प्राविधिक शिक्षाले विद्यार्थीको रोजाइमा पर्न थाले सामुदायिक विद्यालय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । पाँच वर्ष अगाडि विकास गुरुयोजना निर्माण गरेर पाँच वर्षभित्रमा विद्यार्थी सङ्ख्या दोब्बर बनाउने योजनासहित अगाडि बढेको विद्यालयले आफ्नो लक्ष्यअनुसारको सफलता हासिल गरेको प्रधानाध्यापक हरिप्रसाद देवकोटाले बताए । ‘विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार गर्दै करिब दुई हजारसम्म विद्यार्थी अध्यापन गराउने योजना छ’, उनले भने, ‘लक्ष्यअनुसार प्रगति हुँदै गएको छ ।’ विसं २०२९ मा निम्न माध्यमिक तहसम्मको अनुमति प्राप्त गरेर स्थापना भएको सो विद्यालयले २०३८ सालमा माध्यमिक तह अध्यापनको सुरुआत गरेको थियो । विसं २०४० मा विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको हो । उच्च शिक्षाका लागि साविकको तमसरिया गाविससहित आसपास क्षेत्रका विद्यार्थी कावासोती वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै २०५७ सालमा उच्च माध्यमिक तहसम्मको अध्यापन अनुमतिको लागि प्रक्रिया सुरुआत गरेको थियो । सोही वर्ष उच्च माध्यमिक तह अध्यापन अनुमति प्राप्त गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ११ को पढाइ सुरुआत गरेको थियो । विसं २०६० को दशकमा सामुदायिक विद्यालयप्रति अभिभावकमा देखिएको वितृष्णा र समय अनुकूल शिक्षालाई ध्यानमा राख्दै विद्यालयले २०६६ सालमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरुआत गरेको थियो । त्यसपश्चात् क्रमशः विद्यालयमा विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुँदै आएको प्रधानाध्यापक देवकोटा बताउछन् । पञ्चवर्षीय गुरुयोजना निर्माणपछि विद्यालयमा विद्यार्थीको आकर्षण थप बढेको हो । स्थापनाको ५० वर्ष पूरा गर्दा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा आफूलाई स्थापित गर्नसक्ने अवस्थासम्म आइपुग्दा संस्थापकदेखि हालसम्म विभिन्न व्यक्ति, संस्थाको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले बताइन् । यही मङ्सिर २९ देखि पुस ४ गतेसम्म विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ । रासस

उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, २५ जनालाई दियो नबिल एसएसई कोर्स

ललितपुर । नबिल बैंकले उद्यमी बन्न चाहने विद्यार्थीलाई साथ सहयोग गर्ने भएको छ । जसको लागि बैंकले बागमती प्रदेशका २५ विद्यार्थीलाई नबिल एसएसई कोर्स दिएको छ । बैंकले बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ । ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाहरु स्वेच्छाले नभई राम्रो अवसरको खोजीमा देश छाडेको बताउँदै देशमा नै केही गर्न चाहने विद्यार्थीलाई साथ दिन चाहेको बताए । देशमा नै केही गर्छु भनेर नबिल सामाजिक उद्यमशीलताको हिस्सा बनेकोमा विद्यार्थीहरुलाई उनले धन्यवाद दिए । कुनै व्यक्ति जन्मदै उद्यमी बन्न नसक्ने बताउँदै चौधरीले भने, ‘युवाहरूले विभिन्न विचार र व्यवसाय योजनाबारे गरेका छलफल सुनेको छु । तर, उचित मार्गदर्शन र निर्देशनको अभावमा उनीहरुको विचार यथार्थमा परिणत हुन सक्दैन । एक वर्षअघि नबिलले लिएको पहलले अहिले युवाहरूको जीवनमा दिशानिर्देश र उचित मञ्च प्रदान गरिरहेको छ ।’ उनले यो सुरुवातीकदम भएको र नबिल एसएसईले देशमा सामाजिक उद्यमशीलताको क्षेत्रमा फड्को मार्ने विश्वास लिएको बताए । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले स्टार्टअप, साना तथा मझौला उद्यमहरूलाई उद्यमशीलता शिक्षा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक सहयोग गर्न नबिल सदैव तत्पर रहेको बताए । बैंकले सातै प्रदेशमा विभिन्न क्याम्पससँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै उद्यमशिलता सिर्जनामा सहयोग पुग्ने बताए । ‘यस कार्यक्रमले विस्तारै ठूलो संख्यामा उद्यमीहरु सिर्जनागर्दै भविष्यमा रोजगारीको बढावा र देशमा आर्थिक रुपान्तरण गर्ने विश्वास लिएको छु,’ उनले भने । सामाजिक उद्यमशीलता सम्बन्धी ३ महिनाको अवधिमा सञ्चालित १४ दिने तालिममा ज्ञान अभिवृद्धि, सीप, मानसिकता र स्रोतसाधनको विषयमा तालिम उपलब्ध गराइएको छ । सहभागीहरूलाई उद्यमीहरूको अनुभव, विज्ञहरूसँग छलफल, संस्थागत भ्रमण र कार्यशालाहरूबाट सिक्ने अवसर प्रदान गरेको छ । क्याम्पियन कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवले नबिल बैंकले चलाएको अभियानले विद्यार्थीलाई उद्यमशिलतामा जोड्न सहयोग गरेकोमा आभार प्रकट गरिन् । सहभागी विद्यार्थीमध्ये एक महेश शर्माले नबिल एसएसईलाई आफ्नो सोचलाई उद्यमको रुपमा परिवर्तन गर्न दिशाप्रदान गरेकोमा धन्यवाद दिए । उनले यस कार्यक्रमले आफूलाई केही गर्न र उद्यमशीलतामार्फत समाजमा योगदान पुर्याउन प्रेरणा दिएको बताए । नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको पहलअन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा शुरु गरेको हो । बैंकले सातै प्रदेशका विभिन्न कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेर यो कार्यक्रम अगाडि बढाएको छ ।

इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडाैं । इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत बीएस्सी कम्प्युटिङ, बीएस्सी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिए बिजिनेस एड्मिनिस्ट्रेसन र बीएस्सी मल्टिमिडिया टेक्नोलोजी का ८५७ विद्यार्थी सहभागी भएका थिए । दिक्षान्त समारोहमा स्नाकोत्तर तह अन्तर्गत एमएस्सी आटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षित भएको कलेजले जनाएको छ । समारोहमा विजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटी तह पुरा गर्ने ८३५ विद्यार्थी गरी जनमा ९२९ विद्यार्थी अभिभावक र विद्यार्थीको उपस्थितिमा दिक्षित भएको कलेजले जनाएको छ । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट स्मबंधं प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा संचालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका उप-कुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट रहेको बताएकी थिइन् । दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक सुलभ बुढाथोकीले लण्डन विश्वविद्यालयको हाइर्यानकिङमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।