चैत १२ गतेभित्र स्ववियु निर्वाचन सक्न उपकुलपति प्रा.डा. बास्कोटाको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । ‘स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्गठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ । उनले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएका छन् । हिजो चैत ५ गतेदेशभरि नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो । ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ । यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ । रासस

देशभरका १३ क्याम्पसमा रोकिए स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन । उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध रहेको छ । नेपाल कमर्श क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो । यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ । रासस

१४ वर्षपछि आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म २ आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।