मानव विकासमा नयाँ अनुसन्धान : २५ हजार वर्ष अघि आधा मानिस भारतमा बस्ने गर्दथे

एजेन्सी । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एक अनुसन्धानमा एउटा चकित पार्ने तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुका अनुसार २५ हजार वर्ष पहिले विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथे । हालै भएको काशी तमिल संगम शैक्षिक कार्यक्रमको २७ औं दिन बिएचयुका वैज्ञानिक ज्ञानेश्वर चौबेले यस अनुसन्धानको बारेमा जानकारी दिएका छन् । अफ्रिकामा जन्मे, भारतमा हुर्के प्राध्यापक चौबे भन्छन्, आधुनिक मानव अफ्रिकामा उत्पत्ति भए पनि भारतमा हुर्केका हुन्। यही कारणले गर्दा २५ हजार वर्षअघि विश्वको आधा जनसंख्या भारतमा बस्ने गर्दथ्यो । अन्वेषकहरूले देशका विभिन्न भागबाट २५ हजार नमूनाको अध्ययन र अनुसन्धान गरी यस्तो नतिजा निकालिएको जनाइएको छ । डीएनए नमूनाहरूमा अध्ययन यो अनुसन्धानमा वैज्ञानिकहरुले २५ हजार मानिसहरुको डिएनए नमूना परीक्षण गरेका थिए। यसमा भारतीय जनताको डीएनएलाई युरोप, पश्चिम एसिया, पूर्वी एसिया, साइबेरिया र अफ्रिकाका एक हजार डीएनए नमूनासँग तुलना गरिएको थियो। डिएनए उत्परिवर्तनबाट पुर्खाहरुको बारेमा जानकारी पाउन सकिन्छ। वैज्ञानिकहरु प्राप्त जानकारीहरुमाथि अध्धयन गरेर नै सो निष्कर्षमा पुगेका हुन् । कृषि औजारको प्रमाण पनि फेला परेको छ प्राध्यापक चौबेले २५ हजार वर्षअघि हिमालय, अरब सागर र बङ्गालको खाडीको बीचमा रहेको भारतीय प्रायद्वीपमा अधिकांश मानिस बस्ने गरेको बताए । यहाँ तिनीहरूले राम्रो ठाउँ र खाना पनि पाए। त्यसपछि क्रमशः यी मानिसहरू एशिया र अन्य टापुहरूमा फैलिए। यसको प्रमाण पुरातत्वमा पनि पाइन्छ । प्रा. चौबेले वैज्ञानिकहरुले भारतमा नै माइक्रोलिथिक प्रविधि पत्ता लगाएको दाबी गरेका छन्। यसबाट ढुङ्गाका औजार बनाउन थालिएको थीयो। यससँगै सिन्धु–सरस्वती दोआबमा पनि खेतीको शुरु भएको थियो। भास्कर दैनिकबाट ।

नेवा सभ्यताको विश्वविद्यालय स्थापना गर्न मेयर बालेन्द्र शाहको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गर्नु भएको हो । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर शाहले नेवाः सभ्यता सम्बन्धी विश्वविद्यालय र बागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे । मेयर शाहले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा समेत राखे । मेयर शाहले भने, ‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यता सम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु । त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्न सक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ । ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौं ।’ उनले काठमाडौंका कलाकौशलहरु अन्तर्राष्ट्रियकरण गर्न सकिने भन्दै बाजागाजाहरुमा नै डिग्री गर्न सकिने बताए । ‘हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्न सक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्न सक्छौं । नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन । हाम्रा पुस्तान्तरण गर्न पाउ । अव आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्नु पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ’, मेयर शाहले भने । मेयर शाहले दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाई भएको बताउँदै त्यसको लागि दुबै महानगरले सहकार्य गर्नुपर्छ । ‘हामी दुईटा महानगरपालिका, बागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर बागमतीको स्थायी सफाई अभियान । बागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ । यी दुई वटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढन सक्यौं भने निकै राम्रो सन्देश जान्छ । काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ । र, हाम्रो जुन मित्रवत भावना छ । त्यसलाई अझै मधुरता दिन सकिन्छ’, मेयर शाहले भने । मेयर शाहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए । उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए ।

चितवनमा विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

भरतपुर । चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यामिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्छिन् । विद्यालयमै उनले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहेकी छिन् । घरमा खेती किसानी नगरेकी उनी विद्यालयमा सबै साथीभाइसँग मिलेर काम गर्न पाउँदा दङ्ग छिन् । ‘पहिलो पटक विद्यालयमै मौरीको मह काड्न सिके’, उनी भन्छिन्, ‘च्याउ उत्पादनको तरिकाबारे पनि राम्रो ज्ञान लिएकी छु ।’ परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेको समीक्षा बताउँँछिन् । ‘घरमा काम गर्नुपरेको थिएन्’, कक्षा ११ का छात्र अमितजी गुप्ता भन्छन्, ‘यहाँ सबैजनासँग काम गर्दा रमाइलो पनि हुन्छ । पैसाभन्दा सिक्न पाइएको छ’, उनको भनाइ छ, ‘यहाँ उत्पादन भएको बस्तु बेचेर जम्मा भएको पैसा विद्यालयले हामीलाई नै दिने गरेको छ ।’ गुप्ता यहाँ कक्षा नौदेखि कृषि विषय लिएर पढ्दै आएका छन् । पढेर सकेपछि पनि यही क्षेत्रमा काम गर्ने योजना रहेको र विद्यालयमा सिकेको कुरा घरमा गएर अभिभावकलाई पनि सिकाउन थालेको उनी बताउँछन् । कृषि विषय पढ्दै आएका विद्यार्थी खाली समयमा तरकारी खेतीमा नै व्यस्त हुन्छन् । अहिले विद्यार्थीले टमाटर र च्याउखेती गर्नाका साथै १२ कट्ठा जमिनमा केरा पनि लगाएका छन् । ड्रागन फ्रुट र मेवा पनि लगाएका विद्यार्थीले गड्यौला मल पनि विद्यार्थी उत्पादन गर्दै आएका छन् । बाली विज्ञान विषय पढ्ने विद्यार्थीकै लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पन्ध्र घार मौरी सहयोग गरेको छ । यही घारबाट विद्यार्थीले ५० केजी मह उत्पादन गरेर बिक्रीसमेत गरेको विद्यालयका बाली विज्ञान विषय शिक्षक सन्तोष भण्डारी बताउँछन् । ‘पाँच सय रुपैयाँ केजीका दरले मह बिक्री भयो’, उनी भन्छन्, ‘पहिलो प्राथमिकतामा स्कुलका विद्यार्थी र शिक्षकलाई बिक्री गर्यौँ ।’ दुई सय केजी टमाटर बिक्री भइसकेको र फेरि फल्न सुरु गरेको शिक्षक भण्डारी बताउँछन् । तिहारका बेलामा सयपत्री फूलको माला उत्पादन गरेर बिक्रीसमेत गरिएको थियो । आफूले पढेको विषयमा विद्यालयमै प्रयोगात्मकरुपले व्यवहारमा उतार्न पाउँदा विद्यार्थी खुसी देखिएको शिक्षक भण्डारी बताउँछन् । विद्यार्थीले सिकाइकै क्रममा कमाइ पनि गर्न सक्छन् । ‘स्कूलले लगानी गर्छ’, उनी भन्छन्, ‘काम र त्यसको प्रतिफल पनि विद्यार्थीले नै लिने गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो उद्यमशीलाताको विकास गरेका छन् ।’ विसं २०७४ देखि विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरेको विद्यालयले उत्पादनलाई बजारीकरणसँग पनि जोडेको छ । ‘विद्यार्थीलाई खेतीपातीमा लाग्न सिकाउँदा अभिभावकहरू रिसाउँछन् कि भन्ने लागेको थियो’, प्रधानाध्यापक इन्द्रनाथ पौडेल भन्छन्, ‘तर अहिले उनीहरू नै हाम्रा छोराछोरीलाई राम्र्रोसँग सिकाइदिनु है सर भन्दै आउँछन् । टाढाटाढाबाट पनि यो विषय पढ्न विद्यार्थी आउने गरेका छन् । बुझेका अभिभावक र विद्यार्थी यो विषयमा आकर्षित हुने गरेका छन् ।’ कक्षाकोठाभित्र पढाइमा क्रियाशील नहुने विद्यार्थी पनि प्रयोगात्मक सिकाइमा बढी क्रियाशील हुने गरेको उनको भनाइ छ । विद्यार्थीले विषादीरहित उत्पादनमा जोड दिइरहेका छन् । मल बोक्ने, बारी खनजोत, तरकारी गोडमेल विद्यार्थी आफैँले गर्छन् । सामूहिक प्रयासको अभ्यासमा उत्पादनसँगै सिकिरहेका पनि छन् । ‘पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता देखिने गरेकामा अहिले पढेकाहरूले पनि आफ्नै देशको माटोमा पौरख गर्न सक्छन्, अझ भन्ने हो भने पढाइअनुसारको काम गर्यो भने उत्पादनमा पनि सहयोग पुग्छ । मरुभूमिमा उत्पादन भएका वस्तु हामी खाइरहेका छौँ तर हरेक चिज फल्ने देशमा भने माटो सुहाउँदो पढाइ पनि भइरहेको छैन’, प्रअ पौडेल भन्छन् । यस विद्यालयमा प्राविधिक धारतर्फ कक्षा नौदेखि १२ सम्म बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ । चितवनमा कृषि विश्वविद्यालय भएकाले पनि यहाँ कृषि विषय पढ्ने विद्यार्थीको आक्रर्षण छ । विसं २०७४ मा नौ कक्षामा ४८ जनाबाट विद्यालयको पठनपाठन शुभारम्भ भएको हो । यस विद्यालयमा बाली विज्ञान पढ्ने विद्यार्थी एक सय ३५ छन् । अहिले कक्षा ९, १०, ११ र १२ मा क्रमशः ४८, ४०, २४ र २३ विद्यार्थी छन् । सबै विद्यार्थी राम्रो नतिजा ल्याएर उत्तीर्ण भइरहेका छन् । विद्यालयमा प्राविधिकतर्फ आठ शिक्षक छन् । बाली विज्ञान विषयको पाठ्यक्रमअनुसार सैद्धान्तिक ४० प्रतिशत र प्रयोगतात्मक ६० प्रतिशत हुन्छ । सोहीअनुरुप कृषिका लागि छुट्टै प्रयोगशालासमेत विद्यालयले स्थापना गरेको छ । माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ ।