गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल
सुदूरपपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए। उनले भने, ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ ।’ पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गर्ने र सबैभन्दा धेरै सुदूरपश्चिममा नै आएर आयोजनाको अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने ,’यस पटक पनि प्रदेशस्तरमा विकास आयोजनाको अनुगमन गर्ने काम सुदूरपश्चिमबाटै भएको छ देशकै निम्ति गौरवको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्दैछ ।’ सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि कुर्नै पर्दैन भने । अवलोकनका क्रममा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधीन रहेको कार्यकारी निर्देशक पुजाराले बताए । कलेज निर्माणमा हालसम्मको लागत पाँच अर्ब ४५ करोड रुपैयाँ रहेको छ । विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाका लागि संरचना निर्माण सुरु भएको थियो । गेटा मेडिकल कलेज छ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेज सञ्चालनसँगै स्वास्थ्य शिक्षाका उच्चस्तरको जनशक्ति उत्पादन हुने र स्वास्थ्योपचारको सेवा प्राप्त हुनेछ ।
अध्ययनसँगै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी
भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैँ व्यवस्थापन गर्दै आएकी छन् । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् । ‘भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने’, विपनाले भनिन्, ‘च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।’ समूहमा जोडिएका अछाममा रमेश साउँद मंगलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छिन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पुर्याउछन् । उनीसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि । प्रतिकेजी एक सय २० मा च्याउ बिक्री हुने गरेको उनी बताउँछिन् । ‘बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ,’ रमेशले भने, ‘आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।’ प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् । आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशी बताउँछन् । ‘आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि ।’ कुवेर भन्छन, ‘उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।’ उनीहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाए । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन् । फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउँछन् । ‘हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ’, अर्जुनले भने, ‘कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।’ यसभन्दा पहिले उनीहरुले फूल खेतीसमेत गरेका थिए । फूल खेतीबाट ५० हजार आम्दानी गरेको आशिष धामीले बताए । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ । उनले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताए । ‘फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौँ । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो’, उनी भन्छन्, ‘आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।’ कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उनीहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ । रासस
४ करोडमा कञ्चनपुरमा शिक्षालयको भवन निर्माण हुँदै
कञ्चनपुर । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा चार करोड पाँच लाख रुपैयाँको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउण्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयका प्रमुख दिपक बिष्टले बताए । ‘असोज महिनाभित्रै निर्माणको कार्य पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ’, उनले भने, ‘सम्झौताअनुसार निर्माणको कार्य भइरहेको छ ।’ उनका अनुसार निर्माण भइरहेको शिक्षालयको भवनमा ११ वटा कक्षा कोठा, शौचालय निर्माण हुने छन् । निर्माण भइरहेको भवन पूर्णरुपम भूकम्प प्रतिरोधी हुने उनले जानकारी दिए । शिक्षालयको आफ्नो भवन नहुदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको नगरपालिकाको वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर साउँदले बताए । शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । सिभिलमा ४८, मेकानिकलमा २४ र अटोमोबाइलमा २४ गरी ९६ विद्यार्थी पठनपाठन गर्दै आएका छन् । शिक्षालय स्थापनाको पहिलो वर्ष कक्षा सञ्चालन र कार्यालय व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले ५० लाख रकम अनुदानस्वरुप उपलब्ध गराएको निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘शिक्षालय स्थापना गर्दा केन्द्रबाट बजेट निकासा नभए पछि नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई कक्षा सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘आर्थिकरुपमा कमजोर रहेका परिवारले प्राविधिक शिक्षा पढाउन बालबालिकालाई टाढाको विद्यालय पठाउन सक्ने अवस्था थिए, अहिले घर दैलोमै प्राविधिक शिक्षा पढ्न पाएका छन् ।’ गुणस्तरीय शिक्षामा जोड दिनका लागि लाग्नुपर्ने उनको भनाइ रहेको छ । रासस