप गरेको थियो । यी कार्यक्रमहरू अहिले नेपाल, भारत र श्रीलंकाका विद्यार्थीहरूमा ज्यादै लोकप्रिय बनेकाे छ। यसका अलावा सम्बन्धित उद्योगहरूको आवश्यकता पूर्ति गर्नको लागि र रोजगार बजारमा देखिएका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राखी नयाँ कार्यक्रमहरू पनि आरम्भ गरेकाे छ । “ला ट्रोब विश्वविद्यालयको हाम्रो क्षेत्रका मुख्य देशहरूसँग सम्पर्क गर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट तर अवसरहरू सिर्जना गर्ने निरन्तरको प्रयासले ला ट्रोब बिजनेश स्कुल फेरि नेपालमा आएको छ ।” प्रोफेसर पल माथरले भने । पछिल्लो अकेडेमिक र्याङ्किङ अफ वल्र्ड युनिभर्सिटीजका एआरडब्लुयु नतिजाहरूले ला ट्रोबलाई आफ्नो उपलब्धिमा सबैभन्दा बढी सुधार गर्न सफल अष्ट्रेलिया विश्वविद्यालयको रूपमा स्थापित गरेको छ । एआरडब्लुयु र्याङ्किङहरूमा यसको आजसम्मको सर्वाेत्कृष्ट नतिजा भएको विद्यालयले जनाएको छ । एकपटक फेरि ला ट्रोब बिजनेश स्कुल, अष्ट्रेलियाले छात्रवृत्तिहरू प्रदान गर्दैछ, जसको मूल्य कूल शैक्षिक शुल्कको १५ देखी २५ प्रतिशतसम्म छ । सन् २०१७ देखि प्रदान गरिएका यी छात्रवृत्तिहरू अन्डरग्राज्युएट र पोष्टग्राज्युएट तहमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि हो । यी छात्रवृत्तिहरू प्राप्तांकको उत्कृष्टतामा आधारित छन् र विद्यार्थीको पछिल्लोे शैक्षिक उपलब्धिका आधारमा प्रदान गरिनेछ । छात्रवृत्तिहरू प्रदान गर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने जानकारी दिएको छ । उक्त विश्वविद्यालयले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गरी मास्टर अफ प्रोफेस्नल अकाउन्टीङ (सीपीए अस्ट्रेलीया एक्सटेन्सन्), बिज्नेस एनालाइटीक, इन्फरमेसन सीस्टम म्यानेजमेन्ट, स्नातक व्यवसाय तथा कमर्सलगायतका कार्यक्रमहरु शुरु गरेको जानकारी दिएको छ ।