भरतपुर महानगर र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य
काठमाडौं । भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच शैक्षिक सहकार्य सम्बन्धि सम्झौतापत्रमा एक समारोहकाबीच हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो । सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्याति प्राप्त विश्वविद्यालय भएको जनाइएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएको सो विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको जनाइएको छ । भरतपुर महानगरपालिकाकोतर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका जनाइएको छ । सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने विश्वास लिए । मेयर रेनु दाहाले सहकार्यलाई भरतपुर महानगरको तर्फ थप अगाडी बढाउने जानकारी दिइन् । उनले चीनको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको बताइन् ।
गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी
कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ । सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं । तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ? नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो । स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ । स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ । स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् । मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् । स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् । हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् । नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं । शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं । तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ? म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ । अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ? जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ । नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ? बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन । स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ? संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ । म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो । यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् । गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ? हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ । नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ? शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ? सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन । म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन । एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन । तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ । तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । आगामी योजना के–के छन् ? नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं । विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ । विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ? ३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ । बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ । स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ? नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ । उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् । हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।
अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर
अन्तरवार्ता गर्दै गर्दा राज्यलक्ष्मी बैदारको कुर्सी फिलिलि घुम्यो, झण्डै लडेकी । बढो आत्मविश्वासका साथ आफूले सञ्चालन गरेको सौगात मन्टेश्वरी स्कूल, यसको पठनशैली, विद्यार्थी, शिक्षक, अभिभावकबाट पाएको फिड्व्याक सुनाउँदै थिइन् उनी । ‘तपाईसँग एकदमै धेरै आत्मविश्वास देखियो, कसरी ?’ राज्य लक्ष्मी बैदार, संस्थापक तथा प्रिन्सिपल, सौगात मन्टेश्वरी यो प्रश्नले उनलाई कक्षा सातमा पढ्दै गर्दा काठमाडौंको पद्मोदय माविमा वक्तित्वकला प्रतियोगितामा भाग लिँदाको क्षण स्मरण गरायो । ‘वक्तित्वकलामा भाग लिन्छु भनेँ । टिचरले मलाई पद्मोदयमा लैजानु भयो । बोल्न मञ्चमा गएँ । सम्बोधन पछि केही पनि बोल्न आएन । करिव दुई मिनेट त्यत्तिकै उभिएँ । त्यतिबेलाको दृष्यहरु अहिले पनि म सम्झन्छु’ – उनले भनिन् – ‘नानी केही भनिनौ । निर्णायक मण्डलका एक जनाले मलाई भने । त्यसपछि म रुँदै फर्किएँ ।’ त्यतिबेलाको शिक्षणशैली प्रति असन्तुष्टि जनाउँदै उनले भनिन् – ‘के बोल्नुपर्छ केही सिकाएकै होइन । अभ्यास गराएकै होइन । के बोल्ने ? कसरी बोल्ने ? टिचरले केही सिकाउनु पर्दैन ? मलाई दुःख लाग्यो । त्यसपछि कलेज पढ्दासम्म उनी कहिल्यै पनि स्टेजमा गइनन् । आत्मबल कमजोर हुँदाको पीडा सम्बन्धि दोस्रो घट्ना पनि सुनाईन् उनले । घोकेर बल्ल बल्ल एसएलसी पास गरेको । म अंग्रेजीमा कमजोर थिएँ । भाईवहिनी एलआरआईमा पढ्थे । अंग्रेजी बोल्न सिक्ने, अभ्यास गर्ने चाहाना थियो । एलआरआईको फाउण्डर शिवराज पन्तले ‘आउन त, साना कक्षामा पढाऊ, अभ्यास पनि हुन्छ’ भन्नुभयो । ‘म गएँ । एक शिक्षिकाले मलाई चार कक्षाको सोसल पढाउन लैजानुभयो, अबजर्भेशन क्लासको लागि । अगाडि उभिएर किताव पढ्न पनि धेरै गाह्रो भयो । किताव समाउँदा हात थरथर काम्यो । उहाँले ‘यस्तो नजान्ने मान्छे कसले ल्याएको’ भन्दै समाएर बाहिर निकाल्नुभयो । डरले म बेहोस् भएँ । त्यसपछि चार दिनसम्म अस्पतालमा बसेर उपचार गरेँ ।’ ‘पन्त सरले मलाई भोलेन्टेयरको रुपमा राख्नु भएको थियो । पहिलाे क्लासमा लैजाने टिचरले पेइड टिचर नै ठानेर त्यस्तो व्यवहार गर्नुभयो’ घट्नाबारे स्मरण गर्दै उनले भनिन् – ‘त्यो घट्नाले पन्त सरलाई दुःखी बनायो । फेरी मलाई बोलाएर पढाउने अभ्यास गराउनु भयो ।’ चार महिनाको अभ्यासपछि २०४९ सालदेखि २०५९ सालसम्म उनले सोही स्कूलमा पढाइन् । एलआरआई स्कूलमा १० वर्ष पढाएपछि उनीमा गर्व थियो कि ‘मैले १० वर्ष पढाएँ, मैले धेरै जानेको छु, लामो अनुभव हासिल गरेकी छु ।’ अाफूले एलअारअार्इ स्कूलबाट धेरै कुरा सिकेकाे र संस्थापक शिवराज पन्तले करिअर विकासमा ठूलाे याेगदान गरेकाे स्मरण गरिन् । जब उनी मन्टेश्वरीको तालिम लिन गइन् तब उनलाई थाहा भयो कि ‘अहिलेसम्म मैले किताव मात्र पढाएँछु, घोकाएँछु र लेखाएँछु । विद्यार्थीलाई सिकाउनु पर्ने धेरै कुरा सिकाउन जानेको नै रहेनछु ।’ प्रिन्सिपल बैदारले २००३ मा एनएमटीसी (नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर) बाट तालिम लिइन् । उनले मन्टेश्वरीकाे थप तालिम जर्मनीबाट लिइन् । मन्टेश्वरी शिक्षण विधिबारे उनले नर्बे, स्वीडेन, डेनमार्क र फ्रान्समा अध्ययन भ्रमण गरिन् । ‘तालिम लिनुअघि किताव पढाउनुपर्छ भन्ने मात्र ज्ञान थियो । कसरी पढाउने भन्ने ज्ञान पनि थिएन । हामीले विद्यार्थीको मानसिकता बुझेका रहेनछौं, वालवालिकाको मर्म बुझेका रहेनछौं’ बैदार भन्छिन् – ‘सिपमुलक, व्यवहारिक, सिर्जनात्मक शिक्षा दिन सकेका रहेनछौं ।’ आफै स्कूल खोल्ने निर्णय सन् २००८ मा उनी रातो बंगलामा ट्रेनिङमा गइन् । ‘त्यहाँको पढाईशैली मलाई धेरै मन पर्यो । सोही स्कूलमा मेरो छोरी पढाउने इच्छा भयो । तर शुल्क महँगो भएकोले मैले पढाउन सकिनँ’ धेरै मान्छेको चाहना र वाध्यता जस्तै समस्या उनलाई भएको रहेछ । मध्यम वर्गका परिवारले आफ्ना छोराछोरीलाई रातो बंगलामा जस्तो शिक्षा दिन सके हुन्थ्यो भन्ने सोच उनको मस्तिष्कमा पलायो । उनी थप अध्ययनसँगै नयाँ स्कूल खोल्ने तयारीमा जुटिन् । ‘१६ वर्ष पढाएपछि, करिव ५ वर्षको तयारीपछि मैले स्कूल खोलेको हुँ’ उनले भनिन् ‘मन्टेश्वरी खोल्नुपूर्व मैले काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश स्कूल भ्रमण गरेँ । त्यहाँको पढाउने तरिका, शिक्षकहरुले पाएको तालिमको अवस्था, पूर्वाधार, वातावरण सबै अध्ययन गरेपछि मैले आफूले यो स्कूल खोलेको हुँ ।’ सौगात खोल्दा जम्मा ५ जना विद्यार्थी थिए । एक वर्षमा ७० जना विद्यार्थी भर्ना भए । अहिले करिव १७० जना विद्यार्थी छन् ।’ शिक्षण विधि ‘पहिला हामी कक्षामा प्रवेश गर्दा अनिवार्य लौरो लिएर जानु पर्थ्याे । प्रिन्सिपलले एसेम्लीमा परैबाट लौरोले झटारो हानेकाे हामीले देख्याैं ’ शिक्षण पेशा शुरू गर्दाकाे दिन सम्झदै उनले भनिन् । यस्तो पृष्ठभूमिबाट शिक्षण पेशामा आएकी बैदारले आफूले चलाएको स्कूलमा टिचरले विद्यार्थी गाली गर्न पनि अनुमति दिएकी छैनन् । ‘हामी विद्यार्थीलाई ‘हजुर’, ‘तपार्इं’, ‘भनिस्यो’ भन्न सिकाउँछौ । सौगात मन्टेश्वरी स्कूलले ‘हजुरबुबा हजुरआमा सम्मान कार्यक्रम’ आयोजना गर्ने गरेको, ‘म र मेरो परिवार’, ‘म र मेरो समाज’का बारेमा स्थलगत अध्ययन गराउने, आफू, परिवार र समाजबारे जिम्मेवार बन्न सिकाउने गरेको छ । ‘सबै टिचर ट्रेन हुनैपर्छ । मन्टेश्वरीको लेबल वानको तालिम हुनैपर्छ । काम थालेपछि पनि तालिम बारम्बार दिन पठाउँछौं’ उनले भनिन् । तर टिचर नपाएर धेरै समस्या भएको उनको दुःखेसो छ । तालिम प्राप्त टिचर पनि दीगो हुँदैनन् । ट्यालेन्ट टिचर छोडिहाल्छन् । उनीहरुले छोड्नुको तीन कारण हुन्छन् । धेरै जसो विदेश जाने भनेर छोड्छन् । विदेश जाने लहर नै स्कूल टिचर अभाव हुनुको मुख्य कारण हो । ‘अरुको कुरा के गर्नु, मेरो छोरी पनि विदेश गइन्’ उनले आफ्नै घरको उदाहरण दिईन् । महिला टिचरहरु विवाह गरेर वा सुत्केरी भएर स्कूल छोड्छन् । केही टिचरहरु आफैं स्कूल खोल्छु भनेर छोड्छन् । ‘दुई वर्षको सम्झौता गरेर टिचर राख्दा पनि बीचमै छोडेर हिँड्छन्’ उनले समस्या सुनाईन् । ‘आफ्नो छोरा छोरीलाई शिक्षक/शिक्षिका बन भनेर कुनै पनि बुबा आमाले भन्दैनन् । हाम्रो समाजको ठूलो दुर्भाग्य हो । टिचर पाउनै मुस्किल छ । तालिम प्राप्त टिचर पाउन त झनै कठिन छ’ उनले भनिन् – ‘स्कूल चलाउन सबैभन्दा गाह्रो कर्मचारी व्यवस्थापन भएको छ ।’ प्रयोगात्मक शिक्षा स्कूलका हरेक कक्षामा वाल पुस्तकहरु रहेको पुस्तक र्याकहरु छन्, मिनि लाईब्रेरी । प्रयोगात्मक कक्षाको लागि वाल स्टेजसहितको हल छ । पुस्तकहरु मात्र होइन, दुलर्भ हुँदै गएको बस्तुहरुको ‘नमूना सामाग्री’ संग्रह राखिएका छन् । साना केटाकेटीहरु सुत्नको लागि एउटा अछ्यान पनि राखिएको छ । यो जमानामा कम्प्यूटर ठूलो र नयाँ कुरा भएन, कक्षा कोठामा प्रोजेक्टर, बहुउपयोगि डिजिटल मल्टिबोर्ड राखिएको छ । विद्यार्थीले प्रयोग गर्ने शिक्षण सामाग्री आ–आफ्नो स्थानमा राख्नको लागि खुला र्याक तथा बन्द दराजहरुको व्यवस्था गरिएको छ । कक्षा भित्र र वाहिर केटाकेटीलाई धेरै प्रकारका खेलौनाहरु उपलब्ध गराईएको छ । त्यति मात्र होइन, यस स्कूलले विद्यार्थीलाई धान रोपार्इँबारे जानकारी दिन धान रोपिरहेको खेतमा लैजाने, धान काटेको देखाउन धान काटिरहेको ठाउँमा लैजाने, वातावरण दिवसका दिन विरुवा रोप्न लैजाने, दुध कसरी आउँछ, गाई दुहेको देखाउने, ट्राफिक नियम के हो, बग्गीखानामा लगेर ट्राफिकबाट सिकाउने, पुलिसको काम के हो, प्रहरी हेडक्वाटर लगेर देखाउने, ढिकी, जाँतो, ठेकी, मदानी, सिङमाङ के हुन्, बस्तुलाई नै देखाएर पढाउने गरेको उनले बताईन् । ‘हामी घोकाएर पढाउँदैनौँ’ उनले फेरी जोड दिइन् । सबै विषयको पढाई प्रयोगात्मक गर्दा कोर्ष कसरी सकिन्छ ? प्रिन्सिपल बैदार भन्छिन् – दैनिक १/२ घण्टा प्रयोगात्मक कक्षा सञ्चालन गर्दा विद्यार्थीमा स्फूर्ति आउँछ । धेरै कुरा सिक्छन् । प्रयोगात्मक अभ्यासले विद्यार्थीमा पढ्ने, लेख्ने, अभ्यास गर्ने वानिको विकास गराउँछ । सिर्जनात्मक क्षमताको विकास हुन्छ । नेतृत्व विकास हुन्छ । आफूहरुले अहिले पनि ५० प्रतिशत मात्र मन्टेश्वरी मेथड प्रयोग गरेको र ५० प्रतिशत शिक्षा अझै परम्परागत विधिबाट दिने गरेको उनी बताउँछिन् । ‘घोकेको शिक्षाले क्षमता घटाउँछ भने बुझेको शिक्षाले क्षमता बढाउँछ, सिर्जनशिलता बढाउँछ’ उनले भनिन् – बाबुनानीलाई सामाजिक बन्न सिकाउनुपर्छ । अनुशासित बनाउन सिकाउनुपर्छ । आफ्नो काम आफैं गर्न सिकाउनुपर्छ । अरुलाई सम्मान गर्न सिकाउनुपर्छ । रमाईलो वातावरणमा पढाउनुपर्छ ।’ ‘यति कुरा थाहा पाउँदा पाउँदै पनि हामी फेरी पढ्ने र लेख्ने कार्यमा जोड दिन्छौं । किनकी अभिभावकले पनि पढ्न र लेख्नमा मात्र जोड दिन्छन् । हाम्रो छोरा छोरीलाई विक्ने बनाउनु पर्यो भन्छन् । फलफूलको जस्तो’ उनी भन्छिन् – आफ्नो छोराछोरीको शारीरिक विकास, बौद्धिक विकासमा भन्दा घोकन्ते शिक्षामा कमजोर होला कि भन्ने चिन्ता उनीहरुलाई छ । सबै आम्दानी खर्च सौगात मण्टेश्वरीले प्रति विद्यार्थीसँग औषतमा मासिक ६ हजार ५०० रुपैयाँ शुल्क लिन्छ । आम्दानी सबै खर्च हुने गरेको उनले बताइन् । ‘कर्मचारीलाई १५ हजारदेखि ४० हजारसम्म तलब दिनुपर्छ । ३४ जना कर्मचारीलाई तलब खुवायो, प्रशासनिक खर्च हुन्छ, बचत गर्न सकेको छैन’ उनले भनिन् । २०७२ सालको भूकम्पले पहिलाको स्कूल भवन चर्कियो । त्यसपछि कलंकी मैत्रीनगरमा १५ वर्षको लागि जग्गा लिजमा लिएर प्रिफेव्रिकेटेड भवन निर्माण गरेकी छिन् । नयाँ संरचना बनाउँदा करोड भन्दा बढी खर्च भएको उनले बताइन् । यस वर्षदेखि कक्षा २ सम्म पढाउने स्कूलको तयारी छ । प्रि–स्कूल सेटअप भए पनि ठूलो पूर्वाधारको अभावमा स्कूलको माथिल्लो कक्षा सञ्चालन गर्न कठिन भएको छ । ‘नयाँ शैलीमा पढाउन धेरै खर्चिलो छ । त्यसको लागि स्रोत साधनको कमी कमजोरी छ’ उनले चुनौति पनि सुनाइन् ।