कक्षा ५ सम्मको पाठ्यपुस्तक छाप्न सूचीकरण भए १३ वटा छापाखाना

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मका विद्यार्थीले पढ्ने किताब छपाई गर्नका लागि १३ वटा छापाखानालाई सूचीकरण गरेको छ । पाठयक्रम विकास केन्द्रका अनुसार १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने ४ रङका पाठ्यपुस्तक छपाई गरी बिक्री वितरण गर्न ती छापाखाना सूचीकरण भएका हुन् । आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षासम्मका विद्यार्थीले पढ्ने पाठ्यपुस्तक छापेर बिक्रीवितरण गर्न इच्छुक संस्थाहरुलाई नवीकरण तथा सूचीकरणको लागि केन्द्रले माघको ७ गते सूचना आह्वान गरेको थियो । सोही अनुरुप ती संस्थाहरु सूचीकरण भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब पाठ्यपुस्तक छाप्न इच्छुक सूचीकरण भएका मध्येका संस्थाले फागुन १० गतेभित्र धरौटी जम्मा गर्नुपर्ने हुन्छ । गत शैक्षिक सत्रमा केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक मात्रै निजी क्षेत्रलाई छाप्ने जिम्मेवारी दिएको थियो । आगामी शैक्षिक सत्रमा १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न र बिक्री वितरण गर्न दिँदा समयमा नै विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाले बताए ।

विश्वविद्यालयको संख्या थप्ने होडबाजी, गुणस्तरमा छैन चासो

काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको धनगढीमा रहेको गेटा मेडिकल कलेजलाई शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य तथा विज्ञान विश्वविद्यालय बनाउने बताए । उनले गेटामा विश्वविद्यालय निर्माण गर्ने विषयमा क्याबिनेटबाट निर्णय भइसकेको पनि बताए । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरको विषयमा विभिन्न कोणबाट प्रश्न उठ्दै आएको छ । सरकारले विश्वविद्यालयको गुणस्तरमा सुधार गर्नको लागि आवश्यक पहलकदमी अगाडि बढाउन चासो दिएको देखिँदैन । तर, संघीय र प्रादेशिक सरकारहरुले भने विश्वविद्यालयको संख्या थप्न तछाडमछाड गरिरहेका छन् । विश्वविद्यालय विशेषगरी विश्वव्यापी रुपमा नै स्वीकार्य र प्रतिस्पर्धी हुनपर्ने तर नेपालका विश्वविद्यालको अवस्था त्यस्तो नरहेको शिक्षाविद् डा।विष्णु कार्की बताउँछन् । ‘विश्वविद्यालय भनेको विश्वव्यापी रुपमा रिकग्नाइजेवल र कम्पिटेटिभ संस्था हो, विद्यार्थीहरुले विश्वविद्यालयबाट डिग्री वा सर्टिफिकेट लिइसकेपछि त्यसको विश्वव्यापी मान्यता हुनुपर्छ’, उनले भने, ‘तर नेपाली विद्यार्थी विश्वविद्यालयबाट पास भएर अर्को देशको विश्वविद्यालयमा जाँदा थप टेस्ट दिने, थप जाँच हुन्छ, नेपालको विश्वविद्यालय हो अरुले विश्वास गर्दैनन्, त्यसो हुँदा हामी एकहिसाबले खस्किइसकेका छौं ।’ नेपालबाट स्नातक वा स्नातकोत्तर तह पुरा गरेको विद्यार्थीले अर्को देशमा स्नातकोत्तर वा एमफिल गर्न जाँदा उसले तय गरेको नयाँ मापदण्ड पुरा गरेर मात्रै भर्ना हुन पाउने अवस्था रहेको कार्की बताउँछन् । आफैले पनि त्यस्तो अनुभव गरेको उनको भनाइ छ । अमेरिका र युरोपका विश्वविद्यालयहरुले नेपाली विश्वविद्यालयलाई ‘लो रेटिङ’ मा राख्ने गरेका छन् । त्यस्तै, विश्वविद्यालय देशको लागि चाहिने र विश्वमा मुलकलाई पहिचान विस्तार गर्नका लागि योगदान पुर्याउन सक्ने उच्चस्तरको जनशक्ति उत्पादन गर्नको लागि सञ्चालन गरिने डा।कार्कीको भनाइ छ । ‘विश्वविद्यालय सञ्चालन गर्दा केही विषय समेटिनुपर्छ, हाम्रो आफ्नै आवश्यकता, बजार, विशेषज्ञताको माग अथवा हाम्रो मुलुकको लागि चाहिने उच्चस्तरको जनशक्ति आधारलाई लिनुपर्छ’, उनले भने, ‘विश्वविद्यालयको जनशक्ति भनेको हामीकहाँ मात्रै उत्पादन भएर हामीकहाँ मात्रै खपत हुने भन्ने होइन्, विश्वविद्यालयबाट उत्पादन भएको जनशक्तिले मुलुकलाई चिनाउनेगरी पनि अन्य देशमा पनि योगदान गर्न सक्छन् ।’ यतिबेला विश्वविद्यालय अनुदान आयोगसँग जोडिएर ११ वटा विश्वविद्यालय सञ्चालनको अवस्थामा रहेका छन् । आर्थिक सर्वेक्षण ०७८/७९ अनुसार ती विश्वविद्यालय र मातहतका क्याम्पसमा मात्रै साढे पाँच लाख भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । त्यस्तै, विदेशी विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन भएका कलेजहरुको संख्या ८६ वटा रहेको छ, त्यहाँ पनि हजारौं विद्यार्थीहरुले अध्ययन गर्ने गर्छन् । सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयले आफ्नै शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न सकेको छैन् । अन्य विश्वविद्यालयहरुमा पनि स्रोत साधन, पाठ्यक्रम, जनशक्ति लगायत थुप्रै समस्या रहेका छन् । राजर्षि जनक विश्वविविद्यालयमा २ सय जना पनि विद्यार्थी छैनन् । त्यस्तै अन्य विश्वविद्यालयहरुमा पनि विद्यार्थी संख्या न्यून रहेको अवस्था छ । नयाँ नेपाल विश्वविद्यालय पनि सञ्चालनको लागि ऐन निर्माणको प्रकृया अगाडि बढेको छ । केही प्रदेश सरकारहरुले पनि विश्वविद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले छलफललाई अगाडि बढाएका छन् । यसरी हेर्दा संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको संख्या डेढ दर्जन पुग्न लागिसकेको छ । ‘२ सय विद्यार्थी संख्यामा प्राथमिक विद्यालय पनि सञ्चालन हुन सक्दैन, तर विश्वविद्यालय खोल्दैछौं, यो के गरिरहेका छौं रु’, कार्की प्रश्न गर्छन । उनका अनुसार नेपाललाई कुन विषयमा कति जनशक्ति चाहिएको भन्ने विषयमा अनुसन्धान गर्ने र योजना बनाउने काम भएको छैन । जसले गर्दा विद्यार्थीहरुले खुरुखुरु विश्विद्यालयमा पढ्ने, पढिसकेपछि अवसर नपाउने र त्यसपछि विदेशिने अवस्थाको दुर्दशा बनेको उनको भनाइ छ । नेपालका विश्वविद्यालयहरुमा हुने प्राविधिक अध्ययन तुलनात्मक रुपमा राम्रो रहेको तर अन्य विषयगत अध्ययनको अवस्था धेरै राम्रो हुन नसकेको डा। कार्कीको भनाइ छ । ‘नेपाली विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति भने विश्वबजारमा कहिँ पनि तुलना हुने अवस्थामा छैन’, उनले भने, ‘हाम्रा विश्वविद्यालयले न हाम्रा स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सके, नत हामीलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धामा जान सक्ने बनाए ।’ मुलतः अनुसन्धान पद्दती अनुसार अध्यापन गर्नेगरी विश्वविद्यालयको सञ्चालन गर्ने अभ्यास विश्वव्यापी रुपमा अपनाउने गरेको विज्ञहरुको भनाइ छ । जसको लागि भौतिक पूर्वाधार, गुणस्तरीय जनशक्तिको व्यवस्था र सञ्चालन खर्च निकै उच्च स्तरको हुने गर्दछ । डा।कार्कीले विश्वविद्यालयको अध्ययन अध्यापन पूर्णतया अनुसन्धान पद्दतीसँग जोडिएको हुनुपर्ने, अनुसन्धान गर्ने नयाँ विषयहरुको खोज गर्ने, समस्याहरुको पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने उपायहरु खोज्नेसँग जोडिएको हुनुपर्ने बताउँछन् । ‘विश्वविद्यालय भनेको समाजलाई सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने संस्था हो, पिएचडी ल्याएर घरमा झुण्ड्याउने र डिग्री बाँड्ने मात्रै होइन्’, उनी भन्छन्, ‘समाजका समस्याहरुलाई चुनौतिहरुलाई सामना गर्न सक्ने क्षमता विकास गर्ने हो ।’ विदेशी विश्वविद्यालयहरुले विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न र पिएचडी अनुसन्धान गर्न ठूलो मात्रामा छात्रवृत्ति प्रदान गर्ने तर नेपालको सन्दर्भमा विश्वविद्यालयहरुको आम्दानी नभएको उनको भनाइ छ । नेपालमा परम्परागत प्रकृतिकै विश्वविद्यालयहरुको संख्या थप चाहिने अवस्था नरहेको बरु अहिले भएका विश्वविद्यालयलाई पनि मर्ज गराएर ५र७ वटामा झारेर गुणस्तरीय बनाउँदा राम्रो हुने डा।कार्की बताउँछन् । नेपालमा उच्च स्तरको शिक्षा अध्ययन तथा अनुसन्धान गर्नको लागि वातावरण राम्रो भएको र विदेशी विद्यार्थीलाई लक्षित गरेर विश्वविद्यालयहरुको सञ्चालन गर्न सकिने सम्भावना भने भएको उनको भनाई छ । वातावरण र जैविक विविधताले सो विषयको सम्भावनालाई औंल्याउने उनी बताउँछन् । डा।कार्कीले नयाँ सोँच सहित सञ्चालन गर्न तयार हुने हो भने नयाँ विश्वविद्यालयहरुको पनि थप सम्भावना भएको बताए । ‘शिक्षा क्षेत्र भनेको लगानी हो, तर त्यसबाट राज्यले रिटर्न लिन सकेन भने त्यो वेस्टेज हो, यदी युवाहरु पढेर खाडीमा नै जाने हो भने किन विश्वविद्यालय चाहियो ?’, उनी भन्छन्, ‘यस्ता विश्वविद्यालय छन्, जहाँ दुईरचार जना प्रशासनिक कर्मचारीहरु छन्, न त्यहाँ शिक्षाविद् छन्, न त्यहाँ स्रोत, न त्यहाँ ल्याब छ, न त्यहाँ पुस्तकालय छ रु त्यो विश्वविद्यालय भन्नु नै लाजमर्दो छ, यसरी चल्दैन ।’

नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न

काठमाडौं । नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स/आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको हाे । कार्यक्रमलाई ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओशाका ,मोरिकोसान कम्पनी ,स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो । यो प्रथम अनलाइन सेमिनार कार्यक्रममा जापान र नेपालका बिभिन्न क्षेत्रहरू जस्तैः– पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टे तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थाहरूसँग सहकार्य गरि ७० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए । नेपालको तर्फबाट आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, आईजिसि ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा तथा काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली विद्यार्थी समाज जापानका महसचिब सञ्जय कार्कीले जापानमा नेपाली विद्यार्थीहरुको अवसर र चुनौती बिषयमा आफ्नो बिचार राखेका थिए । दुई चरणमा गरिएको कार्यक्रमको दोश्रो चरणमा सहभागि कम्पनीहरु लाई पर्यटन, होटल, इनसोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संसाधन जस्ता बिभिन्न ग्रुपमा बिभाजन गरि व्यावसायिक परिचय एक अर्काप्रती आदान प्रदान होस भन्ने उद्देश्य सहितको अन्तरक्रिया कार्यक्रम गरिएको थियो । यसका अतिरिक्त नेपालबाट जापानमा विद्यार्थीहरु लगायत विभिन्न क्षेत्रका कामदारहरु पठाउन चाहाने र नेपालको विभिन्न क्षेत्रमा व्यावसायिक प्रवद्र्धन तथा अभिबृद्धि गर्न चाहाने जापानिज कम्पनीहरुलाई एक अर्काप्रती व्यावसायिक छलफल र ब्यापारिक साझेदारीको सम्भावना लगायतको बिषयमा अन्तरक्रिया गराइएको थियो । कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक एवम् नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो इतिहास रहेको कुरा उल्लेख गरे । उनले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटी लगायतको क्षेत्रको हाइ स्किल्ड म्यानपावर पनि प्रशस्त मात्रामा लिन सक्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं विश्व बिद्यालयका एकेडिमीआ इण्डस्ट्री समन्वय बिभाग निर्देशक डा. राम लामाले जापानमा नेपाली लगायत एसियन मुलुकका विद्यार्थीहरु बढ्दो अवस्थामा रहेको र त्यस्तो विद्यार्थीहरुलाई मध्यनजर गर्दै काठमाडौं विश्वबिद्यालयले सम्बन्धित देशको विश्वबिद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गरि सोही देशमा काठमाडौं विश्वबिद्यालयको डिग्री उपलब्ध गराउने सोच सहित अगाडि बढेको बिचार गरे । एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावाले आफुहरुले विभिन्न देशका विद्यार्थीहरुलाई दिक्षित गरि उज्ज्वल भबिष्य निर्माणमा योगदान दिँदै आएको र आगामि दिनमा यो कार्यलाई अझै अगाडि बढाउदै लान नेपाल र जापानको सम्बन्धलाई मजबुत बनाउदै अगाडि बढ्न आजको कार्यक्रमले थप प्रेरित गरेको कुरा ब्यक्त गरे । कार्यक्रममा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्यसँगै सामाजिक र राष्ट्र हित सम्बन्धित रहेर विभिन्न माध्यमबाट सहयोग गर्न र योगदान दिन पाउदा खुसि लागेको कुरा ब्यक्त गरे । कार्यक्रमको व्यवस्थापन संयोजन समेत रहेका क्योउदाइ रेमिट्यान्सका म्यानेजर तथा एनआरएन जापानका पूर्व केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत (दिनेश) ले जापानमा नेपालीहरुको अवस्था अवसर र समस्याको विषयमा प्रकाश पारे ।