राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८ हुँदै

काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले आगामी पुस २० गते मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गर्न लागेको हो । शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ । प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए । यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहने छ । मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ । एक सय सहभागीहरूलाई निःशुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई भाडा दिइने आयोजकले जनाएको छ । यस वर्षको नोभाद्वारा आयोजित प्रथम अष्ट्रेलियन शिक्षा मेला २०२२ को उद्घाटन फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने भएको छ । सो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको समेत व्यवस्था गरिएको जनाएको छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

प्रावि शिक्षकका लागि खुल्यो आवेदन

फाइल फोटो काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ । इच्छुक उम्मेदवारले माघको १३ गतेसम्म तोकिएको दस्तुरमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ । निमावी तहका लागि २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । यस्तैगरी माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । आयोगले मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिसकेको छ ।

प्रज्ञाभवनमा जुरेको व्यापार र सेवाको अवसर

काठमाडौं । कुनै पनि सभा तथा सम्मेलन केही मानिसका लागि एउटा खास अवसर बनिदिन्छ । धेरै मानिसको उपस्थिति । तिनका अनेकन रुचि र अनि चाहना । कसैका लागि व्यापारको थलो त कसैका लागि ज्ञानको भण्डार विस्तार गर्ने गन्तव्य । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन पनि यस्तै भएको छ केहीका लागि । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसर यतिबेला इन्द्रेणीको सात रङजस्तै विविधताको रङमा परिणत भएको छ । विशेषगरी जनयुद्धबाट खुला राजनीतिमा आएपछि माओवादीले ठूला–ठूला भेला आयोजना ग¥यो । कहिले जनपरिचालन ग¥यो त कहिले सङ्घर्षको बिगूल पनि बजायो । कहिले विचारको संश्लेषण पनि ग¥यो । त्यस्तै क्रममा माओवादी यतिबेला समाजवादी क्रान्तिको नयाँ मोडल स्थापित गर्न लागिपरेको छ । कमलादीमा संविधानले भनेजस्तै समाजवादोन्मुख व्यवस्थाको खोजीमा लागेको छ । यही मौकामा कमलादी परिसरमा अनेकन प्रवृत्तिका पात्रहरू पनि भेला भएका छन् । विशाल भेटघाटको यस अवसरमा भेटिएका वैज्ञानिक समाजवाद निर्माण अभियान प्रकाशनका सञ्चालक हरिशचन्द्र खड्का । उनी पुस्तकहरू बोकेर माओवादीका नेता तथा कार्यकर्ताको ज्ञान बढाउन आएका हुन । उनका साथमा अधिकांश माक्र्सवादी पुस्तक छन् । उनले २५ प्रकारका पुस्तक ल्याएका छन् । ‘सहयोगी समाज’ नामक पुस्तक सबैभन्दा बढी मन पराइएको छ । सोही पुस्तक नै सबैभन्दा बढी बिक्री भएको छ । माओवादीका नेता तथा कार्यकर्ता अध्ययनशील देखिएको उनको भनाइ छ । उनले भने, “मैले सोचेभन्दा राम्रो बिक्री भएको छ”, नेपालमा समाजवाद कस्तो र कसरी भन्ने पुस्तकको उत्तिकै माग बढेको छ । माओवादी कार्यकर्ताले विज्ञान र प्रविधिमा आधारित समाजवादसम्बन्धी पुस्तक बढी मात्रामा खोजी गरेको उनको भनाइ छ । उनले अगाडि भने, “कम्युनिष्ट दर्शनको सिद्धान्त धेरैले पढिसकेका छन्, अहिले जुन विज्ञान र प्रविधिमा आधारित समाजवाद भनिएको छ त्यसैले पनि पाठकले ग्लोबलाइजेशन र डिजिटलाइजेशनलाई व्याख्या गर्न सक्ने खालका पुस्तकको खोजी गरेका छन् ।” ‘विज्ञान संसार’ भन्ने नयाँ पुस्तक बजारमा आउँदै छ । अहिलेसम्म दुई दिनमा समाजवादको यात्रा नामक पुस्तक एक हजार प्रतिभन्दा बढी बिक्री भएको छ । दर्शन विश्वकोर्ष नामक पुस्तक पनि उत्तिकै बिक्री भएको छ रे उनका अनुसार । त्यस्तै महाधिवेशनस्थल प्रज्ञा भवनको हल बाहिर प्रारम्भिक जडीबुटी सहकारी संस्थाबाट सङ्कलित प्रशोधित जडीबुटी तथा औषधिजन्य वस्तु पनि उत्तिकै बिक्री भएको छ । जडीबुटीजन्य औधषिको बिक्री वितरण गरिरहेका ईश्वरी पाण्डेका अनुसार मानव स्वास्थ्य, माटो व्यवस्थापन र प्राकृतिक सम्पदाको लागि अतिउपयोगी ३८ प्रकारका जडीबुटीजन्य औषधि राखिएको छ । रुघा, खोकी र हाडजोर्नीसम्बन्धी औषधि बढी मात्रामा बिक्री भएको पाण्डेको भनाइ छ । नाफा नराखीकन प्रचारात्मकरूपमा औषधिमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उनले भने, “समाजवादी अभ्यास गर्न समाजसँग जोडिएको स्थानीय उत्पादन मैले राखेको छु । प्राकृतिक दोहनलाई नियन्त्रण गर्दै पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो ।” उनी अनुसार माओवादीले समाजवादको कार्यक्रममात्रै होइन, कार्यदिशा पनि ल्याओस् भन्ने अपेक्षा गर्छन् । त्यसैको प्रचारका लागि पनि मैले यहाँ जडीबुटीको प्रचार गर्न खाजेको हुँ । जनस्वास्थ्यकर्मी महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष कानूनलाल चौधरीलाई पनि महाधिवेशनस्थलमा भ्याइनभ्याइ छ । उनका अनुसार महाधिवेशनस्थलमा स्वास्थ्य सेवासँगै प्रगोगशालाको पनि व्यवस्था गरिएको छ । औषधि पनि उत्तिकै उपलब्ध छन् । प्रज्ञा भवनको प्राङ्गणमा इसिजीलगायत सेवासहित आकस्मिक सेवाको पनि व्यवस्था छ । दुई दिनमा ५०० जनालाई स्वास्थ्य सेवा दिइएको छ । प्रतिनिधिहरूको स्वास्थ्य परीक्षणका लागि रगत सङ्कलन गरिएको छ । वरिष्ठ चिकित्सक, नर्स गरी करिब २०० स्वास्थ्यकर्मी महाधिवेशनमा परिचालित छन् । आकस्मिक उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल निजामती अस्पतलालगायतसँग समन्वय र सहकार्य गरिएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासङ्घले महाधिवेशनमा सहभागी प्रतिनिधि र सहभागीलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न सल्लाह दिएको छ । यस्तै स्यानिटाइजरको प्रयोग नियमित गर्न, खोक्दा हाछ्यँु गर्दा नाक मुख छोप्न र भौतिक दूरी कायम गर्न पनि अनुरोध गरेको छ । प्रज्ञा भवनको प्राङ्गणमा जनयुद्धका क्रममा विभिन्न समयमा लिइएका तस्वीर प्रदर्शन गरिएको छ । यसले नेता तथा कार्यकर्तालाई इतिहासको स्मरण गराइरहेको छ । यस्तै क्रान्तिचेतसहितको चित्र पनि भवन परिसरमा राखिएको छ । त्यसमा माओवादी अध्यक्ष प्रचण्डलाई ट्र्याक्टर चालकका रूपमा प्रस्तुत गर्दै समाजवादी क्रान्तिको नायकका रूपमा उभ्याइएको छ । समाजवादी क्रान्तिका लागि ट्र्याक्टर अर्थात् आधुनिक खेती प्रणाली अगाडि बढाएर जानुपर्ने पेन्टिङको अर्थ छ । कलाकार केशवराज खनालले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि उक्त चित्र तयार पारेका हुन। त्यसको शीर्षक छ– ‘औद्योगिक क्रान्ति र समाजवाद’ । रासस