स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा १ महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको हकमा भने कार्यतालिका प्रकाशित भएको मितिभन्दा २ दिनअघिसम्म मात्र भर्ना भएका विद्यार्थी मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ । कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने उल्लेख गरिएको छ । तर, विषय परिवर्तन गरी अध्ययन गर्न नियमित विद्यार्थीका रूपमा क्याम्पस भर्ना भएका विद्यार्थीको नाम मतदाता नामावलीमा समावेश गरिने र प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश नगरिने भएको छ । त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो । निर्देशिकामा वि.सं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ । निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै सङ्घ, सङ्गठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन् । निर्देशिकामा स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर पाँच सदस्यीय कार्यसमिति, २०१ देखि १ हजारसम्म विद्यार्थी भए ७ जनाको कार्यसमिति, १ हजार एकदेखि ३ हजारसम्म भए ९ जनाको र ३ हजार १ देखि ५ हजारसम्ममा ११ सदस्यीय र ५ हजार १ देखिमाथि भए १३ जनाको कार्यसमिति हुने उल्लेख गरिएको छ । त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको छ । चैत ५ गते देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्ध प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

संस्कार सिकाउँदै संस्कृत शिक्षा

लेखनाथ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, संस्कृत क्याम्पस, संस्कृत मावि, केदारेश्वर विद्याश्रम, ढुङ्गेसाँगुस्थित वात्स्यायन गुरुकूल विद्याश्रम, लेखनाथको डाँडाको नाकस्थित गुरुकूल विद्याश्रमलगायतका स्थानमा संस्कृत शिक्षाको अध्यापन गरिन्छ। संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ। संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय पोखराको लेकसाइडस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले श्रीकेदारेश्वर वैदिक गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०७३ सालदेखि सञ्चालनमा आएको उक्त विद्याश्रममा ६९ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य गणेश पौडेलका अनुसार विद्याश्रमले कक्षा ६ मा विद्यार्थी भर्ना लिई कक्षा १२ सम्म अध्यापन गराउने उद्देश्यले विद्याश्रम सञ्चालनमा ल्याइएको हो। हाल विद्याश्रममा ६ देखि ११ कक्षासम्म अध्यापन भइरहेको छ। गत वर्ष आठ जना विद्यार्थीले एसइई दिएकामा पाँच जना ए प्लस र २ जना बि प्लस र एक जनाले बि ग्रेड ल्याएर उत्तीर्ण भएको जानकारी पौडेलले दिए । पोखराको केदारेश्वरस्थित विद्याश्रममा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । विद्याश्रममा परम्परागततर्फ संस्कृत व्याकरण, वेद, कर्मकाण्ड र संस्कृत भाषा विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी प्राचार्य पौडेलले दिए। यसका साथै परम्परागततर्फ पुराण, रामायण, उपनिषद्, योग, ध्यान र सङ्गीतमा पनि अध्यापन गराइने बताइएको छ । केदारेश्वर वैदिक गुरुकूल विद्याश्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गणेश भण्डारीले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए। संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ। संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा देशभक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी भण्डारीको भनाइ छ। विद्याश्रमका शिक्षक माधव शर्माका अनुसार विद्यार्थीले प्रत्येक सोमबार केदारेश्वर मन्दिरमा साँझ महाआरती गर्ने गरेका छन्। समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ शर्माको छ। सरकारको स्वीकृति लिएर पढाइएको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ। नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास शर्माको छ। विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पुर्‍याउन यो शिक्षा फलदायी हुने उनले बताए । रासस

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए । ‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपाँईहरुको साथमा छु’, प्रधानमन्त्रीले अगाडि भने, ‘जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ ।’ उहाँले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, उनले विश्वास व्यक्त गरे । उहाँले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए । ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ’, उनले भने । शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे । ‘शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो’, उनले भने । प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए ।