कक्षाकोठा अभावमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन् । ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौँ’, उनले भनिन्, ‘विद्यार्थीलाई पढ असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।’ दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्। आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ । पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन् । कूल ५० लाखको लागतमा भवन बनाइँदैछ ।
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जन लगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताए । उनले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताए । ‘विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ’, उनले भने, ‘यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।’ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्धर्वले घोषणापत्र तयारी गरिसकेको बताए । उनले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताए । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिए । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिए । उनले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताए । उनले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिए । यस्तै वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताए । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताए । उनले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताए । उनले त्रिवि सेवा आयोग प्रत्येक छ/छ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताए । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताए । त्यस्तै उनले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताए । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । रासस
सर्लाहीमा ५ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त
सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक र कर्मचारीको दरबन्दी खाली छ । जिल्लाका ४ सय ७८ सामुदायिक विद्यालयमा ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली भएको हो । जिल्लामा ४ सय ७८ सामुदायिक विद्यालय रहेकामा २ हजार ३ सय ८८ शिक्षक मात्र कार्यरत छन् । ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए । त्यस्तै विद्यालय सहायक परिचर ५ सय ७८, विद्यालय सहयोगी ८६ र निजी स्रोतका शिक्षक १ सय ८ दरबन्दीमा कार्यरत रहेको उनले बताए । सामुदायिक विद्यालयमा २ हजार ९ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन् । शिक्षक पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा अध्यापनमा सुधार हुन सकेको छैन । २० स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेकाले विद्यार्थी संख्या न्यून हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी संख्या धेरै रहे पनि शिक्षक अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन् भने केहीमा विद्यार्थी छैनन् । रासस