शुक्लाफाँटा नगरपालिकामा एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईलाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए । उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि पाँच लाख रुपैयाँ परिचालन गरिएको छ । ‘अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं’ प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौँ ।’ अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन् । अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ । ‘गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन’ शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, ‘त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषयबस्तुसँगै एसइईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अङ्क ल्याउन मद्दत पुग्छ ।’ ‘एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन्,’ उनले बताए, ‘यसबाट विद्यार्थीले ट्युसन पढनु नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ ।’ रासस
अभिभावक विहीनहरुको जीवन खोज्दा विकास भएको एसओएस स्कुल
फोटो : नारायण अर्याल काठमाडौं । समाजमा भेटिने हरेक विषयले आफ्नो इतिहास कोर्दै अगाडि बढेको हुन्छ । नेपालमा अस्तित्वमा रहेका हजारौं स्कुलहरुको आ–आफ्नै भिन्न इतिहास हुन्छ । धेरै स्कुल शिक्षा विकासको आवश्यकताले खोलिएका हुन् । तर, एसओएस हर्मन गेमिनर सेकेन्डरी स्कुलको इतिहास भने भिन्न छ । दोस्रो विश्वयुद्ध पश्चात अष्ट्रियका एक प्रोफेसर हर्मन गेमिनरले युद्धमा आमाबाबु गुमाएका बालबालिकाहरुलाई संरक्षण र लालपालन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको (एसओएस चिल्ड्रेन भिलेज) संस्था खोलेका थिए । विश्वयुद्धमा आफ्ना आमाबाबु गुमाएका बालबालिकाहरुलाई पारिवारिक माया दिने उद्देश्यले प्रोफेसर गेमिनरले विश्वका धेरै मुलुकहरुमा एसओएस चिल्ड्रेन भिलेज प्रारम्भ गरेका थिए । त्यसैको संस्करण स्वरुप नेपालमा सन् १९७३ मा सानोठिमी भक्तपुरमा पनि शुरुवात गरिएको थियो । नेपालमा सो संस्थाको शुरुवात गर्नको लागि राजपरिवारले पनि आवश्यक समन्वयात्मक र सहयोग गरेको संस्थाका जानकार बताउँछन् । भिलेजमा अहिले एक सय ५० जति बालबालिका बस्छन् । भिलेजमा बस्ने बालबालिकाहरुलाई पढाउने उद्देश्यले बालग्रामले माध्यमिक तहकै स्कुलको शुरुवात गरेको थियो । तर, भिलेजमा बस्ने बालबालिकाहरुलाई मात्रै लक्षित गरेर विद्यालय सञ्चालन गर्ने विषय सामाजिक हिसाबले उपयुक्त नभएपछि सबै विद्यार्थीहरुले पढ्नेगरी एसओएस हर्मन गेमिनर स्कुलको शुरुवात गरिएको थियो । ‘ग्राममा बस्ने बालबालिकाहरुलाई सामाजिकीकरण गर्नको लागि यो अवधारणा अनुरुप स्कुल सञ्चालन गरिएको हो’, स्कुलकी प्रिन्सिपल रन्जना बजगाईं भन्छिन्, ‘संरक्षित बालबालिकाहरुलाई मात्रै पढाउँदा उनीहरुको सामाजिकीकरणमा समस्या हुने अवस्था सिर्जना हुनसक्ने हुन्छ ।’ भिलेजमा बस्ने बालबालिका सहित ९ सय ७२ जना विद्यार्थीले अहिले एसओएसमा पढ्छन् । स्कुलमा १२ कक्षा सम्मको पढाई हुन्छ । स्कुलमा ७६ जना शिक्षक तथा कर्मचारीहरुले काम गर्छन् । शैक्षणिक प्रकृयामा स्कुलले एउटा नयाँ विशेषतालाई अंगालेको छ । स्कुलकी प्रिन्सिपल बजगाईंका अनुसार यो स्कुलमा पढाउनको लागि शिक्षकले अनिवार्य रुपमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ । ‘हाम्रो स्कुलमा एउटै शिक्षकले तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म पढाउनुहुन्छ, त्यसो हुँदा स्कुलले कम्तिमा स्नातक तह उत्तिर्ण गरेको मात्रै लिने गरेको छ’, उनी भन्छिन्, ‘अनि शिक्षकहरुमा राम्रो विषयवस्तुमा ज्ञान भएको हुनुपर्छ ।’ शैक्षिक स्तर माथिल्लो भएको र क्षमतावान शिक्षक लिँदा एउटै शिक्षकले तल्लो तहदेखि माथिल्लो तहसम्म पढाउने वातावरण बनेको उनी बताउँछिन् । फरक इतिहास बोकेको यो स्कुलको अर्को पक्ष पनि रोचक छ । यो स्कुल मिश्रित अवधारणाबाट सञ्चालन भइरहेको छ । स्कुलको आधारभुत तह अर्थात कक्षा ८ सम्मको स्विकृति सरकारी हो । त्यसभन्दा माथिको शैक्षिक कार्यक्रम भने स्कुल आँफैले सञ्चालन गरेको छ । स्कुलको शुरुवातको अवस्थामा सरकारी शिक्षकहरुबाटै शुरुवात भएको स्कुलमा अहिले भने एकजना मात्रै निमावी तहको स्थायी दरबन्दीको शिक्षकले अध्यापन गर्ने काम गर्छन् । प्रिन्सिपल बजगाईंले स्कुल सरकारी भएपनि अहिले सरकारी शिक्षक नहुनुको विषयमा रोचक प्रसंग सुनाउँछिन् । ‘पहिले स्कुलमा अधिकांश सरकारी कोटाका शिक्षकहरु हुनुहुन्थ्यो, संस्था दाताहरुको सहयोगको कारणले पनि निकै धनी थियो, जसले गर्दा सरकारी कोटाबाट अध्यापन गर्न आउने शिक्षकहरुलाई स्कुलले पैसा थपेर झण्डै दोब्बर तलब दिने गर्दथ्यो’, उनी भन्छिन्, ‘जसले गर्दा स्कुलमा आउन चाहने शिक्षकहरुका दबाब निकै हुन्थ्यो ।’ सोही कारणले स्कुलले सरकारी शिक्षकहरुलाई विस्तारै कटौती गर्दै लैजाने र स्कुलकै स्रोतबाट स्कुल सञ्चालन गर्ने नीति अगाडि बढाएको उनी बताउँछिन् । तर, अहिले पछिल्लो समयमा स्कुल दाताहरुको तर्फबाट स्रोत आउन निकै कमि भएको छ र सरकारी दरबन्दीका शिक्षकहरु पनि छैनन् । जसले गर्दा स्कुलले विद्यार्थीहरुबाट शुल्क लिएर नै खर्च सञ्चालन गर्ने गरेको छ । त्यस्तै, पछिल्लो समयमा स्कुलले शिक्षक तथा कर्मचारीहरुलाई पहिले जस्तो धेरै तलब दिने अवस्था पनि रहेको छैन । संस्थागत आम्दानी कम हुनुको कारण एसओएस इन्टरनेशनलले पछिल्लो समयमा अभिभावकविहिन बालबालिकाहरुलाई पालनपोषणलाई प्राथमिकता दिएको र स्कुल सञ्चालनको विषयलाई क्रमशः हटाउँदै गएको प्रिन्सिपल बजगाईंको भनाइ छ । ‘पहिला एसओएसले स्कुललाई आफ्नै अंगका रुपमा बुझेको थियो, सन् २००० बाट क्रमशः विद्यालय सञ्चालनको निम्ति अनुदान कटौती गर्दै जान थाल्यो’, उनले भनिन्, ‘सन् २००० पछि एसओएसले कि विद्यालय बन्द गर्ने त कि राज्यलाई हस्तान्तरण गर भनेर निर्देशन गर्यो ।’ आफूहरुले भने विद्यालय बन्द गर्ने वा सरकारलाई हस्तान्तरण गर्ने विषयमा सोँच्न नसकेको उनले बताइन् । विद्यालय बन्द गर्दा बालग्राममा बसेका बालबालिकाहरुलाई पढ्न समस्या पर्नसक्ने र सरकारलाई हस्तान्तरण गर्दा स्कुलले कायम गर्ने गुणस्तर कायम हुने विषयमा शंका लागेकाले सो नगरिएको उनी बताउँछिन् । स्कुलले शैक्षिक क्रियाकलाप सञ्चालनमा पनि विशिष्ट प्रकारको बालमैत्री अभ्यास गरेको छ । ‘हामीले बाल सुरक्षण नीतिलाई पूर्णरुपमा पालना गर्छौं, स्कुलले ‘चाइल्ड सेफ मेकानिजम’लाई स्ट्रोङ्ली लागु गर्छ’, प्रिन्सिपल बजगाईं भन्छिन् । स्कुलले प्रिन्सिपलको नेतृत्वमा बाल सुरक्षण नीति कार्यान्वयनको लागि कमिटि पनि बनाएको छ । यदी कुनै समस्या आएमा त्यसलाई तुरुन्त छानविन गरी सुधार वा कारवाही गर्नको लागि सो कमिटिले काम गर्ने गर्छ । विद्यार्थीलाई जर्वजस्ती सिक्न वा पढ्न लगाउने विधिको प्रयोग गरेर शैक्षणिक कार्यक्रम सञ्चालन नगरिने प्रिन्सिपल बजगाईं बताउँछिन् । उनले स्कुलमा विद्यार्थीलाई स्वतन्त्र ढंगले सिक्नको लागि वातावरण तयार गरिएको बताइन् । ‘हामीले स्पोन फिडिङ गर्दैनौं, ओभर गाइडेड गर्दैैनौं’, उनले भनिन् । स्कुलले कक्षा १२ सम्म नै नेपाल सरकारले तोकेको पाठ्यक्रम लागु गर्ने गरेको छ । कक्षा ११ र १२ भने सबै विषय पढ्ने सुविधा छैन् किनकी सो तहमा साइन्स विषय मात्रै रहेको छ । सरकारले नयाँ पाठ्यक्रम विकास गर्दै लैजाँदा सो अनुसार गुणस्तर कायम गर्न भने समस्या पर्दै गएको प्रिन्सिपल बजगाईं बताउँछिन् । स्कुलले कक्षा १० सम्म पढ्ने विद्यार्थीलाई कम्प्युटर उपलब्ध गराएको तर ११ र १२ मा कम्प्युटर उपलब्ध गराउन नसक्दा इन्जिनियर र आइटी पढ्न चाहने विद्यार्थीहरु नआउने गरेको उनी बताउँछिन् । स्कुलले वार्षिक शुल्क भनेर विद्यार्थीहरुसँग शुल्क लिने गर्छ, स्कुल नाफामुखी संस्था नभएको कारणले विद्यार्थीसँग न्यूनतम मात्रै शुल्क लिने गरिएको प्रिन्सिपल बजगाईंको भनाइ छ । आफूहरुले अबलम्बन गरेको शैक्षिक अभ्यासको लामो अनुभवमा प्रिन्सिपल बजगाईंले स्कुलमा हजारौं विद्यार्थीहरुको आकर्षण हुनुमा गुणस्तरीय शैक्षिक क्रियाकलाप नै मुख्य भएको बताइन् । उनका अनुसार स्कुलको मुख्य आकर्षण भनेको शिक्षकहरु हुन् । अभिभावकहरुले शिक्षकहरुको गुणस्तरका आधारमा नै स्कुललाई रोज्ने गरेको उनी उनी बताउँछिन् । स्कुलमा लामो समयदेखि शिक्षकहरुको स्थायीत्व छ । शिक्षकहरुलाई समयानुकुल बनाउनको लागि आवश्यक तालिमको प्रवन्ध मिलाउने गरिन्छ । तर, पछिल्लो कोरोना महामारीदेखि यताको समयमा भने शिक्षकहरुलाई उपलब्ध गराउने तालिममा केही समस्या भएको प्रिन्सिपल बजगाईंको भनाइ छ । बालग्राममा रहेको राष्ट्रिय विभाग र ह्युमन रिसोर्स डेभलपमेन्ट सेन्टरले स्कुलको लागि आवश्यक नीति तथा गाइडलाइनको निर्माण गर्ने गर्छ । स्कुलमा शिक्षकहरुको स्थायीत्व सँगै उनीहरुको निरन्तर स्तरवृद्धि र सेवा सुविधाको लागि उनीहरुको आवश्यक अनुगमन गर्ने र निर्णय गर्ने काम पनि सोही विभागले गर्ने गर्छ । बच्चाहरुलाई अध्ययनको लागि खुला वातावरण पैदा गर्दा, कम निगरानी गर्दा उनीहरुले राम्रोसँग आफ्नो क्षमता विकास गर्ने गरेका आफूले अनुभव गरेको प्रिन्सिपल बजगाईंको भनाइ छ । ‘बच्चाहरुमाथि निक्कै कम निगरानी गर्छौं, ओप्पननेस छ, हाम्रा विद्यार्थीले चल्ने, खेल्ने बढी गर्छन्’, संगित, खेल, योगा, कला, निृत्य, स्काउट, आदी छ, विद्यार्थी निकै खुसी भएर स्कुल आउँछन् ।’ स्कुलले दिएको वातावरणका कारण झण्डै ९९ प्रतिशत विद्यार्थीहरुले स्कुल परिवर्तन गर्न नचाहेको प्रिन्सिपल बताउँछिन् । बच्चाहरुलाई नेतृत्व क्षमता र निर्णय क्षमता विकासलाई मध्यनजर राख्दै स्कुलले विद्यार्थीहरुको प्रत्येक कक्षामा क्लास रिप्रिन्जेटिभ भन्ने बनाउँछ । जसको पुरै स्कुल स्तरीय कार्यकारी संगठन पनि बनाएर विद्यार्थीहरुलाई विभिन्न क्रियाकलापमा परिचालन गर्ने गरिन्छ । त्यस्तै स्कुलको पुरै विद्यार्थीलाई चार भागमा बाँडेर स्कुलले ४ वटा हाउस बनाउने र त्यसमा एक जना क्याप्टेन र एकजना भाइस क्याप्टेन पनि बनाउने गर्छ, जसले स्कुलका अतिरिक्त क्रियाकलापहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । अभिभावकविहीनहरुको जीवन खोज्ने क्रममा खोलिएको एसओएस बालग्राम अन्तर्गत नेपालमा ७ वटा स्कुल सञ्चालनमा रहेका छन् । भक्तपुर ठिमीमा रहेको यस स्कुल अहिले ५० वर्षमा हिँडिरहेको छ । स्कुलको फराकिलो सुन्दर भुगोलमा अभिभावकविहीन बालबालिकाहरुको भविष्यसँगै हजारौं विद्यार्थीहरुको जीवन पनि फुलिरहेको छ । स्कुलले अख्तियार गरेको बालमैत्री स्वतन्त्र नीतिसँगैको गुणस्तरीय शिक्षाले अरु हजारौं विद्यार्थीहरुपनि स्कुलप्रति लालायित हुँदै गएको देखिन्छ ।
युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुँदै
काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट (एनपीआई) र युनिग्लोब स्कुल/कलेजसको संयुक्त आयोजनामा यही फेब्रुअरी १९ र २० तारिख अर्थात आइतबार र सोमबार ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ । कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौं योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ । समिटमा विशेष अतिथिहरुमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, नास्टका डा।महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो । ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । सोमबार साँझ साढे ४ बजे कार्यक्रमको समापन समारोह हुने कलेजले जनाएको छ ।