कृषि तथा वन विज्ञान विश्वविद्यालयले चैत १६ गते दीक्षान्त समारोह गर्ने
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यही चैत १६ गते तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो । सो विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तिर्ण गरी ०७७ चैत ७ गतेदेखि ०७९ चैत ६ गते सम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु र सोही अवधिभित्र विद्यावारिधि उत्तिर्ण गरेका विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिन पाउने जनाएको छ । समारोहमा भाग लिनको लागि विद्यार्थीहरुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमार्फत अनलाइन आवेदन गर्नुपर्ने विश्विद्यालयको सूचनामा उल्लेख गरिएको छ ।
इम्पेरियल वर्ल्ड स्कुलले बनायाे ‘गणित पार्क’
सांकेतिक तस्विर काठमाडौं । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्रचार्यले पार्कको उद्घाटन गरिन् । पार्कमा विद्यार्थीहरुले गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न यो पार्कको भूमिका रहने अपेक्षा गरिएको छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै पार्कमा गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणितप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताइन् । उनले मन्त्रालयले हाल ‘स्टीम’ शिक्षाका सामग्री तयार पार्ने गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने बताइन् । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा पनि हुन आवश्यक रहेको बताइन् । अङ्ग्रेजी जानीनजानी बोल्ने गरिए पनि गणितको सिकाइ सोअनुसार नहुने भन्ने विषय महत्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टीम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् । रासस
‘खेतबारीमा विद्यार्थी’ अभियान : नाफाको ७५ प्रतिशत विद्यार्थीलाई, बाँकी विद्यालयले लिने
गलेश्वर । शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौं,’ शिक्षालयका प्रमुख कँडेलले भने, ‘हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौं ।’ कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ । बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनाका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए । यस शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । ‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं,’ शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।’ विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् । ‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन,’ तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौं ।’ विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ आइएसइएजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भनिन्, ‘सानैदेखि घरमा बुबाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे, सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा खुशी छु ।’ ‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर हामीले आफ्नै छात्रबास निर्माण गर्यौं,’ शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौं । छात्रबासमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन ।’ रासस