नेपालका विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकाे बनाउँन मन्त्री पौडेलको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ, म्यानेजमेन्ट, हस्पिटालिटी लगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्दै एक कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा.भोला थापाको उस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाको एकहप्ते भ्रमणमा रहेको टोलीले चेन्नईस्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसँग डाईवेटोलोटिमा सयुक्त विधावारीधि कार्यक्रम सञ्चालनको सम्भावनाबारे छलफल भएको थियो । आइआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमका लागि छलफल गर्ने योजना रहेको बताइएको छ ।रासस
उदयपुरको कृषि प्राविधिकका विद्यार्थीले च्याउखेतीबाट मनग्य आम्दानी लिँदै
कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । ‘किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौं’, छात्र विवश लामिछाने भन्छन्, ‘भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि ।’ २२ विद्यार्थीले ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमै ४० हजार आम्दानी लिइसकेका छन् । दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ । पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउखेती गर्दै आएका विद्यार्थी बताउँछन् । ‘यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौं’, छात्र सन्देश भण्डारीले भने, ‘पढाइसँगै सीप पनि सिक्छौँ र पढ्न खर्च पनि बनाउँछौँ ।’ भविष्यमा च्याउखेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए । कटारीमा च्याउको मागअनुसार उत्पादन नभएको पाइएपछि च्याउखेती गरिएको विद्यार्थीको भनाइ छ । विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन् । विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताएँछन् । ‘पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन् ।’ दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन् । उनीहरूले उत्पादन गरेको च्याउ विद्यालयमै बिक्री हुने गरेको छ । च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन् । जाडो मौसममा राम्रो उत्पादन हुने कन्या च्याउ लगाइएको जनाउँदै विद्यार्थीले सामूहिकरूपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताउँछन् । यस विद्यालयका विद्यार्थीले यसअघि गएको तिहारमा सयपत्री फूलखेती गरेर पनि राम्रो आम्दानी गरेका थिए ।
द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम, भर्ना गर्ने पहिलो ३० जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा द ब्रिटिस कलेजले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्राेग्राम लञ्च गर्न लागेको हो । यो प्रोग्राम द ब्रिटिस कलेजको सहायक संस्था द ब्रिटिस इन्टरनेशनल कलेजद्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । कलेजको अनुसार यो अफर जनवरी महिनासम्म मात्र हुनेछ । किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ । किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । यस विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । कलेजकाे अनुसार यस संस्थामा अध्ययनरत गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन् । ब्रिटिस कलेजका सिइओ राजन कँडेलले किल् विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा उत्साहित भएकाे बताए । ‘नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ, यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ,’ उनले भने ।