स्किल वीक चौथौं संस्करण सञ्चालन हुँदै
काठमाडौं । स्किल वीक चौथौं संस्करण यही मार्च १३ देखि १९ सम्म सञ्चालन हुने भएको छ । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक ग्लोकल आफ्टर स्कुल जनाएको छ । १६ देखि ३० वर्षका व्यक्तिले कार्यक्रममा निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्ने जनाइएको छ । ‘यो युवाका लागि एक खुला मञ्च हो । युवाले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवं सीपको महत्वका बारेमा जानकारी पाउनेछन्, स्किल वीकले युवालाई विभिन्न सीपका बारेमा अन्वेसन गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ,’ आयोजकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । कार्यक्रममा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधिका क्षेत्रमा प्रदर्शन समेत हुने जनाइएको छ ।
नेपालमै ‘खानी’ इञ्जिनियरको पढाई सुरु गर्दै काठमाडौं विश्वविद्यालय
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए। उनले भने, ‘देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका हौँ ।’ नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । ‘पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ’, उनले भने । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ । नेपालमा खानी इञ्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ । यस्तै केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो । केयूले दुईसाता अघिमात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महिनामाभित्र सुरङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
काठमाडौ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिए । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती वहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापतिपद पाउने सहमति भएको छ । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इञ्जीनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इञ्जीनियरिङ र हिमालयन इञ्जीनियरिङ पाउने सहमति भएको छ । अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका सङ्गठनले तालमेलअनुसार नै फिर्ता लिने बताए । सहमतिअनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ । आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ । रासस